file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गौरव गर्न लायक ध्वजाबाहक बनाउँछु ।’

विसं २०७९ माघ ३ गते मुलुकको ४०औं पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्री किरातीले कमजोर अवस्थामा रहेको निगमलाई सुधार्ने उद्घोष गरेका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेको ६ दिनपछि अर्थात् माघ ९ गते निगमको मुख्यालयमा पुगेर निगमको समग्र अवस्थाबारे जानकारी लिँदै उनले भनेका थिए, ‘निगमको धुमिलिएको शाखलाई उचो बनाउन भगिरथ प्रयास गर्नेछु ।’ त्यतिमात्रै हैन हरेकजसो सार्वजनिक कार्यक्रममा पर्यटनमन्त्रीको यही उक्ति दोहोरिने गथ्र्यो ।

यही पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठबन्धन सरकार बनेको एक महिनापछि पर्यटनमन्त्री बनेका किराती आफूले बोलेका र प्रतिबद्धता जनाएका काममा लागि परेका छन् । चुनौतीबीच निगम सुधार्ने सम्भावनाको खोजी निरन्तर चलिरहेकै छ ।

वायुसेवा निगमको सुधारका लागि विभिन्न पहलकदमी भएका छन् । केही नीतिगत र रणनीतिक कार्यक्रम पनि अघि बढाइएका छन् । पर्यटन मन्त्रालयले गठन गरेको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय सुधार तथा अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले मेहनतका साथ निगमको संरचनागत र व्यवस्थापकीय सुधारका लागि सुझावसहितको प्रतिवेदन पर्यटनमन्त्री किरातीलाई बुझाइसकेको छ । सोही आधारमा पर्यटनमन्त्री किरातीले निगमको विद्यमान अवस्थालाई सुधार्न प्रयास गरिरहेका छन् । प्रतिवेदन कार्यान्वयनका गठन गरिएको समितिले तीव्रताका साथ काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

‘विगतमा अध्ययन समिति बनाउने र प्रतिवेदन दराजमा थन्क्याउने प्रवृत्ति थियो, त्यसलाई हामीले अन्त्य गरेका छौँ’, रासससँगको कुराकानीमा पर्यटनमन्त्री किरातीले भने। वायुसेवा निगमको पुनःसंरचनाका लागि ‘म्यानेजमेन्ट कन्ट्रयाक’ समिति पनि गठन गरिएको उनले जानकारी दिए । मन्त्री किरातीले भने, ‘कानुनीरुपमा धेरै सुधार गर्नुपर्नेछ, संसद्को हिउँदे अधिवेशनमा धेरै विषयलाई सम्बोधन गरेर जानेछौँ ।’

युरोपेली संघ (इयु) ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको मन्त्री किरातीको भनाइ छ । इयुको अडिट प्रतिवेदनको १२ बुँदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको छ । मन्त्री किरातीले वायुसेवा निगमलाई सुधार्न विभिन्न प्रयास भइरहेको बताए । तर, निगमको अहिलेको अवस्थामा ल्याउन सरकार, राजनीतिक नेतृत्व सरोकारवाला निकायको पनि उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे ।

तीन जहाज खरिद गरिँदै

वायुसेवा निगमले आन्तरिक उडानका लागि तीन ट्वीनअटर जहाज खरिद अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्री किरातीले तीन जहाज खरिदका लागि अन्तिम चरणमा पुगेको र केही दिनभित्रै निर्णय हुने जानकारी दिए । उनका अनुसार त्यसैगरी अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज लिज प्रक्रियाबाट ल्याउन पनि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

विगत १२ वर्षदेखि ग्राउण्डेड ट्वीनअटर जहाज मर्मतको प्रक्रिया अगाडि बढाइएको छ । तीन जहाज ल्याएपछि दुर्गम क्षेत्रका २२ विमानस्थलमा उडान सेवा दिने गरी जहाज खरिद गर्न लागिएको निगमले उल्लेख गरेको छ । ग्राउण्डेड चिनियाँ जहाज बिक्रीका लागि टेन्डर आह्वान गरिएको छ ।

निगमको आम्दानी बढ्यो

वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढी वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरक्षिण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा नौ अर्ब १० करोड ९८ लाख रुपैयाँ थियो । आव २०७/७९ मा १६ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ छ ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक क’ल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रहेको छ । विवरणमा एक वर्षको अवधिमा निगमले २२ अर्ब रुपैयाँ कमाएको छ । यतिखेर वर्तमान सरकारको एकवर्षे कार्यकालको कामको समीक्षा भइँरहदा मुलुकको संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहेर मन्त्री किराती सुशासन, पारदर्शिता कायम गर्दै केही देखिने गरी कामको सुरुआत गरेका छन् ।

अपेक्षित काम गर्न सकिएन

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हालैको बैठकमा मन्त्री किरातीले खुलेर आफ्ना भावना व्यक्त गरे । ‘काम नगरिकन कुर्सीमा बसु या विवादित भएर पनि काम अगाडि बढाउने भन्ने प्रश्न तेर्सिएको छ, भने जति काम गर्न नसकेकामा लज्जित पनि छु’, मन्त्री किरातीले भने , ‘एउटा काम गर्न थाल्नुपर्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र धाउनैपर्छ, महालेखा परीक्षकको कार्यालयलाई जवाफ दिनैपर्यो । अनि अड्डा अदालत पुग्नैपर्छ, समितितिर पनि जवाफ दिनैपर्छ । काम चाही कहिले गर्ने आफैँलाई प्रश्न गरिरहेको छु ।’

मन्त्री किरातीले मुलुकको हवाई क्षेत्रको सुधारका लागि पनि विभिन्न प्रयास गरेका छन् । मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा अभिवृद्धि र नियमन तथा व्यवस्थापकीय कार्यमा प्रगति गरेको छ । सम्पदा संरक्षण र प्रवद्र्धनका सकारात्मक उपलब्धि भएको छ । मन्त्रीको सक्रियतामा सम्पदा सरसफाइ अभियान प्रभावकारी रुपमा सम्पन्न भएको छ ।

४१ मुलुकसँग हवाई सेवा सम्झौता

पर्यटन मन्त्रालयका अनुसार नेपाल तथा रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छ । स्वीट्जरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अघि बढाइएको छ । यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको संख्या ४१ पुगेको छ । नेपालले इयुसँग पनि बहुपक्षीय हवाई सम्झौता गरेको छ । अन्य केही मुलुकसँग पनि द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

एक वर्षका उपलब्धि

सरकारको एक वर्षे कार्यकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’बाट राष्ट्रिय गौरबको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अघिल्लो वर्ष पुस १७ गते उद्घाटन भएको थियो । भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यको शिलान्यास भएको थियो । नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण कार्य शिलान्यास भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्नेसम्बन्धी कार्ययोजना बनाउनुका साथै भारतसँग अन्तर्राष्ट्रिय उडान सहजीकरण गर्न द्विपक्षीय प्राविधिक छलफलका लागि कूटनीतिक प्रक्रिया अघि बढाइएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

विसं २०७९ माघ २० गतेदेखि वायुसेवा निगमबाट आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट अनलाइन प्रविधिमार्फत काट्न सकिने गरी अनलाइन टिकेटिङ सेवाको सुरुआत गरिएको । जुम्ला, रुकुम, रारा तथा सिमिकोट विमानस्थल विस्ताररस्तरोन्नतिका लागि जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाइएको छ । तुम्लिङ्टार तथा सुर्खेत विमानस्थलमा एटीआर–७२ विमानबाट सेवा सञ्चालन सुरु गरिएको छ । तीन महिने बृहत् सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

१० लाख बाह्य पर्यटक भित्रिए

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७६ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर संख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । जुगल हिमशृङ्खलामा पर्ने ६ नयाँ हिमाल आरोहणका लागि खुला गरिएका र सोसहित हालसम्म कूल चार सय १९ हिमाल आरोहणका लागि खुला गरिएका छन् । रासस

शनिबार, २१ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !