Trending
अध्यागमन विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ।
बुधवार विभागको टिमले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्न सम्बन्धित निकायहरूले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो।
अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेस्क राखेर सेवा दिँदै आएको बताए।
उनले विदेशी नागरिकका लागि ४ वटा काउण्टर र नेपाली नागरिकका लागि १० वटा काउण्टर राखेर सेवा प्रदान गर्दै आएको बताए। उनले अहिले करिब एक दिनमा ९ देखि १० हजार यात्रु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको बताए।
उनले भने, ‘यहाँ सेवाग्राहीको सुविधाका लागि १४ वटा डेस्क छन्। तीनवटा सिफ्टमा काम हुन्छ। यहाँ विदेशी नागरिकका लागि ४ वटा र नेपाली नागरिकका लागि १० वटा काउण्टर छन्। अहिले करिब दैनिक ९ देखि १० हजार यात्रु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको देखिन्छ। बिहान र बेलुका यात्रुको चाप अलि बढी हुन्छ।’
उनले अहिले एउटा कर्मचारीले ३ देखि ४ सयको हाराहारीमा यात्रुलाई पठाउने काम गरेको बताए।