पटक–पटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन अनुसन्धान मात्रै गरेर फर्किएको थियो ।

भूगर्भविद्ले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी) का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको थियो । कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको थियो । फलामखानीमा दुई किमी लम्बाइमा खानी फैलिएको छ । पटक पटक फलाम खानीको उत्खननको मागगर्दा कतैबाट तदारुकता नदेखाएपछि स्थानीय निराश भएका हुन् ।

कहिले केन्द्र सरकार त कहिले प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुने समस्या भएको स्थानीय युवा जीवनविक्रम उच्चैले बताए । धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता पनि भएको थियो ।
उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको महाशिला वडा नं ६ का वडाध्यक्ष गोविन्दबहादुर विकले बताए । उक्त फलाम खानी सदरमुकाम कुश्मा बजारबाट ४० किमी टाढा छ । महाशिलाको वडा नं ५ लुङ्खुदेउराली र वडा नं ६ फलाम खानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयले माग गर्दै आएका छन् ।

पछिल्लो समय गाउँपालिकाले खानी सञ्चालनका लागि चासो देखाएको छ । आजभन्दा ७३ वर्ष पहिला स्थानीयले उत्खनन गरेको फलामका सामग्री विसं २०४० सम्म पनि किन्न र देख्न पाइएको स्थानीय बताउँछन् । यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको पाका पुस्ताको भनाइ छ । खानीबाट निकालेको फलाम सिधै तताएर आवश्यक सामग्री बनाउन सकिने भए पनि पछि कोइलाको अभावमा उत्खनन गर्न छाडेको स्थानीय प्रेमबहादुर सुनारले जानकारी दिए ।

उतिबेला यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँमा बिक्री हुन्थे । आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलामा निर्माण भएका पुलमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो । मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ । यहीँको फलाम निकालेर बिक्री गरेर अहिलेभन्दा पाँच दशकअघिसम्म फलाम खानीका करिब चार सय परिवारको रोजीरोटी चलेको थियो । गाउँभरि फलामको खानी भएकैले यो गाउँको नामै फलाम खानी राखिएको वडाध्यक्ष विकले बताए ।

फलाम खानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना पहिले फलामको खानीमै बास बस्ने गरेको वडाध्यक्ष विकको भनाइ छ । यहाँको फलामखानी उत्खनन हुने हो भने मुलुककै आर्थिक अवस्था सुधारमा फाइदा पुग्नुका साथै सयौँ युवायुवतीले रोजगारीको अवसर पाउने उनी बताउँछन् । घरदैलोमा भएको फलामको खानी उत्खनन गर्न नसकेर आयातीत फलाम प्रयोग गर्नुुपरेको स्थानीय बलबहादुर क्षेत्रीले बताए । तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० मा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयास गरेको भए पनि सम्भव नभएको उनको भनाइ छ ।

सोमवार, १५ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !