पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसार र पूर्वाधार अभावमा म्याग्दी र बागलुङको सिमानामा पर्ने गाम्फाधुरी ओझेलमा परेको छ । समुन्द्रि सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित गाम्फाधुरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्य हो ।
मंगला गाउँपालिकाको वडानम्वर ४ स्थित बंरजा बुकेनीबाट चारघण्टाको पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ‘गाम्फाधुरी’ सडक, पदमार्ग, लगायत पूर्वाधारको अभावले ओझेलमा परेको बुकेनीका युवा डिवि रोका मगरले बताउँछन् ।‘ रमणियस्थल यस क्षेत्रमा पर्यटन विकासका पूर्वाधार तयारीमा तीन तहका सरकारले ध्यान नदिदाँ पर्यटन प्रवर्द्धन हुन सकेको छैन । यहाँबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण लगायतका हिमालहरु हेर्न सकिन्छ ।
हिमशृंखलासँगै म्याग्दी र बागलुङको दर्जनौ ग्रामिण वस्ति र पहाडी भू–भाग अवलोकन गर्न पाइन्छ, प्राचिनकालमा प्रभु बसेको घरका भग्नासेस, प्रभुले पानी खाने ढुंगाको कुवा लगायतका प्राचिन कला यहाँ भेटिन्छ । बुकेनी र धापुङका स्थानीय मिलेर बेलाबेलामा घुम्न, पिकनिक खान गएपनि पूर्वाधार अभावले पर्यटकको आगमन बढ्न सकेको छैन ।
पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, सडक नपुग्नु, प्रचारप्रसारको कमीले यस क्षेत्र ओझेलमा परेको स्थानीय रोकामगरको भनाइ छ । ‘पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन’ उनले भने, ‘यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ ।’
मंगला गाउँपालिका वडानम्वर ४ का वडाअध्यक्ष लालबहादुर रोकाले गाउँपालिकाको अग्लोे पर्यटन स्थलको रूपमा चिनिएको गाम्फाधुरीको पर्यटन विकासका लागि स्थानीय युवाले पूर्वाधार निर्माण बजेट विनियोज गर्न आग्रह गरेको उल्लेख गरे । यस क्षेत्रको पर्यटन विकास लागि गुरुयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सडक, पुराना सम्पदाको संरक्षणको काम गर्नुपर्ने उनको भनाइ छ ।