हिमालय क्षेत्रमा हिउँ नपर्दा हिमालहरू काला हुँनुका साथै किसानहरूलाई खेती किसानीमा समेत समस्य भएको छ। हिउदेयाममा पानी, हिमपात नपर्दा कर्णालीमा समस्य भएको हो। कर्णालीका हिमालहरू यस क्षेत्रका नदी नाला तथा हिमपातहरूको पानीको मुख्य स्रोत हो।

आकाशे पानीको भरमा लगाएका अधिकांश खेतीहरू पानी नपर्दा पानी नपाएर सुक्न थालेको किसानहरूले बताएका छन्। डोल्पा , हुम्ला , मुगु लगाएतका क्षेत्रमा हिमपात नहुँदा त्यस क्षेत्रका हिमालहरू काला देखिन थालेको सरोकारवालाले बताएका छन्।

डोल्पामा हिमपात नहुँदा समस्य उत्पन्न भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले जानकारी दिए। हिमपात नहुँदा हिमालमा वर्षमा एक पटक मात्र हुने खेती देखि पशु चौपायलाई चरिचरण क्षेत्रमा समेत असर पुग्ने अवस्था देखिएको उनले बताए।

‘सबै हिमालहरू काला भइसकेका छन्’, उनले भने,‘हिउँद लागेदेखि अहिले सम्म वर्षा नै भएको छैन। वर्षासँगै हिमपात भएमा मात्र उपल्लो डोल्पामा उत्पादन तथा पशुचौपायलाई चरिचरण क्षेत्रमा राम्रो हुन्छ।’ हुम्ला पनि हिमपात नभएपछि किसान चिन्तित भएका छन्। हिमपात नहुँदा रोग व्याधि फैलने र खेतमा लगाएको जेठासी बाली (जौ, उवा र गहुँ) नउम्रे पछि किसान चिन्तित भएका हुन्।

सिमकोट गाउँपालिका–५ की किसान प्रेमी बुढाले पहिलो पटक पुस महिनामा हिउँ नपरेको बताइन्। उनले यो राम्रो संकेत नभएको जिकिर गर्दै हिमपात भएर जताततै सेताम्मे देखिने बेला सुख्खा खडेरी लागेर धुलै धुलो उड्नु कुनै अनिष्टको संकेत हुन सक्ने बुझाई छ।

कुनै दिन पुस महिनामा घरको छतमा चार पाँच फिट हिउँ जम्ने गरेको विगत सम्झदै बुढाले अहिले त्यो सपना जस्तो लाग्न थालेको भन्दै किसानका लागि पुसमा परेको हिउँ राम्रो हुने समेत जानकारी दिइन्। सिमकोट गाउँपालिका–४ का रत्नसिंह बोहराले हिमपात नभएका कारण फलफूलका बिरुवा लगाउन समस्या देखिएको बताए।

स्याउ र ओखरका बिरुवा लगाउनका लागि किसानहरूले खाल्डा खनेको भए पनि हिउँ नपर्दा समस्या देखिएको जानकारी दिए। हिउँले सेताम्मे हुनु पर्ने डाँडाकाँडा काला र धुलाम्मे देखिन थालेपछि हिउँद लागेको आभास समेत नभएको उनले बताए। हिउदे वर्षासँगै हिमपात नहुँदा पानीका मुहान समेत सुक्न थालेपछि खानेपानीको समस्या देखिन थालेको जानकारी दिए।

पुस महिनामा परेको हिउँ सिला र माघ महिनामा परेको हिउँ बिला भन्ने स्थानीय उखान सम्झँदै यसवर्ष गुच्ची च्याउ पनि राम्रो उत्पादन नहुने बताए। १० वर्ष अगाडि पुस महिनामा चार फिट हिउँ परेर घरको गोठबाट पशु बस्तु निकाल्न नसकिएको सुनाउँदै उनले यस पटक भने पुस महिनामा हिउँ नै नपरेको अचम्म लागेको बताए।

स्वास्थ्य सेवा कार्यालयका वरिष्ठ अनमी सरिता बोहराले हिमपात नभएका कारण रुघाखोकी, निमोनिया र ज्वरोका बिरामी बढेको बताइन्। हालसम्म हिउँ नपरेका कारण जताततै धुँवा र धुलो देखिने गरेकाले रोगब्याधी बढी रहेको उनको बुझाई छ। मौसमी फ्युलका बिरामीहरू जिल्लाभर वृद्धि भइरहेको समेत उनले बताइन। कृषि प्राविधिक नेत्रबहादुर शाहीले हिउँदमा हिउँ नपर्नु भनेको जलवायु परिवर्तनको असर भएको भन्दै हिमालमा फागुनबाट हिमपात हुन सक्ने बताए।

त्यस्तै मुगुमा वर्षको हिउँदे याममा हिमपात र वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सुक्न थालेका छन्। हिमपात र वर्षा नहुँदा जिल्लाको बेसीदेखि लेक क्षेत्रसम्म गरिएको हिउँदे बाली खेतबारीमै सुक्न थालेको हो।

जिल्लाका चार पालिका छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका त्यसैगरी मुगमकार्मारोङ गाउँपालिकाका किसान आकाशेपानीको भरमा सिँचाइ गर्नुपर्ने भएकाले सिँचाइको अभावले गहुँ, जौँ तरकारी लगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको छायाँनाथ रारा नगरपालिका–२ का स्थानीय मानबहादुर हितानले बताए।

कात्तिके बालीको फूल लाग्ने बेलामा भएको भारी वर्षाका कारण कोदो, सिमी, आलु उत्पादन घटेको अवस्थामा हिउँदेबालीको आकाशेपानीको भरमा सिँचाइ हुन नपाउँदा खेतमै सुक्न थालेपछि कृषक समस्यामा स्थानीय कृषक गोर्खबहादुर बुढाले बताए। बुढाका अनुसार खेतमा लगाएका गहुँ, जौसँगै तरकारी खेतीमा सिँचाइ नहुँदा सुक्न थालेका छन्।

सिँचाइको अभावले र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकका लागि समयमै वर्षा र हिमपातको महत्व रहेको उनको भनाइ छ। यता कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले जिल्लाका अधिकांश जमिन आकाशेपानीको भरमा सिँचाइ गर्नुपर्ने बाध्यता भएकाले समयमै वर्षा र हिमपात नहुँदा उत्पादनमा ह्रास आउने अनुमान लगाए।

कार्यालयको तथ्यांक अनुसार एक हजार ७८५ हेक्टर जमिनमा गहुँ ४३ हजार ७ सय ४८.५ मेट्रिक टन उत्पादन हुन्छ। जौ ५५ हेक्टर जमिनमा ६६ मेट्रिक टन उत्पादन भइरहेकोमा यस वर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने सम्भावना देखिन्छ’ कार्यालय प्रमुखले बताए। शाहीका अनुसार मुगुमा २० प्रतिशत सिञ्चित जमिन छ भने ८० प्रतिशत असिञ्चित जमिन छ।

त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ६० प्रतिशत घट्ने र तल्लो भागमा ४० प्रतिशत घट्ने आङ्कलन गर्न सकिन्छ। समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति गर्ने भएकाले पनि जिल्लामा खेतीपाती गरी खाने किसान हिमपातको प्रतीक्षामा छन्।

हिमपात नभएपछि मुगुका डाँडापाखाहरू कालापत्थर जस्तै देखिन थालेको स्थानीयको भनाइ छ। यतिबेला मुगुका हिमशृखंला, डाँडापाखा रारातालको मिलीछौर हिउँले सेताम्मे ढाकिनुपर्ने हिमपात नहुँदा कालापत्थर जस्तै नाङ्गिन थालेका छन्। पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यस वर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएको छ।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा पारेको स्थानीयवासीको भनाइ छ। जाजरकोट , रुकुम पश्चिम , दैलेख , कालिकोट , जुम्ला लगाएतका क्षेत्रमा पनि पानी नपर्दा समस्य भएको छ। पानी नपर्दा प्रदुषण समेत भारी मात्रामा बढेको पाइएको छ।

सोमवार, ८ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा