सल्यानबाट एक वर्षमा झन्डै १० लाख किलो जडिबुटी निकासी भएको छ। राष्ट्रिय वन र निजी आवादीमा उत्पादन भएको ९ लाख ८७ हजार ९७ किलो जडिबुटी निकासी भएको छ।
राष्ट्रिय वनबाट संकलन भएको ४ लाख ४१ हजार १०५ किलो र निजी आवादीबाट संकलन भएको ५ लाख ४५ हजार ९९२ किलो जडिबुटी जिल्लाबाहिर निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।
आर्थिक वर्ष ०७९/८० मा सल्यानबाट निजी आवादी तथा राष्ट्रिय वनबाट विभिन्न प्रजातिका जडिबुटी संकलन गरी निर्यात गर्दा २२ लाख ४८ हजार ५० रूपैयाँ राजस्व प्राप्त भएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी विजय पुलामीले जानकारी दिए।
जिल्लाबाट सबैभन्दा बढी रिठ्ठो निकासी भएको छ। राष्ट्रिय वनबाट २ लाख ५० हजार किलो र निजी आवादीबाट ३ लाख ६० हजार ३०० किलो गरेर ६ लाख १० हजार ३०० किलो निर्यात भएको सूचना अधिकारी पुलामीले बताए।
गत वर्ष सल्यानको राष्ट्रिय वनबाट टिमुर ९१ हजार किलो र निजी आवादीबाट १ लाख ५५ हजार २७ किलो निकासी भएको छ भने तेजपात राष्ट्रिय वनबाट ८५ हजार किलो र निजी आवादीबाट ३० हजार ६६५ किलो निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
जिल्लाबाट घोडताप्रे, तिगेडी, अमला, चुथ्राको डाँठ र बोक्रा, काउलोको बोक्रा, गोकुलधुप, पाखनवेदलगायत जडिबुटी संकलन र निकासी हुने गरेको छ।
आव ०७८/७९ मा जिल्लाबाट ६ लाख ७५ हजार ८९ किलो जडिबुटी निकासी भएको थियो भने आव ०७७/७८ मा ७ लाख ७५ हजार १७४ किलो र आव ०७६/७७ मा ६ लाख ३१ हजार ८०० किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका, शारदा, बनगाड कुपिण्डे नगरपालिका लगायतका क्षेत्रबाट सबैभन्दा बढी टिमुर संकलन र निकासी हुने गरेको छ भने त्रिवेणी, छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिकाबाट रिठ्ठो संकलन हुने गरेको छ।
बनगाड कुपिण्डे नगरपालिका, कुमाख, दार्मा लगायतका क्षेत्रबाट चुथ्राको बोक्रा र कालिमाटी, त्रिवेणी, कपुरकोट गाउँपालिका क्षेत्रबाट तेजपात संकलन हुने गरेको कार्यालयले जनाएको छ।