कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित रत्नपार्कको परिचय अहिले फेरिएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाख रुपैयाँको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको हो । अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययरत विवेक अधिकारी रत्नापार्कभित्र घुम्न र तस्बिर खिच्न आएको बताउँछन् । ‘विद्यार्थी कार्ड देखाएपछि २० मा पार्कभित्र छिर्न पाइन्छ, यहाँ आएपछि बाहिर निस्कन मन नै लाग्दैन’, उनी भन्छन् ।

यस्तै बागबजारमा बस्ने ६७ वर्षीय सुकदेव श्रेष्ठ पनि घाम ताप्नका लागि पार्कभित्र आएको बताउँछन् । ‘घरमा कति बस्ने, पार्कभित्र बस्ने ठाउँ पनि छ, घाम ताप्न पनि पाइयो, रुखबिरुवाको स्वच्छ हावा पनि खान पाइन्छ, त्यसैले फुर्सद भएको बेलामा रत्नापार्क आउने गरेको छु’, उनी भन्छन् ।

यस्तै असनका सानुकाजी ताम्राकार पनि घाम ताप्न र दिन काट्नका लागि रत्नापार्कभित्र आएको बताउँछन् । माथिका केही प्रतिनिधिमूलक पात्रमात्र हुन् दैनिक हजारौँ व्यक्ति रत्नापार्कभित्र घुम्न र आनन्द लिनका लागि छिर्ने गर्छन् ।

काठमाडौं महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नापार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । काठमाडौं महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।

महानगरपालिकाले रत्नापार्कबाट हाल वार्षिक झण्डै एक करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क)का प्रमुख उमेश भण्डारी रत्नपार्कबाट चालु आवको फागुन १४ सम्म ५७ लाख ९१ हजार सात सय ६० शुल्क आम्दानी गरेको बताउँछन् ।

रत्नापार्कभित्र प्रवेश गर्नका लागि विद्यार्थीले २०, सर्वसाधारणले ३० रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले एक सय, विदेशी पर्यटक जाँदा एक सय रुपैयाँ, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा पाँच हजार रुपैयाँ, विवाह फोटो सुटका लागि पाँच सय रुपैयाँ, व्यावसायिकरूपमा फोटो खिच्नेले एक हजार पाँच सय रुपैयाँ र सांस्कृतिक पोशाक झल्काउन जानेले एक सय रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था रहेको छ ।

चालु आवको साउनदेखि पुस मसान्तसम्म रत्नापार्कमा ४२ हजार छ सय ४२ विद्यार्थी, एक लाख २१ हजार तीन सय नौ सर्वसाधारण, तीन सय ३३ विदेशी पर्यटक, नौ म्युजिक भिडियो सुटिङ, तीन सय ८७ व्यावसायिक क्यामेरा, चार विवाह फोटो सुट र तीन सांस्कृतिक पोशाक झल्काउने व्यक्ति रत्नापार्कभित्र प्रवेश गरेका छन् ।

शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क) का अनुसार साउन महिनामा ३० हजार एक सय ४६, भदौमा २७ हजार एक सय ४३, असोजमा २२ हजार दुई सय २९, कात्तिकमा १६ हजार दुई सय ४५, मङ्सिरमा १९ हजार आठ सय ५०, पुसमा २४ हजार एक सय ८९, माघमा २६ हजार १५ र फागुन १४ गतेसम्म १६ हजार एक सय ४१ जना प्रवेश गरेका छन् ।

रत्नापार्कको सुरक्षाका लागि खटिएकी नगर प्रहरी नायब निरीक्षक ज्योति पोखरेल रत्नापार्कभित्र दैनिक आठदेखि एक हजार दुई सय व्यक्ति घुम्न आउने गरेको बताउँछिन् । ‘सार्वजनिक बिदाको दिनमा दैनिक तीनदेखि चार हजारसम्म रत्नापार्क घुम्न आउनुहुन्छ’, पोखरेल भन्छन् ।

रत्नापार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेको उनको भनाइ छ । रत्नापार्कभित्र बस्नका लागि सेट बक्स र कुर्चीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शङ्खधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क) ले जनाएको छ । रासस

बुधबार, १६ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा