Trending
आर्थिक वर्ष ०७९/८० मा ७१ हजार ७ सय ७ विदेशी पर्यटकले मुस्ताङ जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गरेका छन् । स्मरण रहोस्, आर्थिक ०७८/७९ मा चाहिँ ३८ हजार ८ सय ९६ विदेशी पर्यटकले मात्रै मुस्ताङ जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गरेको तथ्यांक छ । आव ०७८/७९ मा समग्र मुस्ताङ जिल्लामा भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा आव २०७९/०८० मा ४५.७५ प्रतिशतले तथ्यांकगत रूपमा बढी रहेको देखिन्छ ।
अब लागौं, सन् २०२३ मा विश्वका उत्कृष्ट स्थानमा परेका २३ स्थानका सम्बन्धमा जानकारी लिनेतर्पm । विश्वको पहिलो गन्तव्यस्थलमा परेको स्थानचाहिँ अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा पर्ने निगालु पेनिन्सुला हो । त्यस्तै सन् २०२३ मा विश्वमा घुम्नैपर्ने दोस्रो गन्तव्यस्थलमा पूर्वी युरोपमा पर्ने पोल्यान्डको राजधानी वार्सास्थित बुटिक होटेल हो, जुन होटलको नाम ‘होटल भर्टे’ हो । स्मरणीय छ, पोल्यान्डको सो होटलको ढोका ‘गिल्डेड’ अर्थात् सुनको छ भने सो होटल गत अगस्ट, २०२२ मा खोलिएको नयाँ भएको जनाइएको छ । जुन होटल ‘अटोग्राफ प्रपर्टी’का रूपमा पनि रहेको छ ।
त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने तेस्रो गन्तव्यस्थलमा इंग्ल्यान्डको लिभरपुल रहेको छ भने चौथो गन्तव्यस्थलमा अमेरिकाको साउथ क्यारोलिना राज्यको सार्लेटान–चार्लेटोन सहर परेको छ । सन् २०२३ मा घुम्नैपर्ने पाँचौं गन्तव्यस्थलमा चाहिँ लिथुआनियाको राजधानी भिलनिअस–बिनियुस परेको छ । उता छैटौं गन्तव्यस्थलमा सयौं साना–ठूला समुद्री टापु रहेको सानो देश फिजी परेको छ भने सातौं गन्तव्यस्थलमा ब्राजिलको अमेजन क्षेत्रमा पर्ने मानाउस परेको छ ।
त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने आठौं गन्तव्यस्थलमा ग्रिसको दोस्रो ठूलो सहर थेसालोनिकी–देसालोनिकी परेको छ । उता नवौं गन्तव्यस्थलचाहिँ अफ्रिका महादेशको रुवान्डाको एक होटल सेक्सानसियो रुवान्डा परेको छ, जुन होटल अफ्रिका महादेशकै ठूलो ताल किभु–किवुमा अवस्थित छ भने १० औं गन्तव्यस्थलमा स्वीडेनको दोस्रो ठूलो सहर गोथेनबर्ग परेको छ । त्यस्तै गरेर ११ औं गन्तव्यस्थलमा युनाइटेड अरब इमिरेट्स (युएई) को रस अल–कैमाह परेको छ ।
यसरी हेर्दा सिएनएनले प्रकाशित गरेको सन् २०२३ मा घुम्नैपर्ने सूचीको १२ औं गन्तव्यस्थलमा एसिया महादेशको लाओस परेको छ । त्यसैगरी १३ औं गन्तव्यस्थलमा स्विटजरल्यान्डको ग्रुयेँरेस–गु्रइएरेस परेको छ । जुन ठाउँ विश्वको उत्कृष्ट चिज उत्पादन हुने क्षेत्र पनि हो भने १४ औं गन्तव्यस्थलमा अमेरिकाकै मिनोसेटा राज्यको मिनिअपोलिसस्थित एक आदिवासी रेस्टुरेन्ट परेको छ ।
स्मरणीय के छ भने सो रेस्टुरेन्टमा आदिवासीका परिकारहरू मात्रै उपलब्ध गराइन्छ । उता १५ औं गन्तव्यस्थलचाहिँ दक्षिण अमेरिकी देश कोलम्बियाको राजधानी बोगोटा परेको छ । त्यस्तै, सन् २०२३ मा घुम्नैपर्ने १६ औं गन्तव्यस्थलचाहिँ हाम्रै देश नेपालको ‘मुस्ताङ’ परेको छ भने १७ औं गन्तव्यस्थलमा अफ्रिका महादेशस्थित तान्जानिया परेको छ ।
त्यस्तै गरेर १८ औं गन्तव्यस्थल इजिप्टको राजधानी कायरो परेको छ भने विश्वमा घुम्नैपर्ने १९ औं गन्तव्यस्थलमा जापानको नओसिमा सहर परेको छ र २० औं गन्तव्यस्थलमा बेलिज परेको छ । त्यस्तै गरेर २१ औं गन्तव्यस्थलमा उत्तर अमेरिकी महादेशको मेक्सिोकोको ओक्साका सहर परेको छ भने २२ औं गन्तव्यस्थलमा क्यानाडाको ओटावा सहर परेको छ । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने गन्तव्यस्थलको २३ औं स्थानमा अफ्रिका महादेशको युगान्डा परेको छ ।
यसरी सन् २०२३ मा घुनैपर्ने गन्तव्यस्थलमा नेपालको मुस्ताङ पर्नुमा चाहिँ कागबेनी, मुक्तिनाथ चराङ, समर, घमी, छुसाङ, छोसेरजस्ता प्राचीन बस्तीहरू रहनु पनि हो । त्यस्तै माथिल्लो मुस्ताङलाई ल्हो मन्थाङ, लो मन्थाङ, फोरबिड्डन किङ्डोम, हिडेन किङ्डोम, मड सिटी, लस्ट किङ्डोम, अप्पर मुस्ताङ, प्याराडाइज मुस्ताङ आदि नामले पनि चिनिन्छ । नेपालका अन्य केही हिमाली क्षेत्रझैं निषेधित क्षेत्र घोषणा गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि खुला भएपछि पहिलो वर्ष सन् १९९२ मा ४ सय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए ।
त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । अर्थात् उक्त वर्ष १ हजार ६६ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । तर दुर्भाग्य, यो क्रम लामो समयसम्म जारी रहन सकेन । सन् १९९९ मा १ हजार ५७ जनाले भ्रमण गरे । त्यसपछि देशमा चलेको हिंसा/प्रतिहिंसा (सरकार–तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुनः माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या तीन अंकमा झर्यो ।
यो क्रम सन् २००६ सम्म जारी रह्यो । ०६२/६३ को परिवर्तनपछि देशमा छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १ हजार १ सय ५७ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीयवासीहरू नै आश्चर्यचकित हुने गरी विदेशी पर्यटकहरू माथिल्लो मुस्ताङको भ्रमणमा आए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २ हजार १ सय ९४ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरे ।
भौगोलिक बनावटका हिसाबले हेर्दा चीनको स्वशासित क्षेत्र तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तैउस्तै छ । त्यतिमात्रै होइन, उनीहरूको धर्म, भाषा, वेशभूषा, चालचलन, रहनसहन, संस्कार, संस्कृति, रीतिरिवाज, लवाइखवाइ, परम्परागत कानुन आदि पनि मिल्दोजुल्दो छ । त्यस्तै गरेर पशुपालन गर्ने तरिका उही छ । अझ तिब्बतभन्दा पृथक् पहिचान के छ भने माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरू पनि प्रशस्तै रहेका छन् । जहाँ प्राचीन समयमा मानव बस्ती रहेको थियो ।
अरू क्षेत्र हेरी माथिल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकका लागि राजस्व दर महँगो भएकाले सबै खालका विदेशी पर्यटक माथिल्लो मुस्ताङ भ्रमणमा जान सक्दैनन् । मुस्ताङमा रहेका प्राचीन गुफाहरू रहेका जो छन्, ती गुफा मुस्ताङवासीका लागि मात्रै नभएर सिंगो पर्यटन उद्योग र पर्यटन व्यवसायमा आश्रित व्यवसायीहरूका लागि पनि गर्व गर्न लायक स्मारक–बहुमूल्य नीधि हो ।