एकनासले झरिरहेको झरना, तल बाँध बाँधेर बनाइएको पोखरीमा चिसो र कञ्चन पानीसँग खेल्ने ठाउँ छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलास्थित पञ्चकन्या झरना यतिले यहाँ आउने सबैको आकर्षक गन्तव्य बनेको छ ।

पोखरीको पानीमा खेल्न पाइने मनोरमस्थल भएकाले यहाँ घुम्न आउनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढेसँगै बस्न चाहनेलाई आवास सुविधाका लागि रिसोर्ट बनेको छ । झरना जानका लागि सडकको स्तरोन्नति गरेसँगै स्थानीय विजय केसीले झरना नजिकै ‘पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट’ सञ्चालनमा ल्याएका छन् । पञ्चकन्या कृषि फार्मद्वारा सञ्चालित उक्त हाउसमा बैठक बस्नेदेखि आवास र ट्राउट माछासँगै विभिन्न स्थानीय कृषि उत्पादनका परिकारका स्वाद लिन पाइने सञ्चालकले बताए ।

‘यहाँ आउने पर्यटकलाई सुविधा प्रदान गर्नका लागि करिब एक करोड लागतमा रिसोर्ट सञ्चालनमा ल्याएको हुँ’, केसीले भने, ‘अब झरनामा क्यानोनिङ, पोखरीमा बोटिङ, रक क्ल्याइम्बीङ, बञ्जीजम्प लगायतका साहसिक खेलसमेत सञ्चालन गर्न सकेको खण्डमा यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ ।’ चिसो पानीमा पर्यटक रम्नुका साथै ट्राउट माछाको लागि उपयुक्त ठाउँ भएकाले कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ । उनका अनुसार यहाँ ३० जना सम्मको आवास व्यवस्थापन गर्न सकिने व्यवस्थित रिसोर्ट बनेको छ ।

विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको यस ठाउँमा आजभोलि शनिबार र बिदाका दिन पर्यटक पुग्ने गरेका छन् । महाभारत लेकबाट बगेर आउने चिसो पानीको झरनामा रमाइलो गर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ घुम्न पुग्ने गरेका केसीले बताए । हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानीसँगै मनोरञ्जन लिनका लागि ‘पञ्चकन्या झरना’ पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको उनको भनाइ थियो ।

झरना क्षेत्रमा पुगेपछि आनन्द मिल्ने भएकाले सबैको रोजाइ बन्दै गएपछि पछिल्लो समय त्यहाँसम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने काम भइरहेको पनौती–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले जानकारी दिए । मोटरबाटोको स्तरोन्नतिपछि पर्यटकको सङ्ख्या झन बढ्ने अपेक्षा गरिएको उनले बताए । पञ्चकन्या झरनाको नामले परिचित यस ठाउँमा पनौती–मल्पि–रोशी भूमेडाँडा हुँदै पुग्न सकिन्छ । आन्तरिक पर्यटकको आवागमन बढ्दै गएपछि करिब डेढव र्ष अगाडि वडा नं १२ ले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको वडाध्यक्ष खत्रीले बताए ।

शान्त ठाउँ, घनाजङ्गलको छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपर्ने भएकाले निकै रमाइलो र मनमोहक लाग्ने यहाँ आउनेहरु बताउँछन् । पहिला यहाँ आउनका लागि सानो गोरेटो बाटो मात्रै भएकाकाले गाउँलेलाई बजार आवतजावत गर्न समेत मुस्किल हुने गरेकामा बाटो स्तरोन्नति भएसँगै आवागमन सहज भएको स्थानीय बताउँछन् ।

झरनाकै कारण बाटो फराकिलो बनेपछि अब घर जानआउन सहज भएको स्थानीय सूर्यबहादुर गोलेले बताए । ‘पहिला त सानो मान्छे हिँड्न मात्रै मिल्ने गोरेटो बाटो थियो । अहिले झरनासम्म जाने फराकिलो मोटरबाटो बन्दैछ’, उनले भने, ‘त्यहाँसम्म मात्रै भए पनि सहज बनेको छ । हाम्रो गाउँसम्म पुग्नको लागि त अझै उस्तै समस्या छ ।’ गोलेको गाउँसम्म पुग्नका लागि करिब आधा घण्टाको बाटो अरु हिँड्नुपर्छ । यसअघि बाटोघाटोको सुविधा केही नभएकाले अधिकांश स्थानीय बासिन्दा बसाइँ सरिसकेका उनले बताए ।

पनौती–१२ का वडाध्यक्ष खत्रीले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सङ्घीय सरकारको करिब रू एक करोड लागतमा मोटरबाटो स्तरोन्नतिको काम भइरहेको बताए । पहिलो चरणमा अहिले ड्रेन बनाउने र वाल लगाउने काम भइरहेको भन्दै पछिल्लो समयमा त्यसलाई पक्की सडकको रुपमा विकास गर्दै लैजाने योजना रहेको उनले बताए । झरनाभन्दा केही तल व्यवस्थित खेल मैदान निर्माण गरिरहेको उनको भनाइ थियो ।

बिहिबार, ४ माघ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा