आन्तरिक राजस्व कार्यालय लामो समयदेखि कर नबुझाउने करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने बिभिन्न कम्पनी र संघसंस्थाको बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए । प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९–८० मा रु १४ करोड ३९ लाख बक्यौता संकलन गरिएको छ । पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ”, प्रमुख कर अधिकृत तिवारीले भने, त्यही करमा हामीले करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।” सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ थियो ।
नियमित बजार अनुगमन थालेपछि आव २०७९–८० मा करदातासमेत बढ्ेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । आव २०७९÷८० मा पर्सामा व्यावसायिकतर्फको करदाता दुई हजार सात सय ५० र व्यक्तिगत १० हजार दुई सय २५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताए । सो अवधिमा अन्तशूल्कतर्फ रु तीन अर्ब, आयकरतर्फ रु तीन अर्ब, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब ७४ करोड, ब्याजकरतर्फ रु चार करोड र घरबहाल करतर्फ रु पाँच करोड राजस्व सङ्कलन भएको उनले बताए। सो कार्यालयले गत आर्थिक बर्ष २०७८–७९ मा आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार रुपैयाराजस्व संकलन गरेको थियो ।
बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु, तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायतका कारणले राजस्व संलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ ।