जाजरकोट- प्रदेश राजधानी रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ झुप्रा खोला किनारका वादी समुदायले ३६ वर्षदेखि दसैँको अनुभूति गर्न पाएका छैनन् । विसं २०४४ देखि झुप्रा खोलाको बालुवा चाल्दै जीविकोपार्जन गरिरहेका वादी समुदायका लागि दसैँ, तिहारजस्ता चाडपर्व आएको अनुभूति हुन छाडेको छ ।

देशमा धेरै राजनीतिक व्यवस्था परिवर्तन भए पनि वादी समुदायको दैनिकीमा भनेपरिवर्तन आउन सकेको छैन । झुप्रा खोला किनारमा असुरक्षित घरमा झण्डै एक सय ५० घरधुरी बसोबास गर्दै आएका छन् ।

उन्नाइस वर्षको उमेरमा भेरी नदीमा पक्की पुल निर्माण हुन लागेकाले पुलमा मजदुरी गर्न आएकी थिईन् लालपरा वादी । अहिले उनी ५५ वर्षकी पुगीन । उतिबेला उनी पुलका लागि गिटी कुट्ने र बालुवा चाल्ने काममा लागेकी थिईन्। पुलको काम भइरहँदा रोजगारी पाइरहेकी लालपराको परिवार पुल निर्माण सम्पन्न भएपछि नजिकै रहेको खोला किनारमा बस्न थाल्यो ।

खोला किनारमा सरेपछि उनले समुदायका अन्यले जस्तै खोलाबाट बालुवा निकाल्ने र गिटी कुट्न थालिन । “उतिबेला खोलाबाट बालुवा निकाल्न डोजर प्रयोग हुँदैन थियो । यसको विकल्प भनेकै हामी थियौँ”, लालपराले भनिन् । प्रशस्त बालुवासँगै मूल्य पनि राम्रै पाइने भएकाले जीविकोपार्जन गर्न खासै समस्या नहुने गरेको उनको भनाइ थियो । पछिल्लो समय नदी र खोलाजन्य सामग्रीको उत्खनन् मेसिनबाट हुन थालेपछि छाक टार्न धौधौ पर्न थालेको लालपराले गुनासो गरिन् ।

वीरेन्द्रनगर नगरपालिकाले असार, साउन र भदौमा नदी तथा खोलाजन्य सामग्री निकासीमा रोक लगाउँदै आएको छ । यो तीन महिनाको अवधिमा अन्य ज्याला मजदुरीबाट छाक टार्दै आएको बताउँदै उनले यसबाट दसैँ खर्च गर्न नसकिने स्थानीय हिरा वादीले बताए ।

राज्यले वादी समुदायका लागि कुनै योजना नबनाउँदा सदियौँदेखि आफूहरूले अन्य नागरिकसरह ढुक्कको जिन्दगी जिउन नसकेको कर्णाली प्रदेश वादी समुदाय उत्थान विकास समितिका वरिष्ठ उपाध्यक्ष छविलाल वादीले गुनासो गरे । “बस्तीमा खानेपानीको उचित प्रबन्ध छैन । खोलाको पानी सोझै पिउनाले पानीजन्य रोगको जोखिम छ । वीरेन्द्रनगरलगायतका बजारमा आश्रित यो समुदाय स्वास्थ्य, शिक्षालगायत आधारभूत अधिकारबाट समेत वञ्चित छन्”, उनले भने

तीन वर्षअघि वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको जनाउँदै छविलालले वादी समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम अगाडि बढाइने उक्त सहमतिमा उल्लेख भएको बताए । उक्त सम्झौता अहिलेसम्म कार्यान्वयनमा नआएको उनको भनाइ थियो ।

“विसं २०७७ फागुनमा कर्णालीका विभिन्न जिल्लाबाट आएका वादी समुदायका नागरिकले मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म धर्नामा बसेपछि प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको थियो । सहमतिपछि आन्दोलन फिर्ता भए पनि कार्यान्वयन अहिलेसम्म भएको छैन”, छविलालले भने । उनका अनुसार सहमतिको दोस्रो बुँदामा वादी समुदायको उत्थान र विकासका लागि यथार्थ प्रतिवेदन दुई महिनाभित्र प्रदेश सरकारलाई बुझाउनुपर्ने कार्यादेशसहित समिति गठन गर्ने उल्लेख गरिएको थियो ।

सोहीअनुसार मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुको संयोजकत्वमा सहमति कार्यान्वयन समिति गठन भएको थियो । सो समितिले स्थलगत अनुगमनका आधारमा तयार पारेको अध्ययन प्रतिवेदन तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुझाएको थियो ।

“सहमति भएको दुई वर्ष बितिसक्दा पनि प्रतिवेदन तयारबाहेक प्रदेश सरकारले कुनै सुरसार गरेको छैन । सहमतिअनुसार सरकारले वादी समुदायलक्षित विशेष कार्यक्रम सञ्चालन, सरकारको वार्षिक नीति तथा कार्यक्रममा यस समुदायको शिक्षा, स्वास्थ्य रोजगार, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गरी सीपमूलक तालिम र आयआर्जनका कार्यक्रम सञ्चालन र घुम्तीकोष खडा गरी अधिकतम १० लाखसम्मको ऋण ब्याज अनुदान उपलब्ध गराउनुपर्ने थियो”, छविलालले भने ।

सहमति कार्यान्वयन समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द थारुले आफूहरूले तयार पारेको प्रतिवेदनबाट सिफारिस गरिएका कार्ययोजना कार्यान्वयनको चरणमा गएको बताए । वादी समुदायका समस्या समाधानका लागि सङ्घ र स्थानीय तहले धेरै काम गर्नुपर्ने भन्दै उनले मन्त्रालयसँग आवश्यक समन्वयको काम गरिरहेको जानकारी दिए ।

प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयमार्फत सिमान्तकृत समुदायका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको उल्लेख गर्दै सचिव थारुले वादी विद्यार्थीका लागि छात्राबास निर्माणलगायतका काम सुरु भएको जानकारी दिए ।

 

शुक्रबार, ३ कार्तिक, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे