प्रधान सेनापति प्रभुराम शर्माले विद्यमान कानून नसच्याएसम्म निर्धारित समयमा काठमाडौं–तराई द्रुतमार्ग नबन्ने बताएका छन् । बुधवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कानूनी उल्झनका कारण द्रुतमार्ग निर्माणको काम अगाडी बढाउन नसकिएको बताएका हुन् ।
शर्माले कानूनी प्रक्रियाका कारण ४ वटा रुख काट्न ९ महिनासम्म लाग्ने गरेको उदाहरण दिँदै यही कानूनी व्यवस्था रहिरहेमा २०८३ साल सम्ममा द्रुतमार्ग निर्माणको काम नसकिने स्पष्ट पारे । उनले विकास निर्माणमैत्री कानून नभएको भन्दै यसकारण काम गर्न ढिलाइ भइरहेको बताए । शर्माले पैसाको कारणले काम गर्न ढिलो नभएको स्पष्ट पारे । नेपाली सेनाले फास्ट ट्रयाक निर्माण गर्नका लागि नमागेको भन्दै सरकारले दिएको जिम्मेवारी स्वीकार गरेर काम गरिरहेको बताए ।
उनले भने, ‘काम फास्टट्रयाकमा गर्नुस्, नियम, कानुन चाहिँ उही पुरानो छ । २०१७ सालको नियमसुद्ध देखाउनुहुन्छ । यहीँ हो । हामीले विकास निर्माण गर्नलाई विभिन्न किसिमका कानूनहरु जति दिनुपर्ने हो, त्यति दिन सकेका छैनौँ । त्यसले गर्दापनि यो ढिलाइ भइराखेको छ । पैसाको कारणले भएको छैन । कुनै अनियमिता भएको छैन । यही तालले हो भने २०८३ सालमा पनि बन्दैन । मलाई त्यो कानून सच्याएर, ४ वटा रुख काट्न ९ महिना लाग्छ भने यो कानून नसच्चिइकन हुँदैन । मैले गर्न सक्दिनँ भनेको छैन । गर्न सकिन्छ । गराउनुपर्छ ।’
शर्माले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काममा विद्यमान ऐन, कानून र नियमको परिधिभित्र बसेर ठेक्का लगाएको पनि बताए । उनले द्रुतमार्ग निर्माणको काममा अहिलेसम्म अनियमितता नभएको र आगामी दिनमा पनि अनियमितता हुन नदिने बताए । भ्रष्टाचार भएमा कारबाही गर्ने शर्माको भनाई छ ।