संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग स्थानीयले बन्द गरेका छन् । अरुण तेस्रो प्रवेशमार्ग अन्तर्गत खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडामा भेला भइ स्थानीय जग्गाधनीहरुले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका हुन् । पटक÷पटकको मागलाई बेवास्ता गरेकाले सडकमा नै उत्रिनुपरेको स्थानीयहरु बताउँछन् ।
‘राष्ट्रिय गौरवको आयोजनाले स्थानीयलाई सुकुम्बासी बनाउन पाइँदैन, सरकार कहाँ छौ—हामी पालमुनिको बासमा छौँ’ लगायतका नारा लेखिएको ब्यानर टाँगेर सडक बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत् गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै अनिश्चितकालीन रुपमा सडक बन्द गरिएको जग्गाधनीहरु भनाइ छ । मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेको अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताए । उनले सरकारसँग पटक÷पटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले मुआब्जा रकम वितरण नहुन्जेलसम्म प्रवेशमार्ग बन्द गरिने बताए ।
गएको वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी ११ लाख ७५ हजार रुपैया दिने निर्णय गरेको थियो । पहिलो चरणमा चार सय ५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीको लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । तर, सरकारले जनतालाई रकम चाहिँ बाँडेको छैन । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । आयोजनाको हालसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
लामो समय सम्म मुआब्जापीडतलाई झुलाउदै आएपछि उनीहरुले गत शनिबारदेखि आन्दोलन र प्रदर्शन गर्दे आएकाछन् । संघर्ष समितिका संयोजक जनीकुमार राईले चारदिनसम्म लगतार बिरोध प्रदर्शन गरी रहेको र माग सम्बोधन नभएसम्म आन्दोलन चर्काउने चेतावनी दिएकाछन् ।