मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सकिएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो चार केभी सबस्टेसन निर्माण सम्पन्न गरी सोमबार साँझ चार्ज गरिएको हो ।
मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०÷१३२÷३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००-२२० केभी इनरुवा सबस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । जसको क्षमता नौ सय ४५ एमभिए छ । इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले निर्माणाधिन सवस्टेशन तथा प्रसारण लाइन निर्माणलाई तीव्रता दिन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले प्रसारण लाइनको अभावमा उत्पादित बिजुली खेर जाने अवस्था आउन नदिन सबै उपाय अबलम्बन गर्न समेत निर्देशन दिनुभए अनुसार सवस्टेशन निर्माण सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ ।