मुलुकको सङ्घीय राजधानीको सबैभन्दा नजिक रहेको बालाजुको बाइसधारा पछिल्लो समय पिकनिक र घुमघामका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित उत्तर–पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा पछिल्लो समय पिकनिक र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ ।

बालाजु बाइसधारा घुम्नका लागि अहिले दैनिक सयौँ व्यक्ति यहाँ पुग्ने गरेका छन् । बालाजु पार्कसँगै जङ्गलसमेत भएकाले रमणीय वतावरणमा समय बिताउन चाहनेको रोजाइमा यो पार्क पर्न थालेको स्थानीय बताउँछन् । बालाजुस्थित बाइसधारा ऐतिहासिक महत्वको पर्यटकीयस्थल पनि हो । यो बिहान ८ देखि साँझ ६ बजेसम्म खुल्ने गरेको छ ।

उक्त पार्क हाल काठमाडौँ महानगरपालिकाको वातावरण विभागअन्तर्गतको बालाजु बाइसधारा उद्यान कार्यालयले रेखदेख गर्दैै आएको छ । कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले विशेष पर्व र बिदाको दिन यहाँ घुम्न आउने व्यक्तिको सङ्ख्या अत्यधिक हुने गरेको बताए। “अव्यवस्थित सहरीकरणका कारण स्वच्छ, सफा र खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले राजधानीवासीको मन जित्न सफल भएको छ,” उनले भने ।

दैनिक पाँच सयदेखि सात सय व्यक्ति र पर्व तथा बिदाको दिनमा तीन हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका बस्नेतले जानकारी दिए उनका अनुसार यहाँ रहेका २२ धारामा भने अहिले पानी आउँदैन ।

जाडोको समयमा बालाजु वरपरका मानिस उद्यानमा घाम ताप्नसमेत जाने गरेका छन् । काठमाडौँ वनस्थलीबाट उद्यान घुम्न आएकी रेशु श्रेष्ठले स्वच्छ, सफा वातावरण खोज्दै यहाँ आएको भन्दै यहाँ आएपछि मन आनन्दित भएको बताउँछिन्। “यहाँको बगैँचा, हरियाली र नीलकाँडा तथा थरीथरी फूलको सुगन्धले सारा दुःख नै भुलाउँछ”, उनले भनिन् ।

बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करिब एक सय ६२ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल हो ।

विसं २०१८ जेठ २७ गते शिलान्यास भई विसं २०२१ साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइसधारा उद्यानका नामले परिचित छ । राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ ।

राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सो क्षेत्र जताततै पानीले जलमग्न भएकाले पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा २१ ढुङ्गेधारा निर्माण गरिएको किंवदन्ती छ । त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले २१ धाराका बीचमा एउटा अरू ठूलो धारा थपी बाइस धारा पु¥याएको इतिहास छ ।

आदिकवि भानुभक्त आचार्य तनहुँदेखि काठमाडौँ आउने क्रममा बालाजु देखेपछि रमाएर कविता लेखेका थिए । भानुभक्तले बालाजु बाइसधाराको बारेमा कविता लेखेकै कारण विसं २०५१ मा भानुजयन्तीको अवसर पारेर यहाँ आदिकवि आचार्यको सालिक स्थापना गरियो । बालाजु बाइसधारा आन्तरिक तथा बाह्य पर्यटकको घुम्नेमात्र ठाउँ नभएर साहित्यकर्मीका लागि पनि त्यत्तिकै महत्वपूर्ण तीर्थस्थल हो ।

धार्मिक उद्देश्यले पनि बालाजु उद्यान त्यत्तिकै महत्वपूर्ण छ । यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचुडेश्वर महादेवको दर्शन गर्न दैनिक सयौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ । सो अवसरमा बाइसधारामा मेला लाग्ने गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक लाख ८३ हजार तीन सय १२ जनाले बालाजु बाइसधाराको भ्रमण गरेका उद्यान कार्यालयले जनाएको छ । उद्यानभित्र वनभोज, विवाह तथा व्रतबन्धका लागि पनि मानिस आउने गरेका छन् ।

उद्यानमा प्रवेश शुल्क नेपालीका लागि रू ३०, नेपाली विद्यार्थीका लागि रू २०, विदेशीका लागि रू एक सय, मोटरसाइकल पार्किङका लागि रू ३०, ठूला सवारी साधन पार्किङ शुल्क रू ६० र पाँच जनाभन्दा बढी ड्राइफुड जमघटका लागि रू तीन सय लिँदै आइएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए। उनका अनुसार व्यक्तिगत क्यामरा रू एक सय, व्यावसायिक फोटो रू एक हजार पाँच सय र विवाह फोटो सुट रू पाँच सय, म्युजिक भिडियो सुटिङ रू १० हजार लिने गरिएको छ ।

सातवटा पिकनिक ‘स्पट’का लागि रू एक हजार पाँच सयदेखि पाँच हजारसम्म शुल्क लिइँदै आएको कार्यालयले जनाएको छ । बालाजु बाइसधारा उद्यान कार्यालयले चालु आवको छ महिनामा रू ६० लाख १४ हजार दुई सय ८० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।

उद्यान प्रवेशमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ । लामो इतिहास बोकेको यस पार्कमा दैनिक सयौँ र पर्व तथा बिदाको समयमा हजारौँ व्यक्ति घुम्न आउने भए पनि यहाँको पूर्वाधार भने व्यवस्थित हुन सकेको देखिँदैन । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यथेष्ट मात्रामा सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको बताउँछन् ।

शुक्रबार, १२ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा