सरकारले पर्यटकीय गन्तव्यको रूपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवर्द्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।

क्लबले आधार शिविरमा सूचनामूलक बोर्डसहित दृश्यावलोकन केन्द्र स्थापना गरेको छ । क्लब अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा चिमखोलादेखि छरी–सुंगरथला हुँदै आधार शिविर पुगेका युवाको टोलीले समुद्री सतहदेखि चार हजार पचास मिटर उचाइमा सूचनासहितको स्वागत बोर्ड स्थापना गरेका हुन् । क्लब अध्यक्ष बुढा, उचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्बुजा, पर्यटन व्यवसायी कुशल पाइजा, क्लबका सदस्य एमन पुन, विशेष बुढा, थमन गर्बुजा, निसान गर्बुजा र ओविन्द्र गर्बुजाको टोलीले आधार शिविरको साथै कालीबराह ताल र सेतीनी छहरामा समेत दृष्यावलोकन केन्द्र स्थापना गरेका छन् ।

आइसफल पदमार्गअन्तर्गत पर्ने कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा अवस्थित रहेको छ । ताल परिसरमा रहेको कालीबराह थानमा स्थानीयले पूजापाठसमेत गर्ने चलन रहेको छ । क्लबले यसअघि चिमखोलामा स्वागत बोर्ड स्थापना गर्नुका साथै सोवाङधुरी र पानी डाक्ने डाँडामा दृष्यावलोकन केन्द्र (भ्यू पोइन्ट) स्थापना गरेको अध्यक्ष बुढाले बताए ।

‘आइसफल पदमार्गका मुख्य–मुख्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि हामीले पहल थालेका हौँ, क्लब आफैँले यसको नेतृत्व गरिरहेको छ भने देश तथा विदेशमा रहेका चिमखोलावासीले हाम्रो प्रयासमा साथ दिनुभएको छ’, अध्यक्ष बुढाले भने ।

उनका अनुसार, पर्यटनको अथाह सम्भावना भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको धौलागिरि आइसफल पदमार्गलाई चिनाउन क्लबले अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरेको हो । टान, तत्कालीन जिल्ला विकास समिति म्याग्दीलगायतका विभिन्न निकायको अगुवाइमा म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी विसं २०६८ मा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको पहिलोपटक अध्ययन गरिएको थियो ।

पदमार्ग पहिचान गरेर पदमार्गलगायतका पूर्वाधार बनाउन थालेको एक दशक बढी समय भए पनि अझै यो क्षेत्र ओझेलमा रहेको आइसफल पदमार्ग निर्माण अभियानका अगुवा ध्रुव पाइजाले बताउनुभयो । ‘धेरैजसो अप्ठेरो ठाउँमा बाटो बनायौँ, कतिपय ठाउँमा त हामीले बनाएको बाटो नै बाढीले पनि बगायो, तर फेरि पनि पदमार्ग बनाउने काम भइरहेको छ, यो पदमार्गमा पूर्वाधारसँगै प्रचारप्रसार र नक्साङ्कन गरेर योजनाबद्ध रूपमा अघि बढ्न जरुरी छ’, तिलिजाले भने ।

समुदायस्तरबाट धौलागिरि आइसफल र आधार शिविरको प्रचारप्रसारका लागि धेरै प्रयास भए पनि पदमार्गको नक्साङ्कनसहित सरकारी तवरबाट उचित पहलकदमी हुनुपर्ने उनको भनाइ छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट अहिले पनि धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण भइरहेको छ । गत आर्थिक वर्षमा पर्यटन विभागले ठेक्का लगाएको रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौताअनुसार, ससलधारा क्षेत्रबाट पदमार्ग बनाउने काम जारी रहेको छ । ठेक्का सम्झौता गर्दा भिरमा पदमार्ग बनाउने स्टिमेट नगरेको कारण उक्त बजेटबा पुछार ओढार र चेप्टेओढार क्षेत्रको भिरमा पदमार्ग बनाउन अझै बाँकी रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए ।

‘यो बजेटबाट जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग अझै नबन्ने भएपछि हामीले पदेश र सङ्घीय सरकारसँग थप बजेटको माग गरेका छौँ, कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढाउन सकिन्छ की भन्ने अपेक्षा छ’, उनले भने । उनले कालीबराह खोलालगायतका ठाउँहरुमा झोलुङ्गे पुलको समेत अभाव रहेको बताए ।

शनिबार, १४ पुस, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा