सोमबार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित भइन् । पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान बोकेर गाउँ फर्किइन् ।

म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लो, डालो र ठेकाठेकी बिक्री गर्ने उद्देश्यले उनीहरु हस्तकलाका सामग्री बोकेर गलेश्वर आएका थिए । विगत एकदशक अघिसम्म बालाचतुर्दशीमा लाग्ने गलेश्वर मेलामा डाला, नाङ्ला, ठेकाठेकी, भकारी र थुन्सेको व्यापार खुब हुने गर्दथ्यो । तर पछिल्लो समय सस्तो मूल्यमा पाइने प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएपछि बाँस र निगालोबाट बनाइएका सामानको बिक्री घट्दै गएको हस्तकला सामग्रीका व्यापारी अमृता पुनले बताइन् ।

‘हस्तकलाका सामग्री बनाइ बिक्री गरेरै जीविका चलाउँदै आएका थियौंँ’, उनले भनिन्, ‘कोरोना महामारीमा व्यापार घट्यो, गुजारा चलाउन गाह्रो भयो ।’ अहिले निगालो र बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो आरीलगायत सामान बिक्री हुन छाडेका पुनले बताइन् । उनले हरेक वर्ष बालाचतुर्दशी पर्वमा म्याग्दीको गलेश्वर, माघेसङ्क्रान्तिमा गुल्मीको रिडी र चैतेदसैँमा बागलुङमा पुगेर नाङ्लो, डालो र हस्तकलाका सामग्री बिक्री गर्दै आएको बताइन् ।

पुनका अनुसार एक पाथी जाने डाला रु तीन सयदेखि रु छ सय, दुई पाथीभन्दा बढी अन्न अट्ने डालो रु छ सयदेखि रु एक हजार सयसम्म तथा नाङ्लो रु छ सयमा बिक्री हुँदै आएको छ । बाँस र निगालोबाट बनाइएका नाङ्लो, डालो र पाथी बिक्री हुन छाडेको अर्का व्यापारी अमानबहादुर विकले बताए । युवा जनशक्ति विदेश पलायन हुने र सीप हस्तान्तरण नहुँदा पुख्र्याैली पेसा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

बाँसको चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइने नाङ्लो ठूलो थाल जस्तै आकारको हुन्छ । यसमा अन्न निफन्ने (केलाउने) गरिन्छ । यस्तै बाँस र निगालोको चोयाको सहायताबाट बुनिने फराकिलो मुख भएको गहिरो भाँडो डालो हो । यसमा पनि अन्नपात राख्ने गरिन्छ । गाउँघरमा नाङ्लो र डालोको प्रयोग गर्ने चलन धेरै भए पनि अहिले यी सामानको प्रयोगमा कमी आउन थालेको छ ।

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका यस्ता सामग्री र यीसँग सम्बन्धित मौलिक सम्पदा लोपहुँदै गएका छन् । एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका यस्ता हस्तकलाका सामग्रीलगायत, ढिँकी, जाँतो र पानीघट्ट पनि अहिले लोप हुँदै गएका छन् । ढिँकी, जाँतो र पानीघट्ट अन्न कुट्ने र पिस्ने परम्परागत प्रविधि हुन् । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यस्ता प्रविधि पनि लोप हुँदै गएका बेनी नगरपालिका– २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

मङ्लबार, २६ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा