पाँच वर्षअघि म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहूँ हिदीको जङ्गलमा प्रशस्तै देखिएका दुर्लभ पक्षी चिरकालीज यस वर्ष एउटा पनि भेटिएन ।

त्रिभुवन विश्वविद्यालयमा एमएससी प्राणीशास्त्र विभागका केशव चोखालले एक वर्ष लगाएर म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट पाँच वर्षअघि यहाँ करिव ६० वटा चिरकालिज पाइएकामा उचित वातावरणको अभावका कारण अहिले ती चिरकालिजहरु नभेटिएको बताए ।

चिरकालिजका विषयमा निरन्तर अनुसन्धान गर्दै आउनुभएका चोखाल चिरकालिज संरक्षण अभियान लिएर कुहूँ पुगेको हो।उनले कृषकको साथीका रुपमा मानिएको चिरकालीज किसानबाट नै सुरक्षित हुन नसकेकाले लोप हुने अवस्थामा पुगेको बताए ।

कुहूँमा मात्रै होइन पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण यो पक्षी जिल्लाका अरू ठाउँबाट समेत लोप हुने अवस्थामा पुगेको चोखालको भनाइ थियो । गत वर्ष कालीगण्डकी क्षेत्रको पश्चिमी भेगमा चोखालको नेतृत्वमा नै गरिएको अनुसन्धानमा पनि चिरकालिजको सङ्ख्या घटेको पाइएको थियो ।

“विगत पाँच वर्षअघिसम्म कालीगण्डकी नदीको पश्चिम क्षेत्रमा चिरकालिज प्रशस्तै पाइन्थे । म्याग्दीमा गत वर्ष गरेको मेरो अध्ययनअनुसार डडुवा, थाइबाङ, हिदी, मुना, मुदी, खिबाङलगायत क्षेत्रमा चिरकालिज कम मात्रामा भेटिएका छन्,” अध्येता चोखालले भने, “तर यस वर्ष भने चिरकालिजका लागि उपयुक्त मानिएको भूगोल हिदीमा नै भेटिएनन् ।” सीमित सङ्ख्या, निश्चित बासस्थान, न्यून प्रजनन क्षमता, बासस्थानको अभाव र अवैध चोरी सिकारीलगायत कारणले सरकारबाट संरक्षित पक्षी चिरकालिज लोप हुने स्थितिमा पुगेको उनले बताए।

चिरकालिजको संरक्षण अभियानअन्तर्गत जङ्गलमा नै पुगेर गरिएको अध्ययनअनुसार व्यापकरूपमा आगलागी, बन्दुक हान्ने, पासो थाप्ने, कतिपय स्थानमा त चिरकालिजलाई मारेर निर्यात गर्ने गरेको समेत पाइएको अनुसन्धानकर्ता चोखालले बताए। “एक वर्षअघि चिरकालिज भेटिएको स्थानमा समेत अहिले भेटिएन,” उनले भने, “बासस्थानमा जङ्गल विस्तार भएको छ तर त्यहाँ चिरकालिज छैनन् ।” व्यापकरुपमा भइरहेको जङ्गल विस्तार पनि चिरकालिज संरक्षणमा अर्को चुनौती भएको उनको भनाइ थियो ।

गत वर्ष कुहूको माथिल्लो भिर, थाइबाङको भिर र तातोपानी माथिको भिरमा चिरकालिज भेटिएकामा अहिले ती ठाउँमा एउटा पनि भेटिएका छैनन् । चिर संरक्षणमा जिल्ला वन डिभिजन कार्यालयले पहल गर्नुपर्ने आवश्यकता देखिएको चोखालले बताए। भौगोलिकरूपमा चिर लोप हुँदै जानु गम्भीर विषय भएको उनको भनाइ थियो ।

संरक्षणका लागि निरन्तर डिभिजन वन कार्यालयलाई अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको चोखालले गुनासो राखे जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले पर्यापर्यटनको विकास, जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिरकालिजको संरक्षण आवश्यक रहेको बताए। कार्यालयले विभिन्न वन समूहका उपभोक्तालाई सचेत गराउने, समूहगतरुपमा सचेतना कार्यक्रम सञ्चालन गर्नेलगायत काम गर्दै आएको उनले बताए । उनका अनुसार यो पंक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ ।

नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको भू–भागमा पाइने प्रमुख रानाभाटले जानकारी दिनुभयो । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । “यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको पाइन्छ”, उनले भने, “यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ ।” यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ताको भनाइ छ ।

म्याग्दीमा चिर संरक्षणका लागि समुदायमा सहभागितात्मक कार्यक्रम सुरु गरेर चिर संरक्षण अभियान सुरु गरिएको अभियन्ता चोखालले जानकारी दिए। त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सहयोग र सहकार्यमा म्याग्दीमा चिरकालिजको अवस्थाबारे थप अध्ययन र स्थानीय समुदायलाई सहभागी गराएर समुदायसँग संरक्षण कार्यक्रम सुरु गरिएको उनले बताए ।

स्थानीय बासिन्दाका अनुसार केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैधरूपमा चोरी सिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको मङ्गला गाउँपालिका–१ कुहूँका प्रेमबहादुर राम्जालीले बताए ।

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो । चिरकालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाका कारणबारे अनुसन्धान भने हुन सकिरहेको छैन । ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिने गरिएको छ ।

भिरमा नै बासस्थान बनाउने यो पक्षीले एकपटकमा सात देखि १५ वटासम्म फुल पार्ने गरेको अनुसन्धानकर्ता चोखालले बताउनुभयो । “चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट देखिएको छ”, उनले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको भए पनि यस यसको थप अनुसन्धान र खोज हुन नसकेको वन डिभिजन कार्यालयका प्रमुख रानाभाटले बतोए । उनले भने “यस्ता खोज तथा अनुसन्धानको काम राष्ट्रियस्तरबाटै सञ्चालन हुन जरुरी देखिन्छ ।”

अनुसन्धानकर्ता चोखालका अनुसार चैत–वैशाखमा चिरकालिजको प्रजनन प्रक्रिया सुरु हुन्छ । सोही समय जङ्गलमा डढेलो लाग्नाका साथै अन्य वातावरणीय असन्तुलनका समस्या देखिने हुँदा बर्सेनि दुर्लभ मानिएका चिरकालिजहरु घट्दै जाँदा लोपोन्मुख अवस्थामा पुगेका हुन् ।

म्याग्दीमा यो पक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाको तटीय क्षेत्रमा पनि पाइएको तर पछिल्लो समय चिरकालिजको सङ्ख्या घट्दै गएको अनुसन्धानकर्ता चोखालले बताए । “वन कार्यालयले स्थानीय समुदायको सहभागितामा चिर संरक्षण कार्यक्रम ल्याउनुपर्छ”, उनले भने ।

आइतवार, ७ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !