Trending
बझाङको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन् । यस क्षेत्रमा प्रशस्तमात्रामा अल्लो उपलब्ध हुने भए तापनि त्यसबाट कसैकसैले डोरी बनाएर गाईबस्तुलाई बाँध्नका लागि प्रयोग गर्थे भने बाँकी ज्ञान सीपको अभावका कारण जङ्गलमै कुहिएर खेर जाने गरेको थियो ।
अहिले स्थानीयस्तरमै अल्लोको डोरी, अल्लोको कपडा र अल्लोको झोलाहरु बनाउने तालिम लिएपछि यहाँका महिलाहरुले तलकोट गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालयका रुपमा दर्ता गरी व्यावसायिकरुपमा अल्लोको धागो र अल्लोको कपडा र अल्लोको अन्य सामान उत्पादन गर्न सुरु गरेका छन् । जिआइजेड र तलकोट गाउँपालिकाले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि उनीहरु व्यवसाय सञ्चालन गर्न अग्रसर भएका हुन् ।पालिकाले आफ्नै मातहतमा उद्योग ग्राम सञ्चालनमा समेत ल्याएको छ ।
उक्त उद्योगग्राममा अल्लोबाट नै गलैंचा, टोपी, खादा जस्ता बस्तु उत्पादन हुने गरेको उद्यम विकास सहजकर्ता सुस्मिता धामीले बताइन् । उद्योमग्राम उत्पादन समूहका अध्यक्ष रमिला शाहीका अनुसार उद्योगग्रामले अहिले सामान्य रुपमा भए पनि आम्दानी गर्न सुरु गरेको छ । उनले भने, ‘अहिले अल्लोको बेर्ना राखेर अल्लो खेती गर्नका लागि समितिका सदस्यहरु लागिपरेका छन् । यस ठाउँमा अल्लो प्रशस्त मात्रामा उत्पादन हुने भएकाले निकट भविष्यमा अल्लोबाट झोला, कोट, पाइन्ट, जुत्तालगायतका सामग्री उत्पादन गरेर अन्य जिल्लामा समेत पठाउने लक्ष्य उद्योम ग्रामले लिएको छ ।’