मौरिज हर्जोग पदमार्गमार्फत आठ हजार ९१ मिटर अग्लो नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पर्यटक बढेका छन् । समुन्द्री सतहदेखि चार हजार ३०५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्म पुग्ने पदमार्ग सहज भएपछि घुम्ने पर्यटक बढेका हुन् ।

प्रथम आरोही मौरिज हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर तयार भएको पदमार्ग सुरक्षित भएकोले पछिल्लो समय असोज कात्तिकको समयमा अन्नपूर्ण आधार शिविरमा १० हजार भन्दा धेरै पर्यटक पदमार्गमार्फत घुम्न पुगेको अन्नपूर्ण गाउँपालिका– ४, नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताए। उनले केही सहज पूर्वाधार र प्रचारप्रसारले गर्दा पदमार्गमार्फत म्याग्दी लगायत विभिन्न ठाउँबाट दँशै तिहारको अवसरमा विगतभन्दा अत्यधिक पर्यटक बेसक्याम्पमा पुगेको बताए । पोखरा, बेनी, काठमाडौँलगायतका ठाउँबाट टेन्ट, खाने, बस्ने सामान लिएर आधार शिविर पुग्ने गरेका छन् । स्थानीय युवाहरूले पर्यटकलाई घुमाउन लैजाने गरेका छन् ।

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ ठाउँमा आश्रय स्थललगायतका पूर्वाधार निर्माण भएपछि अन्नपूर्ण गाउँपालिकाले जेठमा मौरिज हर्जोज पदमार्ग प्रवद्र्धनका लागि नर्थ अन्नपूर्ण आधार शिविरमा म्याग्दीका पत्रकार र पर्यटन व्यवसायी लगेर विभिन्न कार्यक्रम गरेपछि घुम्ने पर्यटक बढेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतबहादुर पुनल बताए ।

सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा ‘मौरिज हर्जोग पदमार्गको पहिचान गरेका थिए । अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण कार्य सकिएको छ भने ठाउँ ठाउँमा झोलुङ्गे पुल निर्माण भएको छ । पदमार्गअन्तर्गत आधार शिविर, धरमढुङा भुसकेटमेला, गुफाफाँट, संधिखर्क, हुमखोला र छोटेपामा आश्रयस्थल निर्माण भैसकेको छ ।

यस क्षेत्रमा पर्यटक बढेसँगै विभिन्न स्थानमा बासस्थानको सुविधा थप गर्नुपर्ने, खानेपानी, शौचालय, सञ्चार, बिजुलीको सेवा विस्तार गर्नुपर्ने देखिएको पर्यटन व्यवसायी गुरुङले बताए । यहाँको मनमोहक दृश्यमा रमाउन पुग्ने पर्यटक बढेसँगै सुविधा विस्तारमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले हातेमालो गरेर सुविधा विस्तारलाई प्राथमिकता राख्न उनले जोड दिए ।

पदमार्गमा पर्ने फुतफुते झरना यहाँको अर्को मुख्य आकर्षणको रुपमा रहेको छ । बेसक्याम्प वरिपरि अन्नपूर्ण, अन्नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराहशिखर र नीलगिरि साउथ हिमालबाट घेरिएर बनेको आधार शिविरको उपत्यका मनमोहक छ । हिमालको फेदीमा रहेको विशाल पञ्चकुण्ड ताल यहाँको थप आकर्षण मानिन्छ । यस पदमार्गमा पञ्च झरना, रातो झरनासँगै पहाड नै प्वाल परेको देखिने आकासे गुफा समेत पर्यटकले देख्न पाउँछन् ।

हुमखोलादेखि भुस्केटमेला क्षेत्रसम्मको फाँटमा फुल्ने फुच्चे गुराँसका रुपमा परिचित रोडोडेन्ड्रन कोवानियम प्रजातिको गुराँसको फूल पदमार्गको दायाँबायाँ पर्यटकले देख्न पाउँछन्।पदमार्गमा लौठसल्ला, भोजपत्रका हिमाली रुख बिरुवासँगै यार्सागुम्बालगायतका जडीबुटी, नाउर, झारल, मृग, हिउँचितुवा पुच्छर नभएको लिँडे मुसा, डाँफे, मुनाललगायतका वन्यजन्तु र पंक्षीहरुलाई समेत अवलोकन गर्न सकिने स्थानीय पर्यटन व्यवसायी तेज गुरुङ बताए । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट हुमखोलासम्म सवारी साधन र २२ किलोमिटर पैदलयात्रामा सजिलै पुग्न सकिन्छ ।

यस पदमार्गको हुमखोलासम्म सामान्य होटल रहेपनि त्यहाँदेखि आधार शिविरसम्मको क्षेत्रमा कुनै पनि होटल सुविधा छैन । होटल नहुँदा आरोहण र भ्रमणमा जाने पर्यटकले खाना र बसोबासको बन्दोबस्तको सामग्री आफैँ बोकेर जानुपर्ने हुन्छ ।

आइतवार, १० मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे