जता हेर्यो उतै हरिया फाँटहरू र ती फाँटहरूमाथि थपक्कै बसेका थुम्काहरू । पर्सियन कार्पेट ओछ्याएझैँ थरीथरी फूलहरू र ती फूलहरूमाथि झुम्मिरहेका रङ्गीबिरङ्गी पुतलीहरू । चारैतिर कलमी गरेझैँ लाग्ने घना जङ्गल र जङ्गलभित्र नौरङका लालीगुराँस । अनि, सुगन्धित जडीबुटी र हरिया घाँसे मैदान ।

डोटी, अछाम, बझाङ र बाजुराको सङ्गम खप्तड पुग्नेहरू हत्तपत्त घर फर्कन मान्दैनन् । त्यही हरियो पाटनमा लडीबुडी खेलिरहुँझैँ लाग्छ । छिनमै वर्षात् र छिनमै हिउँ । केहीबेरमै मान्छे उडाउँलाझैँ हावाहुरी त केहीबेरमै छिप्पिँदो घाम ।

अलि लम्किँदा छोइएलाझैँ लाग्ने हँसमुख हिमालहरू । खप्तड बाबाको कुटीको ठीक पछाडि उभिरहेझैँ देखिने अपि र सैपाल हरदम हाँसिरहेझैँ लाग्छ । खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण–क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ ।

खप्तडमा न्यूनतम पूर्वाधारको समेत विकास हुन सकेको छैन । यसैले, पर्यटकहरू कमै पुग्छन् । तर, खप्तडको विशेषता नै यसको दुरुह भूचित्र हो । यो अनकन्टार ठाउँमा छ, यसैले मानवीय क्रियाकलापबाट पनि अक्षुण्ण प्रायः छ । लाग्छ–यहाँ मानव द्वेष, लालच र भोकको कणहरू समेत छैनन् ।

प्राकृतिक नागढुङ्गा, केदारढुङ्गा, पुराना मठ–मन्दिर, बागबुट्टे निगालो, पाँचऔँले, बझाङी पादेखि हरियो छेपारोसम्म पाइने खप्तडले तीर्थालुदेखि अनुसन्धान गर्नेसम्मलाई लोभ्याउन सक्छ । डाँफेकोट, घोडादाउने पाटन र खप्तड दहमा पुगेर प्राकृतिक आनन्द लिने कुरा त खप्तडको विशेषता नै हो ।

३ हजार २ सय मिटर उचाइमा रहेको खप्तडमा अत्याधिक चिसो हुन्छ । पाटनहरू हिउँले सेताम्मे हुन्छन् । सानो हावाको झोँकामा पनि सुसेरा हालेझैँ गर्ने रानीसल्ला, बाँच, नौरङ्गी लालीगुराँस, खस्रोउ, लेकसल्ला, लोठसल्लाका रुखको आनन्द लिने कोही छैनन् ।

चार रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्ने यो क्षेत्र प्राकृतिक इतिहासको सङ्ग्रहालय र जीवित बगैँचा हो । नेपालमा पाइने ७ सय मुख्य जडीबुटीमध्ये २ सय २४ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ । प्रकृतिको यो अनौठो सङ्ग्रहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुङ्गी छन् ।

खस्रे भ्यागुता र बझाङ्गे पा गरी दुई प्रजातिका रैथाने उभयचर बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ पाटन र ५२ झोता छन् । यो १ सय ७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो । यो क्षेत्र कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो ।

शुक्रबार, २६ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे