छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ । अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ । गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन् । केही समथर त केही भिरलो भू–भागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन् । कृषि र पशुपालनमा आश्रित यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन् ।

बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँ निसीखोला गाउँपालिका–५ मा पर्छ । एक दशक अगाडिसम्म सेवा सुविधाको हिसाबले निकै दुर्गम मानिने यो गाउँ अहिले सुगम बनेको छ । मगर खाम भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ । वर्षौंदेखि दुर्गमको पीडा भोगेको निसी क्षेत्रको अहिले भने मुहार फेरिएको छ । विसं २०६४ मा निसी गाउँ मध्यपहाडी लोकमार्गले जोडिए पनि २०६६ सालदेखि गाडी गुड्न थालेका थिए । त्यसभन्दा अगाडि निसीमा कुनै पनि सुविधा थिएन । सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो । बुर्तिबाङ आइपुग्न पनि एक दिन पूरै लाग्ने गथ्र्यो । अहिले बुर्तिबाङ आउन गाडीमा ४५ मिनेट लाग्छ ।

सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो । २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ । पहिले साना झुपडी रहेका ठाउँमा अहिले ठूला–ठूला पक्की घर भवनहरु बन्न थालेका छन्भने मौलिक घरहरु विस्थापित हुँदैछन् । गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ । दैनिक उपभोग्य सामान ल्याउनका लागि कैयौँ दिन लगाएर बुटवल पुगेकालाई अहिले घरै छेउका पसलमा पाउन थालेपछि दङ्ग छन् । स्थानीय ९० वर्षीया पूरा सुनारले २२ दिन लगाएर बुटवल, देउखुरी र तानसेनबाट नुन, चामल लिएर उपभोग गरेको स्मरण गर्दै अहिले गाउँमै यति धेरै सुविधा आउँछ भनेर कल्पना समेत नगरेको बताउँछिन् । पहिलो पटक तानसेनमा गाडी देखेको सुनाउने सुनारले अचल दैनिक घरै गाडी दजनौँ गाडी खुड्दा खुशी लागेको बताउँछिन् ।

‘अहिले घरहरुले निसी भरिन थाल्यो, पहिले घर थोरै थिए, बिरामी हुँदा अस्पताल थिएन, ओखतीमुलो गर्नका लागि धामी झाँक्रीबाहेक केही थिएन, धामीझाँक्रीले बचाए बचाउँथ्यो नत्र मर्ने हो, अहिले त घर नजिकै बिरामी भएपछि उपचार पाइन्छ । उतिबेला जुत्ता चप्पल हुँदैनथ्यो, खाली खुट्टा हिँड्थ्यौँ, पीठो बेलुकी पाँच मुठी खान्थ्यो, बिहान पाँच मुठी खान्थ्यौँ’, सुनारले सुनाइन् । उनी भन्छिन्, ‘यहाँ गाडी आउला भन्ने, यस्तो परिवर्तन आउला भन्ने लागेको थिएन, २० वर्षको उमेरमा पहिलो पटक गाडी देखेको थिएँ, हाम्रो पालामा गाउँमै यति ठूलो परिवर्तन होला, सुविस्ता (सुविधा) होला भन्ने सोचेको थिएन ।’

शिक्षा, स्वास्थ्य र अन्य विकासका हिसाबले पनि अहिले निसी गाउँ जोडिरहेको छ । गाउँमै माध्यमिक तहको पढाइ हुन्छ । चार वर्षदेखि यहाँस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पशु विज्ञानको पनि पढाइ हुन थालेको छ । स्वास्थ्यका लागि गाउँपालिकाले गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छभने जटिल किसिमको उपचारका लागि बुर्तिबाङ आउनुपर्ने अवस्था छ । सडकको सहज पहुच हुँदा बुर्तिबाङ आउनका लागि समस्या छैन । शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारले निकै पछाडि रहेको यो गाउँ लोकमार्गले जोडिएपछि थुप्रै सम्भावनाका ढोकाहरु खुलेका छन् । लोकमार्गका छेउछाउँमा अहिले थुप्रै घर भवन धमाधन निर्माण हुँदैछन् भने गाउँको स्वरुप बजारमा परिणत हुँदैछ ।

पहिले अन्धकारमय रहेको गाउँमा अहिले स्थानीय लघु जलविद्युतमार्फत उज्यालो बनेको छ । कतिपय घरघरमा धारा बनेका छन् पनि कतिपय ठाउँमा बन्ने चरणमा छन् । पहिले दुर्गम हुँदा सरकारी निकायका कर्मचारी यहाँ आउन मान्दैनथे तर अहिले जिल्ला सदरमुकामसँग सिधा यातायात सञ्चालन हुने हुँदा धेरैको रोजाइमा निसी पर्न थालेको छ । सयौँको संख्यामा भेडाबाख्रा तथा अन्य वस्तुभाउ पालेरै जीविकोपार्जन गर्दै आएकामा अहिले धेरैले व्यापार–व्यवसाय गर्न थालेको स्थानीय कर्णसिंह घर्ती मगरले बताए । समयसँगै गाउँको रुप, समाज र स्थानीयको व्यवहारमा ठूलो परिर्वतन आएको उनको भनाइ छ । घर्ती मगरले पछिल्लो समय बजार झर्ने र विदेश पलायन हुनेको संख्या पनि बढ्न थालेको बताउँछन् ।

‘हाम्रो पालामा मोटरगाडी देख्न बटौली पुग्नु पथ्र्यो, बाउबाजे विदेश गएनन्, गाउँमै भेडाबाख्रा पाल्ने, खेतबारीमा काम गर्ने गर्थे, हामीहरु पनि लेकबेँसी गरेर उनीहरुले गरेकै काम ग¥यौँ, तर अहिलेका युवा हामीहरुले गरेको काम गर्न मान्दैनन्, यो गाउँमा पहिला खरका घरहरु थिए, पछि ढुङ्गा माटोले बनाउन थाले, अहिले त कंक्रिटका घर बनेका छन्’, घर्ती मगरले भने, ‘पहिले सहर बजार हेर्न टाढा पुग्नु पथ्र्यो, अहिले हाम्रै गाउँ बजार बन्न थाल्यो, उति बेला तानसेन, खसौलीमा पाइने नुन तेल अहिले यही पाइन्छ, सुविधाको हिसाबले धेरै आयो ।’

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय २० किलोमिटर पश्चिममा रहेको निसी गाउँबाट प्रशासनिक कामका लागि हप्ता दिन लगाएर प्रशासनमा आउनुपर्ने बाध्यता थियो । इलाका प्रशासन, नापी र मालपोत कार्यालय बुर्तिबाङमा स्थापना भएपछि निसीबाट प्रशासनिक कामका लागि बागलुङ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीय ६२ वर्षीय भुलबहादुर विकले आफूहरु सरकारी कागजात बनाउन पाँच दिन लगाएर जिल्ला सदरमुकाम पुगेको अनुभव सुनाए । त्यसबेला सामान्य सरकारी कामले सदरमुकाम आउँदाजाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको भन्दै अहिले बिहान उठेर हिँडियो भने चार घण्टामै बागलुङबजार पुग्न सकिने उनी बताउँछन् । सडकले गर्दा बजारको सेवा गाउँमा आएको र गाउँलेको जनजीवनमा ठूलो परिवर्तन आएको विकको भनाइ छ । चार वर्षअगाडि सडक कालोपत्र नहुँदा केही समस्या भए पनि अहिले धेरै सहज भएको उनले बताए ।

शुक्रबार, १२ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !