Trending
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन् । छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रम–२०८० लाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने जनसमुदायका लागि गौरवको विषय समेत रहेको बताएका हुन् ।
शुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्था रहेकोमा थप गर्दै परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेको उनको भनाइ छ । स्वास्थ्यमा सबैको सहज पहुँच पुर्याउन यस प्रकारका कार्यक्रम एक उत्कृष्ट नमुना बन्ने उनले विश्वास व्यक्त गरे ।‘नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सबै नागरिकसम्म पुर्याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी हुँदैनन्, हालसम्म ५ लाख श्रमिकहरु कोषमा आवद्ध भइसकेकाले विदेशमा रहेका नेपाली र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकहरूलाई समावेश हुन अनुरोछ,’ उनले भने ।
‘सबैलाई सामाजिक सुरक्षा’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न मेरै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको शुरुवात गरिएको प्रधानमन्त्री प्रचण्डले बताए । गत चैत्र ८ गते शुरुवात गरिएको उक्त कार्यक्रममा लाखौं श्रमिकहरु सूचिकृत भइसकेको जानकारी पाउँदा थप उत्साहित भएको उनले बताए ।
कोषका अनुसार हाल १८ हजार ४३९ रोजगारदाता र ९ लाख २८ हजार ४५३ योगदानकर्ता कोषमा आबद्ध छन् । जसमा औपचारिकतर्फ ४ लाख ६१ हजार ७९६ जना, वैदेशिक रोजगारीतर्फ ४ लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ ३ जना आबद्ध छन् । यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपैयाँ संकलन भएको छ । कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ७५ लाख र अवकाश दाबी रकम ५ अर्ब ४८ करोड, ९६ लाख रहेको छ । यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको छ ।