स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ । सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिकरुपमा गँड्यौलापालन थालेको हो ।

सहकारीले गाउँका कृषकलाई पनि गँड्यौलापालनमा प्रेरित गरी अभियानमा सहभागी गराउँदै आएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताए । वालिङ बजारमा रहेको खेलमैदान नजिकैको जग्गा भाडामा लिएर गँड्यौलाको मल व्यावसायिकरुपमा उत्पादन गर्न थालिएको उनले बताए ।

“गाउँगाउँमा किसानलाई निःशुल्क गँड्यौलाका साथै गँड्यौला पाल्नका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएका छौँ”, अध्यक्ष गुरुङले भने, “तालिमपश्चात् सिकेको सीपलाई सदुपयोग गर्दै अहिले गाउँगाउँमा गँड्यौलापालन भइरहेको छ ।”

सहकारीले प्लान्टबाट उत्पादन भएको गँड्यौला र मल दैनिक स्थानीय कृषि हाटबजारमा बिक्री गर्दै आइरहेको छ । सहकारीले आफूले उत्पादन गरेको मलका साथै किसानले उत्पादन गरेको गँड्यौलाको मल खरिद गर्ने र प्रशोधन गरी बजारीकरण गर्दै आइरहेको उनले बताए । गुरुङका अनुसार सहकारीमार्फत किसानलाई निःशुल्क गँड्यौला, गँड्यौला पाल्ने भाँडो तथा आवश्यक तालिम दिएपछि व्यवसायिक गँड्यौलापालनतर्फ किसानको आकर्षण बढेको हो ।

सहकारीले किसानसँग प्रतिकेजी रू २० मा खरिद गरेर प्रशोधन गरी प्रतिकेजी रू ३५ मा बिक्री गरिरहेको सहकारीका उपाध्यक्ष एवं गँड्यौला मल प्रवर्द्धन कार्यक्रमका संयोजक नेत्रप्रसाद सुवेदीले बताए । जैविक मलको तुलनामा बिरुवालाई हुर्कन, बढ्न र आफ्नो जीवनचक्र पूरा गर्नका लागि नभई नहुने १६ किसिमका तत्वहरु यस मलमा पाइने उनले दाबी गरे ।

नगरपालिकाले रू २० लाख र सहकारीले रू १० लाख लगानी गरी गँड्यौला पाल्नका लागि प्लान्ट निर्माण गरिएको सुवेदीले जानकारी दिए । “सुरुका दिनमा नयाँ भएकाले पनि केही किसानले मात्र गँड्यौलापालन गर्नुभयो”, उनले भने, “अहिले प्लान्ट स्थापना गरी ठूलो परिमाणमा गँड्यौला तथा मल उत्पादन गरेसँगै अन्य किसान पनि आकर्षित हुँदै जानुभएको छ ।” उनका अनुसार प्लान्टका बारेमा बुझ्न तथा अवलोकन गर्न धेरै सङ्घसंस्था तथा व्यक्तिहरु आउने गरेका छन् ।

गँड्यौलाको मललाई रासायनिक मलको विकल्पका रुपमा प्रयोग गर्न थालिएकाले बजारमा यसको माग अत्यधिक रहेको सहकारीले जनाएको छ । किसानले उत्पादन गरेको मल सहकारीमार्फत नै बिक्री हुने गरेकाले बजारीकरणको समस्या नभएको किसानहरु बताउँछन् ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), दियालो संस्थाको आर्थिक सहयोग तथा सहकारीद्वारा सञ्चालित ‘हरित पुनः उत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत वालिङका १४ वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको सहकारीका प्रबन्धक खेमराज लामिछानेले बताए । खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै लगिने भन्दै सहकारीले गँड्यौलाको मल प्रवर्द्धनात्मक अभियानसँगै रैथाने बाली संरक्षणका लागि काम गर्दै आएको उनले जानकारी दिए । रासस

 

सोमवार, २९ अशोज, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !