रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् । यहाँका दुईवटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन् ।

कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ । कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा नं ५ बोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गड्यौला मल उत्पादन गरिरहेका छन् । उनीहरुलाई ७५ प्रतिशत अनुदानमा गड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रको भनाइ छ ।

रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक बस्तु उत्पादनमा प्रोत्साहन गर्न गड्यौला मल उत्पादन तथा प्राङ्गारिक मल सुुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्री बताउँछन् । गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने भएकाले कृषकलाई यो मलको उत्पादनसँगै प्रयोगमा जोड दिएको उनको भनाइ छ ।

“हामीले कृषकलाई प्राङ्गारिक खेतीमा जोड्न गड्यौला मल उत्पादनको कार्यक्रम सञ्चालन गरेका हौँ”, प्रमुख खत्री भन्छन्, “यहाँका ४० कृषकले यो मलको उत्पादन थाल्नुभएको छ । यो मलको धेरै फाइदा भएकाले किसानलाई जानकारी दिँदै मल उत्पादनमा प्रोत्साहन गर्दै आएका छौँ ।”

गाई–भैँसीको मलमूत्रसँगै सड्ने झारपात प्रयोग गरेर गड्यौला मल तयार गरिने हुँदा अन्नबालीका लागि धेरै उपयोगी हुन्छ । यो प्रविधिबाट मल बनाउँदा गड्यौला पाल्नका लागि संरचना निर्माण गरेर त्यहाँ गड्यौला राखिन्छ । गड्यौला राखेको ठाउँमा पशु चौपायाको मललाई राखी दिएपछि त्यसलाई उनीहरुले आफ्नो आहाराका रुपमा खाएर दिसा गर्ने र त्यसैलाई मलको रुपमा प्रयोग गरिने उनी बताउँछन् ।

“यो प्रविधिबाट मल उत्पादन गर्दा पशु चौपायाको मलसँगै झारपात प्रयोग गरिन्छ”, प्रमुख खत्री भन्छन्, “गड्यौलाले खाएर गरेको दिसालाई मलका रुपमा प्रयोग गर्ने हो । यो मल वातावरणीय हिसाबले पनि निकै उपयोगी हुन्छ । यसले माटोको उर्वराशक्ति वृद्धि गराउँछ ।”
गड्यौला मलको प्रयोगले प्राङ्गारिक उत्पादनमा सहयोग पुग्ने किसानहरुको भनाइ छ ।

गड्यौला मलको प्रयोग गर्दै आफूहरूले प्राङ्गारिक तरकारी फलफूल उत्पादनमा जोड दिने न्यू जिम्पु कृषक समूह टक्सारका अध्यक्ष रुद्रमणि राई बताउँछन् । गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यासमेत अन्त्य हुन्छ । “हाम्रो कृषक समूहका २० परिवारले यसको उत्पादन थालेका छौँ”, कृषक राई भन्छन्, “यो मलको प्रयोग गरेर प्राङ्गारिक बस्तु उत्पादनमा जोड दिएका छौँ । गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यालाई समेत अन्त्य गर्ने हाम्रो उद्देश्य छ ।”

माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल लाभदायक रहेको किसान राई बताउँछन् । गड्यौला मल उत्पादनका लागि ज्ञान केन्द्रले दुई कृषक समूहलाई रु २० लाख सहयोग गरिएको जनाएको छ । एक किसानले रु ५० हजार बराबरको गड्यौला पाल्न भर्मी बेड निर्माण गरेर गड्यौला मल उत्पादन गर्न थालेको छ । राम्रो ढङ्गले गड्यौला पाल्न सकेमा वर्षमा तीन पटकसम्म मल निकाल्न सकिने कार्यालयले जनाएको छ । एकवटा भर्मी बेडबाट औसतमा नौ मेट्रिक टनसम्म मल उत्पादन हुने कार्यालयका अधिकृत विशाल राईको भनाइ छ ।
“गड्यौला मलसँगै प्राङ्गारिक मलको प्रयोगमा किसानलाई प्रोत्साहन गर्दै आएका छौँ”, उनी भन्छन्, “किसानहरुले ४० वटा भर्मी बेडमा यो मल उत्पादन थाल्नुभएको छ । राम्रो ढङ्गले गड्यौला फस्टाए वर्षमा तीन पटकसम्म मल निकाल्न सकिन्छ । सरदरमा एक भर्मी बेडबाट नौ मेट्रिक टनसम्म मल उत्पादन गर्न सकिन्छ ।”

बुधबार, १७ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे