Trending
मर्स्याङ्दी नदी कोरिडोरअन्तर्गतका स्थानीय तहले समग्र कोरिडोर क्षेत्रको पर्यटन प्रवर्द्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएका छन् । तनहुँको बन्दीपुरमा आइतबार बसेको अन्तरपालिका समन्वय बैठकबाट कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिकग्राम बनाउने लक्ष्यका साथ अध्ययन गरिने भएको हो ।
गण्डकी प्रदेशले एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएअनुरुप यस कोरिडोरमा सम्भाव्यता भएका पर्यटकीयस्थल प्रशस्त रहेकाले पहिचान र अध्ययनका लागि अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी नदी करिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार कोरिडोरका पालिकामा पर्ने पर्यटकीय स्थानको अध्ययन गरी एक अर्को पालिकासँग समन्वय र प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।
फोहरमैलाको उचित ढङ्गबाट विर्सजन नभएमा दीर्घकालका निम्ति सुरक्षित र वायुमण्डललाई असर गर्ने भएकाले समयमै यसतर्फ सबै सचेत हुनुपर्नेमा त्रिपाठीले जोड दिए । ‘अहिले त सिसाजन्य फोहरमैला वृद्धि हुँदै गएको छ । यसकारण यसको दीर्घकालीन व्यवस्थापन आवश्यक छ’, उनले भने, ‘कोरिडोरका स्थानीय तहभित्र सिसाजन्य फोहरमैलालाई दुई वा दुईभन्दा बढी पालिकालाई पायकपर्ने उपयुक्त स्थान छनोट गरी लगानी साझेदारीको माध्यमबाट व्यवस्थापन गर्ने निर्णय भएको छ ।’
साथै यस कोरिडोरअन्तर्गतका पालिकामा ठूला टार प्रशस्त छन् । टार बाँझिने अवस्था बढ्दै गएकाले यी टारको उपयोग हुने गरी कृषि क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा समेत छलफल भइरहेको संयोजक त्रिपाठीले बताए ।
लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा राईनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङ र तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा सदस्य रहने गरी मस्र्याङदी कोरिडोर पर्यटन उपसमिति गठन गरिएको छ ।