कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ ।​ बिहीबार सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो । अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।

त्यस्तै, कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले बताए । उनले अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरेको बताए । उनका अनुसार पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको छ । कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता सङ्ख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।

निर्देशक कार्कीले राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार नेपालमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार रहेको जिकिर गरे । उनले २०६८ को गणनामा भैँसीको संख्या ३१ लाख ७४ हजार रहेकोमा १० वर्षमा राँगा र भैँसीको संख्या २ लाख ५१ हजारले घटेको बताए । उनले राँगा र भैँसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आए पनि उन्नत राँगा भैँसी भने १२ प्रतिशतले बढ्न गएको उल्लेख गरे ।

२०६८ सालमा राँगा र भैँसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजार रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या २ लाख ५२ हजारले घटेर १४ लाख १७ हजारमा सीमित भएको उल्लेख गरे । उनले ६३ लाख रहेका गाईगोरु पनि पछिल्लो १० वर्षमा घटेर ४६ लाख पुगेको बताए ।

पछिल्लो १० वर्षमा गाई गोरु, राँगा र भैँसी घटेपनि बाख्रा र च्याङ्गा भने १ करोड १० लाखबाट बढेर १ करोड ४२ लाख पुगेको उनले बताए । उनले सुँगुर र बँगुर पनि ८ लाखबाट बढेर १४ लाख पुगेको बताए । उनले गाईको संख्या घटेपनि उन्नत गाईको संख्या भने ४२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै, कृषकहरूले उत्पादन गरेको ७० प्रतिशत वस्तु घरपरिवारमा नै खपत गर्नु परेको कार्कीको भनाइ छ । उनले कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेको उल्लेख गरे । उनले नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशत मात्रै रहेको बताए । कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

यस्तै कृषि गणना २०७८ अनुसार नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ । कृषि ऋण लिनेहरू २०६८ मा २२ प्रतिशत रहेको थियो । कृषि गणना २०७८ अनुसार कृषकहरूको कृषि ऋणमा चासो नदेखाएको देखिएको कार्कीले जानकारी दिए । उनले कृषि बिमा गर्ने कृषकहरूमा ४ प्रतिशत मात्रै रहेको बताए ।

कार्कीले सरकारी अनुदानमा लिने कृषकहरूको संख्या ७ प्रतिशत मात्रै रहेको र ९३ प्रतिशत किसानहरू सरकारी अनुदानमा बेखबर रहेको उल्लेख गरे । कृषि गणना अनुसार मुख्य कृषक पुरुष हुने क्रम बिस्तारै घट्दै गएको छ । २०७८ को कृषि गणना अनुसार मुख्य कृषक महिला ३२ प्रतिशत रहेको छ । कार्कीले कृषक परिवारले १२,०९,२६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको बताए । उनले कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ । तर, अघिल्लो कृषि गणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । गणनाका अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषि गणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो ।

नेपालका करिब ४० लाख परिवार खेतिपातीमा आबद्ध भएको पाइएको छ । कृषि गणनाअनुसार ३९ लाख ९९ हजार परिवारले खेतिपाती गरेको र एक लाख ३२ हजारले पशुपन्क्षी पालन गरेको पाइएको छ । छैटौं गणना २०६८ मा ३७ लाख १६ हजार परिवारले खेतिपाती गरेको र एक लाख १६ हजारले पशुपन्क्षी मात्रै पालेका थिए । अहिले यो परिवार संख्या बढेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषि योग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषि योग्य जमिन छ ।

कृषि गणना अनुसार कृषक परिवारको संख्या बढे पनि कृषि योग्य जमिन भने घट्दै गएको देखिएको छ । हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषि योग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ । अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषि गणनाले देखाएको छ । कृषि गणना २०६८ मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भए पनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ । कृषि गणना २०७८ ले नेपालमा कृषि कार्यका लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको देखाएको छ ।

कृषि गणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषि कार्यका लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषि गणना २०७८ ले यो सङ्ख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो । पछिल्लो १० वर्षको अवधिमा ४ लाख ७१ हजार २६० कृषक परिवारले कृषि कार्यका लागि पावर ट्रिलर प्रयोग गरेको र १ लाख १७ हजार ९९१ वटा पावर ट्रिलर सञ्चालनमा रहेको देखिन्छ । २०६८ र २०७८ दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएको छ ।

बिहिबार, २१ भदौ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !