वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको मेलमिलाप केन्द्रको कार्यकक्ष वैदेशिक रोजगार व्यवसायीहरुको सहयोगमा निर्माण हुने भएको छ ।
विभागको बुद्धनगरस्थित कार्यालयमा रहेको उक्त केन्द्र ताहाचलस्थित काठमाडौ शाखामा स्थानानान्तरण हुने तयारीमा रहेकोमा कार्यकक्षको अभाव भएपछि व्यवसायीहरुले उक्त कार्यकक्ष निर्माण गरिदिन लागेका हुन ।
विभागको ताहाचलस्थित काठमाडौ शाखा परिसरमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायीहरुको सहयोगमा निर्माण गर्न लागिएको केन्द्रको कार्यकक्ष रहने भवनको शिलान्याश गरेका हुन ।
वैदेशिक रोजगारीको शिलशिलामा समस्यामा परेका श्रमिकको गुनासो सुनुवाई र वैदेशिक रोजगार व्यवसाय विरुद्ध पर्ने उजुरीलाई मेलमिलाप गराइ उजुरी कम गर्ने उद्देश्यले सरकारले उक्त केन्द्र संचालनमा ल्याएको हो ।
व्यवसायीहरुबाट स्वच्छिक रुपमा आर्थिक सहयोग संकलन गरी मेलमिलाप केन्द्रका लागि भवन र कार्यकक्ष बनाउन लागिएको संघले जनाएको छ ।
श्रमिक र व्यवसायीका समस्या सुनुवाईका लागि संघको पहलमा भवन निर्माण गर्न लागेको हो । संघका अध्यक्ष राजेन्द्र भण्डारीले सरकारसँग सहकार्य गर्न तयार रहेको र श्रमिकहरुसँग पनि सँगै छौ भन्नका लागि हामी आफैले भवन बनाएर कार्यकक्ष तयार गरिदिन लागेको बताए ।