Trending
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला आइटिबी बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा यही फागुन २२ देखि २४ गतेसम्म आयोजित आइटिबी बर्लिनमा सहभागिता जनाएको हो । पर्यटन उद्योगसम्बन्धी आयोजना भएको उक्त प्रवर्धनात्मक मेला विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ट्राभल ट्रेड शोका रुपमा स्थापित कार्यक्रम हो । यस वर्ष सम्पन्न आइटिबी बर्लिनमा एक सय ७० देशबाट पाँच हजार पाँच सयभन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापारीलाई आमन्त्रण गरिएको थियो । आइटिबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा भब्य रुपमा गरेको थियो । ओमानलाई एक आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई भ्रमणका लागि आह्वान समेत गरेको थियो । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियनको उद्घाटन गर्दै देशको पर्यटन प्रवर्द्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेको जनाउँदै व्यवसायीलाई धन्यवाद पनि दिए । पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले आइटिबी बर्लिनमा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहभागी सबै नेपाली पर्यटन व्यवसायीलाई सक्रिय सहभागिता लागि धन्यवाद व्यक्त गरे । मेलाको माध्यमबाट नेपालको छवि उच्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रवर्द्धनका लागि पाटा नेपालले भूमिका निर्वाह गर्न सकीने पनि बताए । मेला प्रत्येक बर्ष आयोजना गरीने छ ।