नेपाल स्थित चिनीयाँ दुतावासले पर्यटन व्यवसायीका लागि सञ्चालन गरिएको ६ महिने चिनीयाँ भाषा तालिम सम्पन्न भएको छ । चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले भाषा तालिम लिएका पर्यटन व्यवसायीलाई प्रमाण पत्र हस्तान्तरण गरे । छ महिनाको तालिमले भाषासँगै चिनीयाँ कला संस्कृतिका बारेमा समेत जानकारी आदान प्रदान भएको वाङको भनाई थियो ।
उनले पर्यटन बोर्डसंगको सहकार्यमा हालै पोखरामा आयोजित ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ सम्पन्न भएको र त्यसबाट नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको बताउँदै आउने दिनमा पनि सहकार्य गर्ने बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार भएको उल्लेख गर्दै यस प्रकारका तालिमले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने बताए ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणी सुवेदीले नेपाल र चीन बीच लामो समय देखि राजनीतिक,आर्थिक तथा सांस्कतिक सम्बन्ध रही आएको उल्लेख गर्दै यो तालिमले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुनुको साथै जनस्तरको सम्बन्धलाई समेत प्रगाढ गर्ने बताए ।
सचिव सुवेदीले मन्त्रालयले पोखरा र भैरहवामा पनि चिनीयाँ भाषा तालिम संचालन गर्न लागिएको जानकारी दिँदै दुतावासबाट सहयोगका लागि आग्रह गरेका थिए । तालिम समापनका अवसरमा सहभागीहरुले विभिन्न चिनीयाँ नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।