केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरकारुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् ।

धरानवासीको फूल र बिरुवाप्रतिको लगावका कारण कसैले यसलाई बगैँचाको सहर पनि भन्ने गरेका छन् । धरानमा घरसँगै अलिकति खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलनै छ । अहिले त सडकको छेउछाउ र खोलाको किनारमा पनि फूल रोप्ने अभियान नै सञ्चालन भइरहेको छ । धरानका नगर प्रमुख हर्कराज राईले सञ्चालन गरेको श्रमदान अभियानमार्फत सर्दु खोलाको बगर र डाँडाकाँडामा हजारौँ बोटबिरुवा रोपिएका छन् ।

धरानमा त्यस्ता घर छैनन्, जहाँ कुनै फूल वा बिरुवा नहोस् । यहाँका सुकुम्बासी वस्तीदेखि लाहुरे बस्तीसम्म फूलैफूल भेटिन्छन् । फरक यति हो, आफ्नो क्षमताअनुसार कसैले दुई चारबोट रोपेका छन्, त कसैले बगैँचा नै बनाएका छन् । कतिपय त फूललाई सौखका रुपमा रोप्दारोप्दै व्यवसायी बनेर राम्रो आम्दानी पनि गरिरहेका छन् ।

सामाजिक अभियन्ताका रुपमा परिचित धरान उपमहानगरपालिका–११ की शिवमाया बान्तवाको घर फूल र बोट बिरुवाले ढाकिएको छ । कतै बगानबेली, कतै लालुपाते त कतै विभिन्न रङ्गीचङ्गी फूल रोप्नुभएकी शिवमायाले घरभित्र पनि उसैगरी इन्डोर प्लान्टले सजाएका छन् । सौखले फूल र बिरुवा रोप्न थाल्नुभएको उहाँ ती फूलहरुलाई आफ्नै सन्तान झैँ स्याहार्नु हुन्छ ।

शिवमायाले फूल र बिरुवालाई यति धेरै माया गर्नुको बेग्लै कथा छ । १७ वर्ष काम गरेको गोरखा सहकारीको जागिर चटक्क छाड्दा उहाँमा के गरौँ, कसो गरौँ भयो । डिप्रेसनमा जाने अवस्था भएपछि उनि आफ्नै घरमा फूल र बिरुवासँग रमाउन थाले । “फूलहरुको स्याहार गर्दागर्दै तिनीहरुको माया लाग्न थाल्यो । बजार जाँदा होस् या साथीको घर जाँदा फूल र बिरुवामै आँखा पर्न थाले”, उनि भन्छन्, “फूलकै कारण डिप्रेसन हुन पाएन, उनीहरु मेरा साथी जस्ता भए । अहिले यिनीहरुसँग छुट्नै नसक्ने भएकी छु ।”

सुरुमा सोखका रुपमा फूल रोप्नुभएको शिवमायाले मन परेका फूल र बिरुवा जम्मा गर्दागर्दै घर भरियो । बिरुवा बनाएर छिमेकी र चिनेजानेका धेरैलाई बाँड्नु पनि भयो । तर आफूले सित्तैमा बाँडेका फूलको स्याहार नभएको देखेर उनको मन दुख्यो । उनि भन्छन, ‘मैले बाँडेका फूल हेर्न जाँदा त कोही मरिसकेको, कोही त्यतिकै फ्याँकेको देखेँ । मान्छेले पैसा परेको चिजलाई मात्र महत्व दिँदा रहेछन् भन्ने सोच आयो । त्यसपछि सित्तैंमा बाँड्न छाडेँ । फूल माग्नेसँग पैसा लिन थालेँ ।’

फूल बेचेको पैसालाई उनले फूल र बिरुवामै लगानी गर्दै जानुभयो । यसो गर्दागर्दै उहाँ फूलको सौखिनबाट व्यवसायी बने। २०७२ सालबाट त उहाँले फूलसँगै ड्राइगन फ्रुटका बिरुवा बेच्न थाल्नुभयो । कोरोना महामारीपछिको बन्दाबन्दीका बेला मात्र आफूले १५ लाख रुपैयाँको बिरुवा बेचेको उनि बताउछन् । शिवमायाले पाँच वर्षयता त ‘फ्लावर जोन एन्ड पट हाउस’ नामको नर्सरी नै खोलेर फूलको व्यवसाय गरिरहेका छन्। उनि भन्छन, “पहिला सौखका रुपमा रोपेका फूलले अहिले राम्रो आम्दानी भएको छ । नर्सरीमा आएर मात्र होइन, फेसबुकलगायतका सामाजिक सञ्जालबाट पनि बिक्री गरिरहेकी छु । धेरै धरानेलीहरु म जस्तै फूलका सौखिन छन् ।”

धरानका युवा चित्रकार युमेनहाङ राई पनि पहिलादेखि नै फूलका सौखिन थिए । फूल सङ्कलन गर्दा गर्दै अहिले उहाँले पनि अहिले धरान–२० मा एभरेष्ट नर्सरी खोल्नुभएको छ । कोरोना महामारीले धेरैको व्यापार व्यवसाय चौपट भएकाबेला उनले चाहिँ आफूले सङ्कलन गरेका फूलहरुलाई नर्सरीको रुप दिए। अहिले उनको नर्सरीमा सय रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म मूल्यका फूल तथा बिरुवा किन्न पाइन्छ । उनि भन्छन, “धरानमा घरघरमै फूलको बगैँचा छभन्दा हुन्छ । यो बगैँचाको सहर हो ।”

धरानमा सौखले फूल रोप्ने त धेरै झन्, सौखबाटै व्यवसायी बन्नेहरुको सङ्ख्या पनि बढिरहेको छ । धरान–१९ का विश्व लिम्बू अफ्रिकी सजावटका फूल सङ्कलन गर्दागर्दै व्यवसायी बनेका छन् । छ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहनु भएका उनि विदेशबाट पनि सजावटका बिरुवाहरु मगाउने र आफैँ पनि उत्पादन गरेर बिक्री गरिरहेको बताए । धरान–८ का गौरव लिम्बुले पनि भर्खरै वनेम नर्सरी खोलेर विक्री वितरण गरिरहेका छन् ।

धरान उपमहानगरपालिकाको लगानीमा भानुचोकदेखि छाताचोकसम्मको मुख्य सडकको दायाँबाँया फलामको रेलिङमा गमला राखेर फूल रोपिएका छन् । यसले पनि धरानको सुन्दरता बढाएको छ । धरानवासीको फूलसँगको सामिप्यताकै कारण धरानलाई फूलको सहर, बगैंचाको सहर भनेर समेत चिन्ने गरिन्छ । माथि विजयपुर डाँडाबाट हेर्दा धरान बगैंचाभित्र घरैघर भएको शहर जस्तो देखिन्छ ।

धरानबासीको फूलप्रतिको उत्साह देखेर धरान उपमहानगरपालिकाले एक दशकअघि नै धरानलाई फूलैफूलको शहर बनाउने अभियान चलाएको थियो । नागरिकलाई फूलप्रति आकर्षण मात्र होइन, व्यावसायिक पनि बनाउने उद्देश्यले उपमहानगरपालिकाको सहयोगमा छलफल, अन्तरक्रिया पनि चलाइएको थियो ।

उपमहानगरपालिकाका पूर्व सामाजिक विकास अधिकृत सुनिल नेपाल घरमा राम्रोसँग फुलको सजावट गर्नेलाई पुरस्कृत गर्ने गरिएपछि नागरिकले फूललाई अझ व्यवस्थित रुपमा रोप्न र व्यावसायिक बन्न थालेको उनको भनाइ छ । उहाँ भन्नुहुन्छ ‘‘फूलबाट औषधीहरु पनि बन्छन्, सबैतिर फाइदैफाइदा छ, त्यसैले धरानलाई फूलैफूलको शहरका रुपमा विकास गर्ने योजना ल्याइएको थियो ।’’

धरानका नगरप्रमुख हर्कराज राईले पनि धरानलाई फूलैफूलको सहर बनाउने भन्दै वृक्षरोपण अभियानलाई निरन्तरता दिइरहनु भएको छ । उनि भन्छन, “यसपटक हामीले सडकको छेउ र खोलाका किनारमा रोपेका फूल धमाधम फुलिरहेका छन् । यसले पर्यटक पनि आकर्षण गर्छ । फूल र बोटबिरुवा धरानको चिनारी बनाउने अभियान छ हाम्रो ।”

करोडौँको कारोबार

धरानमा व्यावसायिकरुपमा फूल र बिरुवा बेच्ने नर्सरी दुई दर्जन हाराहारी छन् । त्यसबाहेक अनलाईनमार्फत फुल बेच्नेहरुको सङ्ख्या पनि ठूलो छ । नर्सरीहरुको कारोबार मात्र हिसाब गर्दा पनि वार्षिक तीन करोड रुपैयाँभन्दा बढीको फूल बिक्री हुने गरेको व्यवसायीहरुको भनाइ छ ।

बुढासुब्बा नर्सरीका सञ्चालक प्रेमप्रसाद पराजुली पूर्वमा सबैभन्दा बढी धरानमै फूल विक्री हुने बताउनुहुन्छ । उनि भन्छन, “धरानका पाँच छ वटा नर्सरीले दिनमा ३० हजार हाराहारीको फूल बेच्छन्, अरुलेपनि दिनमा कम्तिमा रु पाँचदेखि आठ हजार रुपैयाँको बेच्छन् । घरघरबाटै र अनलाइनबाट बेच्नेको हिसाबै छैन ।”

धरानका क्यामेलिया, एञ्जिला, पवित्रजस्ता पुराना नर्सरीले फूलको राम्रो कारोबार गरिरहेका छन् । पवित्र नर्सरीकी सञ्चालिका प्रमिला राई १६ वर्षदेखि नर्सरीबाटै परिवार धानिरहेको बताउनुहुन्छ । धरानका नर्सरीहरु आफू मात्र आत्मनिर्भर छैनन, धेरैलाई रोजगारीसमेत दिएका छन् । कतिपयले आफ्नै परिवार मिलेर फूलको व्यवसाय सञ्चालन गरिरहेका छन् भने धेरैले पाँच सातदेखि २५ जनासम्मलाई रोजगारी पनि दिएका छन् ।

व्यवसायीको गुनासो

फूल र बोटबिरुवा रोप्दा एकातिर वातावरणका लागि फाइदा छ भने अर्कातिर व्यावसायिकरुपमा पनि यो व्यवसाय राम्रो बनिरहेको छ । तर, यसमा लागेका व्यवसायीहरु बाहिरबाट फूल ल्याएर बिक्री गर्न झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताए । व्यवसायी युमेनहाङ राई नर्सरीहरुलाई व्यवसायमा दर्ता गर्नुपर्ने प्रावधानले पनि समस्या भएको बताए । यसलाई कृषि उत्पादनका रुपमा सरकारले सहयोग गर्नुपर्ने उनको धारणा छ । फूल र बिरुवा उत्पादकहरुलाई सरकारी सहयोग पाउन पनि अप्ठ्यारो मापदण्डका कारण कठिनाइ भएको उनको भनाइ छ ।

फूल व्यवसायी शिवमाया बान्तवा पनि फूलको खेती र व्यवसाय गर्ने भन्दा राजनीतिक प्रभाव राख्नसक्नेले अनुदान पाउने गरेको तर वास्तविक फूल व्यवसायी मारमा परेको बताए । सरकारी निकायले वास्तविक फूल किसान र व्यवसायीलाई सहयोग गर्नु पर्ने उनको धारणा छ । अर्का व्यवसायी प्रेमप्रसाद पराजुली फूलबाट सबैलाई फाइदैफाइदा देख्छन् । उनि भन्छन “फूलखेती र व्यवसायले सहर पनि सुन्दर देखिन्छ, व्यापार पनि राम्रो हुन्छ । यसलाई सरकारले प्रोत्साहन गर्ने हो भने पर्यटनको विकासमा पनि ठूलो योगदान पुग्न सक्छ ।”

सोमवार, ८ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा