समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौँ गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजमले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन् ।

एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो । लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे । तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल हुन्छ । लोकमार्गसँगै जोडिएका गोठमा अहिले पनि गोठाला बस्दै आएका छन् । चिसो याममा खाली खुट्टा भेडीगोठाले काम गरिरहेका भेटिन्छन् ।

धेरैजसो गोठालाहरु असार र कात्तिक महिनामै बेंसी झरे पनि चार जना अहिले पनि पातीहाल्ने क्षेत्रमा भेडाबाख्राको हेरचाहमा व्यस्त छन् । केही दिन अगाडि वर्षासँगै परेको हिमपातले तीन दिन दैनिकी कष्टकर बन्यो । चिसो ह्वात्तै बढेपछि यहाँ भएका गोठाला बेंसी झर्ने तरखरमा छन् । अहिले पूर्वी रुकुमको भूमे गाउँपालिकाका श्रीप्रसाद पुन, जोरप्रसाद पुन, सत गुरुङ र रास गुरुङको परिवार भेडीगोठमा छन् ।

उनीका ठूलो सङ्ख्यामा भेडाबाख्रा हुँदा अहिलेसम्म पातीहाल्ने क्षेत्रमै रहेका हुन् । उनीहरु सबैले भेडापालन थालेको दशकौँ बित्यो । पाँच पुर्खादेखि भेडापालन गर्दै आएको बताउने श्रीप्रसाद ६१ वर्षको भए । उनले भेडापालन थालेको ५३ वर्ष भयो । बाउबाजेले गर्दै आएको पेसालाई अङ्गाल्नुभएका गुरुङले आफ्ना हातपाखुरा चल्दासम्म यही काम गर्ने चाहना रहेको बताए ।

उमेर ढल्दै गए पनि गुरुङमा काम गर्ने जोस जाँगर भने युवाको जस्तै छ । गुरुङका सबै दौतरी यही पेसामा लागे पनि अहिलेका नयाँ पुस्ताले भेडाबाख्रा पालनमा चासो दिँदैनन् । नयाँ पुस्ताले परम्परागत पेसालाई चासो नदिँदा पुर्खौँदेखि गर्दै आएको पेसा हराउने डर गुरुङलाई छ । आफ्नो पालामा पढ्ने लेख्ने र विदेश जाने चलन नहुँदा गाउँका सबै मानिस पशुपालनमा लागेको सुनाउँदै अहिलेका पुस्ता विदेश पलायन हुन र बजार झर्ने गरेको गुरुङले बताए ।

भेडापालनबाटै परिवार चलाउनेदेखि सम्पत्ति जोड्नेसम्म गरेको सुनाउने गुरुङले हिजोआज गाउँमा विकास हुँदै गएपछि पुरानो पेसा लोप हुने अवस्थामा पुगेको सुनाए । गत असारमा पशुचौपाया लिएर लेक आएको भन्दै चिसो बढेकाले अब गाउँ झर्ने गुरुङको भनाइ छ ।

पातीहाल्ने क्षेत्रमा तीन जिल्लाका भेडा गोठाला आउने गरे पनि बागलुङको निसीखोला र रोल्पाली भेडा गोठाले असोजमै बेसी झरेका थिए । निसीखोला र रोल्पामा बेंसीमा पनि चरन क्षेत्र बढी हुँदा उनीहरु पहिले नै बेंसी झरेका हुन् । पूर्वी रुकुमका गोठाला भने पुरै झरिसकेका छैनन् ।

अहिले पातिहाल्ने क्षेत्रमा रहेका गोठालामध्ये जोरप्रसाद पुन पनि हुनुहुन्छ । पुनको यहाँ रहेको बथानमा करिब तीन सय भेडा छन् । उनले पनि भेडा पाल्न थालेको तीन दशक बढी भयो । गाउँका सबै पशुपालनमा आबद्ध भएको हुँदा उनी पनि ११ वर्षकै उमेरदेखि यो पेसामा लागेका थिए ।

भेडापालनले अहिलेसम्म गाउँका धेरैलाई विदेश जानबाट रोकेको पुन बताउँछन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बसेर भेडा पाल्ने किसानको न्यूनतम पनि एक सय ५० बढी भेडाबाख्रा हुने हुँदै उनीहरु बेचेर विदेश जान नसकेको उनको भनाइ छ । जता गएर जे पेसा अङ्गाले पनि जीवनयापन नै गर्ने भएको भन्दै गाउँमै परम्परादेखि गरिँदै आएको काम गरे पनि परिवार चलाउन सकिने पुनले बताए । आफू अहिलेसम्म कुनै पनि ठूलाठूला सहरमा नपुगेको उनको भनाइ छ ।

मध्यपहाडी लोकमार्गले भेडीगोठ जोडिएपछि ग्राहक बथानमै आएर भेडाबाख्रा किन्ने गरेको सत गुरुङले बताए । पहिलेपहिले आफूहरू बागलुङको निसीखोला, बुर्तिबाङ, हुँदै गुल्मीको रिडीसम्म पुग्ने गरेको सुनाउँदै अचेल भेडा बिक्रीका लागि टाढा जान नपर्ने उनको भनाइ छ । हरेक वर्ष गोठबाटै लाखौँको भेडाबाख्राको बिक्री हुने गुरुङले बताए ।

शनिबार, २३ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा