गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टोवर ७ देखि २० सम्म काठमाडौंमा हुने भएकाे छ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलन समेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको हो। बैठकले संघको अगामी महाधिवेशनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ।
डा.केसीका अनुसार संघको युवा तथा महिला पदाधिकारीहरूको लागि ७५ र अध्यक्ष सहित अन्य पदाधिकारीहरूको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको छ।
यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क भएका कारणले संघको आलोचना हुँदै आएको थियो। त्यस्तै, उपाध्यक्ष तथा महासचिवका लागि ६ लाख रुपैयाँ वा ६ हजार अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैयाँ वा ५ हजार अमेरिकी डलर र सह कोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्न पहिले ४ लाख रुपैयाँ वा ४ हजार अमेरिकी डलर शुल्क तोकिएको थियो । यस्तै महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मेदवारी दिन ३ लाख ५० हजार रुपैयाँ वा ३५ सय अमेरिकी डलर शुल्क थियो।
निर्वाचन समितिले गरेको निर्णयअनुसार क्षेत्रीय उपसंयोजक र क्षेत्रीय महिला तथा युवा संयोजकका लागि २ लाख ५० हजार रुपैयाँ वा २५ सय अमेरिकी डलर शुल्क तोकिएको छ। यस्तै आइसिसी सदस्यमा उम्मेदवार बन्नका लागि १ लाख रुपैयाँ वा १ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने थियो। बैठकले संघको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको दर्ता अगस्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने भएको छ।
पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीहरुले स्मार्ट एनआरएनएु एप मार्फत आफैले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयबाट केन्द्रमा सिफारिस गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ।
बैठकले असन्तुष्ट पक्षसँग गत जुन महिनामा भएको सहमतिलाई अगामी १२ अगस्टमा हुने विशेष अधिवेशनबाट अनुमोदन गर्ने निर्णय गरेको छ। यस्तै गत हप्ता गैरआवासीय नेपाली संघ अमेरिकाको साधारण सभामा अध्यक्ष रविना थापा लगायत संघका केन्द्रीय पदाधिकारीहरू माथि भएको अपमानजनक व्यवहारको निन्दा गर्दै निवर्तमान कार्यसमितिलाई पत्र मार्फत सचेत गराउने निर्णय गरेको छ।
बैठकले संघको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै, बैठकले संघका नयाँ निर्वाचित राष्ट्रिय समितिका अध्यक्ष तथा कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिने निर्णय गरेको छ।
संघको निर्वाचन सम्बन्धी कार्यतालिका भने पछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ । संघको नयाँ नेतृत्वको लागि डा. बद्री केसी, रविना थापा,डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले आआफ्नो तयारी सुरु गरेका छन्।