ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको बाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका-४ साँवामा रहेको बाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचार प्रसारको पर्खाइमा छ ।

धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने बाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब पाँच रोपनी बराबरको क्षेत्रफलमा फैलिएको छ । मानव बस्तीभन्दा केही टाढा हरियाली वनको बिचमा एकान्त वातावरण रहेकाले पोखरीको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने स्थानीय बताउँछन् ।

निकै सुन्दर र आकर्षक देखिने बाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ । पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजनासँगै आवश्यक संरक्षण र प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । पोखरीको प्रवर्द्धन र प्रचारप्रसार गर्नसकेमा पर्यटकको धेरै उपस्थितिको सम्भावना रहेको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले बताए ।

थापाका अनुसार मिक्वाखोला-४ साँवामा स्थापित पर्यटकीय गन्तव्य फुङ्फुङगे झरना, वडा-५ पापुङको तोक्पेगोला लोदेन क्षेत्रसँगै बाग्मा पोखरीलाई पनि पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । गाउँपालिकाका अध्यक्ष कार्कीले पर्यटकीय शृङ्खलाअन्तर्गत तोक्पेगोला लोदेन क्षेत्र, फुङ्फुङगे झरना र बाग्मा पोखरीलाई जोड्न सकिने भए पनि विकास र प्रवर्द्धन हुन नसकेको बताए। गाउँपालिकाले आफ्नो नीति कार्यक्रममार्फत यस पोखरीलाई समावेश गरी मिक्वाखोलालाई पर्यटकीय हबका रूपमा विकास गर्नेगरी योजना बनाइरहेको उनले बताए ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धनका योजना बनाइरहँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या रहेको उनको भनाइ थियो । बाग्मा पोखरीसहितका पर्यटकीयस्थलको विकासका लागि सङ्घ र प्रदेश सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आइएको स्वकीय सचिव थापाले जानकारी दिए । उनका अनुसार पोखरी पुग्ने पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सडक पुराउनुपर्ने र अन्य संरचना तथा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएको छ ।

आवश्यक संरक्षण, प्रचारप्रसारसँगै पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नका लागि पूर्वाधारको अभाव हुँदा प्रशस्त सम्भावना भएर पनि ओझेल परेको थापाले बताए । उनका अनुसार पालिकाले यस विषयमा आवश्यक पहल र समन्वय गरिरहे पनि सोचेअनुसार प्रगति नभएको बताए । जिल्लाको एक पर्यटकीयस्थलका रूपमा रहेको बाग्मा पोखरी पुग्नलाई सदरमुकाम फुङ्लिङदेखि दोभान सान्थाक्रा तथा खोक्लिङ लिवाङ हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ र थलङ, साँवा सिरान हुँदै जान सकिन्छ । त्यस्तै फुङ्लिङदेखि फक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम सिँवा बजार, खेजेनिम, सिबुक हुँदै पनि बाग्मा पोखरी पुगिन्छ । रासस

बुधबार, ९ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा