बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । छ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन् ।

परीक्षणका रुपमा लगाइएको खेती सफल भएपछि अहिले रेशको बौर र तिङरिङ क्षेत्रको ७२ रोपनीमा चियाखेती विस्तार गरिएको छ । पहिले वनमाराले ढोकेका पाखाबारी चिया बगानमा परिणत भएपछि अवलोकन भ्रमणका लागि आउनेको संख्या बढ्न थालेको छ ।

झाडीले उराठिलो वनेको पाखोबारी चियाखेतीले ढाकिपछि किसान निकै हर्षित भएका छन् । अहिले खेतीबाट यहाँका किसानले उत्पादन समेत लिन थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेका हुन् । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको थियो । गत साउन र भदौमा किसनाले चिया टिपे र झण्डै तीन लाखको बिक्री समेत गरेका छन्’, उनले भने, ‘सुरुवाती चरणमै राम्रो उत्पादन भएपछि किसानामा गाउँमै रोजगार बन्ने र आम्दानी गर्न सकिने आशा पलाएको छ । बजार झर्ने त झरिसके गाउँमा रहेकालाई अब यही बस्न चियाबारीले प्रेरित गरेको छ ।’

यहाँ थप एक लाख चियाको बिरुवा थप्ने योजना रहेको स्थानीयवासीको भनाइ छ । चियाको बजारमा बढ्दो माग हुँदा माग अनुसार उत्पादन गर्न नसकिएको किसान बताउँछन् । यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने अपेक्षा स्थानीयवासीको छ ।

अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका छन् । गाउँमा रोजगार सिर्जना गर्न र बसाइँसराइ रोक्नका लागि छ वर्ष अगाडि सुरु गरिएको चिया खेतीले अहिले उत्पादन दिन थालेको लामिछानेले बताए । यसवर्ष पनि चिया खेतीको क्षेत्र विस्तार गर्ने योजना रहेको उनले बताए । गाउँको पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष लामिछानेल जानकारी दिए । चिया खेतीमा करिब दुई सय घरपरिवार आवद्ध रहेकाले आम्दानी सबैले पाउने उनको भनाइ थियो ।

चिया खेतीबाट वार्षिक रू ३० लाख आम्दानी गर्ने अनुमान गरेको लामिछानेले बताए । ‘यहाँ खेती गर्न थालेको धेरै वर्ष भएको छैन, तर उत्पादन दिन थालेको छ । गत साउन र भदौमा पहिलो पटक चिया टिपेर रू तीन लाखको बिक्री पनि गरियो । चिया कसरी टिप्ने भन्ने विधि बल्ल आउँदैछ’, उनले भने, ‘पछिल्लो समय धेरै गाउँ छोडेर बजार झरिरहेका छन् । उनीहरुलाई गाउँमै रोक्नका लागि हामीले खेतीयोग्य जमिनको उपयोग गरी रोजगार सिर्जना गर्न चियाखेती थालेका हौँ ।’ अहिले धेरै स्थानीयवासीले चासो दिएका भन्दै उनले यस वर्ष एक लाख बिरुवा थप्ने योजना रहेको वडाध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार चियाखेती विस्तारमा साना किसान सहकारी संस्था आवद्ध भएर काम गरिरहेका छन् ।

यहाँ चियाखेती विस्तार गर्दा हालसम्म करिब रू ४२ लाख खर्च भइसकेको साना किसान सहकारी संस्थाका पूर्वअध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए । गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको उनको भनाइ छ । कार्कीले चिया प्रशोधन गर्नका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताए । उनले खुल्ला पाखोबारीमा चियाका बिरुवा लगाइएकाले पशुचौपायाबाट जोगाउन गाह्रो भएको भन्दै संरक्षणका लागि बारबन्देज गर्नुपर्नेमा जोड दिए । यहाँको हावापानी राम्रो भएकाले अहिले बिरुवा सप्रिँदै गएको उनको भनाइ छ ।

‘बिरुवा लिएर लगाउने बेला गाउँमा धेरैले चासो देखाएका थिएनन् । अहिले चिया बारीमा पुग्दा ठूलै बगानमा पुगे जस्तो लाग्छ । सुरुमा बिरुवा हुर्काउन केही समस्या भएको थियो’, कार्कीले भने, ‘यहाँबाट आम्दानी हुन थालेको छ । गाउँका सबै स्थानीयवासी जोडिनु भएको छ । अब कुनै पनि बाँझो जमिन खाली नराख्ने योजना छ ।’

समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले रेशमा परीक्षणका लागि खेती गरिएको भन्दै यहाँ सफल हुने सम्भावना देखिएको बताए । यहाँ राम्रो उत्पादन हुन थालेमा जिल्लाका अन्य ठाउँमा पनि चिया खेती विस्तार गर्ने उनको भनाइ छ । कृषि ज्ञान केन्द्रमार्फत रेशमा चार वर्षसम्म करिब ५० लाख बढी सहयोग गरिएको मगरले बताए । अहिले जिल्लाभर १० हेक्टर बढी क्षेत्रफलमा चिया खेती गरिँदै आएको उनले जानकारी दिए ।

आइतवार, १० मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा