मेचीनगर नगरपालिका– १३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ ।

प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा पर्यटकीय क्षेत्र निर्माण भएको हो । यसमध्ये २० बिघाभन्दा बढी क्षेत्रफलमा ताल रहेको छ ।

पर्यटकको मनोरञ्जनका लागि तालमा छवटा डुङ्गा सञ्चालन गरिएको छ । यस क्षेत्रमा आउने अधिकांश पर्यटकले डुङ्गा शयर गर्ने हुँदा सामुदायिक वनको आम्दानीको स्रोत बढेको वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए । वरिपरि सालको जङ्गल भएको हुँदा तालको वातावरण प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ ।

यहाँ वनभोजसहित अवलोकन गर्ने आन्तरिक र विदेशी पर्यटक बढ्ने क्रम छ । यस वर्षको माघ महिनामा ५२ हजार आन्तरिक र विदेशी पर्यटकको आगमन भएको समितिले जनाएको छ ।

यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुरूप विभिन्न संरचना निर्माण गरिएको उनले बताए आन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि साना पसल र खाजाघरहरूको सङ्ख्या पनि बढेको छ । जसबाट स्थानीयको जीविकाका मद्दत पुगेको छ ।

पर्यटकलाई मनोरञ्जनका साथै तालबाट थप आम्दानी आन्तरिक आम्दानी बढाउने उद्देश्यले तालमा यस वर्ष एक लाख माछाको भुरा छाडिएको उनले जानकारी दिए । तालमा पालेको माछा आफैँ बल्छीले मारेर खरिद गर्न सक्ने र त्यहीँ पकाएर खान सक्ने सुविधासमेत पर्यटकलाई उपलब्ध गराइएको हुँदा यस योजनामा समेत पर्यटकको आकर्षण बढेको छ ।

शनिबार र बिदाका दिन यहाँ पर्यटक खचाखच हुन्छन् । पूर्वपश्चिम राजमार्गको चारआली चोकबाट तीन किलोमिटर दक्षिणमा रहेको यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन र थप पूर्वाधार निर्माणमा लगानी भइरहेको समितिले जनाएको छ ।

यहाँको ताल छेउको खुला ठाउँमा पर्यटकलाई बस्नका लागि छवटा गोलघर निर्माण गरिएको छ । पछिल्लो समय पर्यटकको आगमन ह्वात्तै बढेसँगै वन समितिले २० वटा गोलघर थप्ने योजना बनाएको अध्यक्ष सिग्देलले बताए ।

स्थानीय तह र वन समूहको करिब दुई करोड ५० लाख बजेट यस पर्यटकीयस्थलको निर्माण, व्यवस्थापन र पूर्वाधार निर्माणमा लगानी भइसकेको छ ।

सिमसारलाई उत्खनन गरेर तालको क्षेत्रफल बढाइएको छ भने यहाँ सडक, विद्युत्, पिउने पानीलगायतको सुविधा पुर्याइएको छ । ताल क्षेत्रमा पर्यटकलाई मनोरञ्जनका लागि दुईवटा आकर्षक पुल निर्माण गरिएको छ । आकर्षण प्रवेशद्वारसहित २० फिटे अग्लो सुरक्षित पोस्ट, तारजालीको घेराबेरा र सुन्दर बगैँचा निर्माण गरिएको छ ।मेचीनगर– १३ वडा कार्यालयले पटकपटक गरेर २७ लाख र मेचीनगर नगरपालिकाले फलामे पुल निर्माणका लागि १५ लाख बजेट विनियोजन गरेको छ भने अन्य लगानी सामुदायिक वनको आन्तरिक स्रोतबाट जुटाइएको बताइएको छ ।

कोशी प्रदेश सरकारबाट पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्न प्राप्त २५ लाख र जलाधार संरक्षणका लागि वन मन्त्रालयबाट २५ लाख बजेट विनियोजन भएको समेत समितिले जनाएको छ ।

पर्यटकका लागि यस क्षेत्रमा ढिकी, जाँतो, ठेकीलगायत लोपोन्मुख वस्तुहरूको संरक्षण गरेर सङ्ग्रहालय राख्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ निर्माण गर्ने, स्थानीय संस्कृति झल्किने गरी विभिन्न समुदायका मठमन्दिर, गुम्बा एव धार्मिक संरचनाको निर्माण गर्ने समितिको भावी योजना रहेका अध्यक्ष सिग्देलले बताए ।

मङ्लबार, १ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा