वर्षभरि बस्तुभाउको खानका लागि जम्मा गरेका आहारा (पराल) महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया गाउँका मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा बनेको छ। भटौलिया गाउँको उत्तरपट्टी रहेको सय परिवारको मुसहर बस्तीको घरमा बस्तुभाउलाई खुवाउने पराल नै ओढ्ने, पराल नै ओछ्याउने र परालकै आगो तापेर जीउ न्यानो बनाइरहेको दृश्यले त्यहाँका मुसहर समुदायलाई जाडोबाट बचाउने सहारा नै पराल बनेको देखिन्छ।

चिसो स्याँठले असैह्य भएको जाडोको बीच चारैतिर परालको कुन्यु, परालबाटै बनेको गुन्द्री, पराल नै जुटको बोरामा कोचेर बनाइएको सिरक, डसना र परालकै आगो बालेर भटौलिया गाउँका सम्पूर्ण मुसहरी (मुसहर बस्ती) यतिबेला जाडो छलिरहेको छ।

चारैतिर खर परालकै झिक्राझिक्री (टाटी) र खर र परालले नै छाएको सानो झुपडीमा उमेरले ६५ वर्ष नाघिसकेका जोगिया सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच बसिरहेको देखियो। उनको शरीरमा समेत चिसो छल्न सक्ने जति लुगाफाटा थिएन भने भने बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको थिएन, महिला इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक अरु बाक्लो कपडामा भेटिँदैनन्। आर्थिक रुपले चरम गरिबीले छोएको उनको झुपडीमा कुनै घेराबेर छैन। चिसो आकाशमुनि बस्दै आएको जोगियाको ११ जनाको परिवार जाडो बढेसँगै आगोकै वरिपरि लुटपुटिएको हुन्छ।

उनकै छिमेकी ५० वर्षीया सुमित्रा देवी सदाको अवस्था पनि उस्तै छ। छ-सात जना छोराछोरीसहित उनको परिवार पनि परालको ठुट्टो (लार) ले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लाष्टिकबाट ठाउँ ठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रोमा बस्दै आएको छ। झुप्रोभित्र चारैतिर पराल ओछ्याएको छ भने राति सुत्नका लागि जुटको ठूलाठूला बोरामा पराल कोचेर ओढ्ने ओछ्याउने विस्तार बनाइएको छ।

उनका कुनै छोराछोरीका जीउमा पनि पूरा कपडा छैनन्। घरभित्रैबाट चिसोले काप्दै सुमित्राले भनिन्, ‘हजुर हमरा सब लग केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है।’ (हजुर हामी कहाँ कोही आउँदैनन्। मरिरहेछौं तर पनि कसैलाई कुनै मतलब छैन) छ वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै यसै झुप्रोमा दिन बिताउन बाध्य उनको परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या छ। उनी भन्छिन्, ‘परिवारमा खानेकुराको अभावले भोकै बस्नुपर्ने अवस्था छ भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनु ?’

वर्षौंदेखि दमरोगको बिरामी रहेकी ६५ वर्षीया अनरिया देवी सदा झुत्रो कम्बल ओढेर काँप्दै थिइन्। आफूलाई पति र छोराछोरीलेसमेत राम्ररी हेरचाह नगरेको भन्दै सहयोगको याचना गर्दै उनले भनिन्, ‘हजुर मलाई कुनै अनाथालयमा लगिदिनुस्, यो चिसोमा भोकभोकै रहनुपर्दा निकै कष्ट भएको छ। परिवारबाट पनि माया पाएको छैन।’

सोही बस्तीकी ५५ वर्षीया सीतादेवी सदा दुई सातादेखि रातिराति सुत्न पाएकी छैनन्। उनले भनिन्, ‘हजुर दिनभरि जसोतसो काटे पनि राति काट्न पराल बालेर आगोकै साहाराले नै काट्दै आएको छु। दुई सातादेखिको चिसो स्याँठबाट बालबालिकालाई बचाउन रातभिर पराल र पात पतिंगरको घुर जलाएर सुत्ने गरेको छु।’

आगो बालेर सुत्दा जल्ने पोल्ने डरले बालबालिकालाई सुताउँदै आफू रात रातभरि जाग्राम नै बस्ने गरेको उनले बताइन्। चरम गरिबीको कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उनका पति दिनभरि मजदूरी गरेर कमाएको पैसामध्ये आधी मदिरामा उडाइदिने र आधाले जहान परिवारको लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाहरुको लागि न्यानो लुगाफाटा र पोषिलो खानेकुरा दिन नसकेको उनको दुःखेसो छ।

यस वर्षमा मात्रै नभएर आफूहरुले वर्षौंदेखि जाडोयाममा यसैगरी समय काट्ने गरेको स्थानीय ४८ वर्षीया कोशिला देवी सदाले सुनाइन्। दिनमा घाम लागे खुशी हुने र बेलुका घाम ढल्दै जाँदा दुःखी हुँदै रातभरि घुरमा आगो ताप्दै रात बिताउने उनको दिनचर्या बनिसकेको छ। कोशिलाको घरमा उन र उनका पतिसहित आठ जना बालबालिका छन् भने सबै जना जाडो छल्नका लागि परालकै सहारा नै लिनुपरेको छ।

शीलतहर, चिसो हावा, बाक्लो हुस्सु र डम्म परेको कठ्याँग्रिदो जाडोकै बीच बस्ती नजिकै अर्काको खेतमा धान बढार्दै गरेकी ७४ वर्षीया भुटीदेवी सदा टाँढैबाट कराउँदै आफ्नो पीडा सुनाउन आइपुगिन्। ‘खान पाएकी छैन। घरमा अन्नपात छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन। जाडोले ज्यानै लिन लाग्यो। आफू त कसैगरी जाडो सहन सकिरहेको छु। तर यत्रो सानो बच्चालाई कसरी जोगाउनु। घरमा चारैतिरबाट हावा पस्छ। जाडोले मुटु नै हल्लाउँछ। ओढ्ने ओछ्याउने नहुँदा मनै रोएर आउँछ। कसैगरी कतैबाट राहत दिलाइदिनुस्।’

कहाँ जाउँ, के गरुँ र कसरी बाँचु भन्ने चिन्ताले उनलाई पिरोलेको छ। उनका सात बालबालिकासहित ११ जनाको परिवार दैनिक मजदूरीबाट जसोतसो चल्दै आएको छ। एकदिन पनि मजदूरी नगरेमा चुल्हो बल्दैन भने परिवारका सबै सदस्य भोकभोकै बस्नुपरेको उनको दुःखेसो छ। ‘जाडो याममा कहिले काम पाइन्छ, कहिले पाइँदैन र त्यस्तो अवस्थामा भोकै बस्नुपर्ने बाध्यता छु,’ भुटीले भनिन्, ‘हजुर कोही दाता छन् भने हामीलाई राहत दिलाइदिनुस् न। जाडो हटेपछि त काम पनि पाइन्छ, बालबालिका पनि भुलाउन सजिलो हुन्छ।’

केही दिनयता तराई-मधेशका जिल्लाहरुमा बाक्लो कुहिरो लाग्ने, घाम नलाग्ने र शीतलहर हुने गरेकाले गरिब तथा विपन्न समुदायका वासिन्दाको जनजीवन निकै कष्टकर बनेको छ। सय परिवार मुसहरको यहाँका जुनसुकै घरमा जानु सबैको उस्तै पीडा देखिन्छ। अभावै अभावमा जीवन काटिरहेका उनीहरुको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ। रासस

बिहिबार, ४ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !