रसुवा राजधानीबाट टाढा छैन । चीनको स्वशासित क्षेत्र तिव्वतसँग सिमाना जोडिएको यो जिल्लामा तामाङ सामुदायको बाहुल्यता छ भने बौद्ध संस्कृतिको प्रभाव बढि छ ।
रसुवामा धार्मिक तथा पर्यटकीय क्षेत्रहरु प्रशस्तै छन् । यही जिल्लामा लोकप्रिय धार्मिक तिर्थस्थल गोसाइकुण्ड रहेको छ भने सँगै पार्वती कुण्ड, सूर्य कुण्ड, कालिका माईको मन्दिरलगायत स्थानहरु पनि धार्मिक पर्यटनका लागि महत्वपूर्ण स्थानहरु छन् ।
रसुवा धार्मिक पर्यटनकालागि महत्वपूर्ण छ । साञ्जेन भ्याली, तातोपानी, घोडातवेला, लाङटाङ राष्ट्रिय निकुञ्ज, चन्दनवारी, धुन्चे, स्याफ्रुलगायतका पर्यटकीय क्षेत्रहरु यही पर्दछन् ।
यिनै क्षेत्रहरु मध्येमा साञ्जेन भ्याली पर्यटनका लागि उच्च संभावना बोकेको क्षेत्र हो । रसुवाको आमा छोदिङ्मो गाउँपालिकामा पर्ने साञ्जेन भ्यालीको प्रवर्द्धन गर्न सकिएमा राम्रो पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन ।
काठमाडौंबाट सुरु जाने जिपले रसुवाको मैलुङ पु¥याउँछ । त्यसपछि करिब तीन घण्टाको उकालो यात्रापछि तिरु गाउँमा पुगिन्छ । साञ्जेन भ्याली जाने क्रममा पहिलो दिनको बास तिरु गाउँमा हुन्छ । भूकम्प पछि खाली भएको गाउँमा अहिले होमस्टेको स्थापना गर्नका लागिस्थानीयहरु गाउँ फर्किएका छन् ।
तिरुबाट करिब एक घण्टाको पैदल यात्रापछि सुरचेत गाउँमा पुगिन्छ । यहाँ बोन्बो (झाँक्री) हरुको बस्ती छ । यहाँका झाँक्रीहरुले गोसाइकुण्ड जाने क्रममा विरामी भएका नेपाली तथा विदेशी पर्यटकको उपचारसमेत गर्छन् ।
सुरचेत गाउँमा बोन्बो संस्कार संस्कृतिको अवलोकन गर्ने अवसर मिल्छ । यहाँबाट करिब ४ घण्टाको हिडाईमा ठूलो हाकु पुगिन्छ । ठूलो हाकु तामाङ बस्ती हो । स्थानीयहरु गाउँमा आउने पर्यटकलाई स्वागत सत्कार गर्न सधै तत्पर हुन्छन् । बाहिरबाट आएका पाहुनालाई स्थानीय परिकारहरु खुवाउँछन् भने तामाङ भेषभुषामा सजिएर गीत गाएर नाचेर स्वागत गर्छन् ।
हाकुबाट सानो हाकु हुदै पाँच घण्टाको यात्रामा ग्रे गाउँ पुगिन्छ । ग्रे गाउँबाट करिब चार घण्टा उकालो हिडेपछि बोन्जौमाने भञ्जयाङ पास गरेर रसुवाको चर्चित पर्यटकीय गाउँ गत्लाङ पुगिन्छ ।
गत्लाङ गाउँ व्ल्याक भिलेज नामले पनि चिनिन्छ । भुकम्प अघि गाउँमा भएका घरको छानाहरु सबै काठ र ढुङ्गाले छाएको थियो, त्यो कालो देखिने हुँदा विदेशीले व्ल्याक भिलेज उपमा दिएका हुन् । तर २०७२ सालको भूकम्पपछि गाउँको पुनर्निर्माणका क्रममा गाउँ रंगीचंगी बनेको छ ।
गत्लाङबाट करिब एक घण्टाको उकालो हिडेपछि पार्वतीकुण्ड पुगिन्छ । धार्मिक आस्थाको रुपमा स्थानीय बोन्बोहरुले कुण्डलाई पुज्ने गर्छन् । समुन्द्री सतहवाट २ हजार ५९२ मिटर उचाईमा रहेको पार्वती कुण्डमा भदौ पूर्णिमामा मेला लाग्दछ ।
चौरीको गोठ, जंगलको बाटो र वरपरका मनोरम दृश्यावलोकन गर्दै समुन्द्री सतहबाट ३ हजार ३ सय ९३ मिटर उचाईमा रहेको जोङ्गवुईको जंगलमा बास बस्न पुगिन्छ । यहाँ टी हाउसहरु छैनन् । त्यसैले टेन्ट, खाना र बस्ने व्यवस्था पहिले नै जोहो गरेर जानु पर्छ ।
यसपछि तेन्जो ज्यार्सा पुगिन्छ । ज्यार्साबाट खुर्पू भञ्जाङ हुँदै करिब सात घण्टाको उकालो बाटो पार गरेर पाङसुर उ पुगिन्छ । यात्रामा भेडाका बथानहरु भेटिन्छन् । त्यो दिनको बास ४ हजार २४३ मिटर उचाईमा रहेको जयसुर खर्कमा बस्न पुगिन्छ ।
जयसुर कुन्ड र गोसाइकुन्डलाई दिदी बहिनीका रुपमा लिइन्छ । गोसाई कुण्डलाई दिदी र जयसुरलाई बहिनीको रुपमा मानिन्छ । समुन्द्री सतहबाट ४ हजार ५ सय मिटर उचाईमा रहेको जयसुर कुन्ड साञ्जेन भ्याली र रुवी भ्यालीको बीचमा पर्दछ ।
छुपछुङला पासबाट मनोरम प्राकृतिक दृश्यहरु अवलोकन गर्दै झण्डै तीन घण्टा ओरालो लागेपछि केही समथर भूमि आइपुग्छ । यो समथर भूमि नै साञ्जेन भ्याली हो ।
साञ्जेनको अर्थ स्थानीय भाषामा स्वर्ग हो । यो भ्याली पुग्ने जो कोहीलाई पनि आफु स्वर्गै आइपुगेको अनुभूति हुन्छ । एक साता भन्दा लामो समय हिंडेको थकान मेटिन्छ । साञ्जेन भ्याली तिब्बत र रुवी भ्यालीको बीचमा पर्छ । समुन्द्री सतहबाट करिव ४१ सय मिटर उचाईमा रहेको साञ्जेन भ्याली साञ्जेन हिमालको आधार शिविर पनि हो । साञ्जेन हिमालको उचाई समुन्द्री सतहवाट ६ हजार ५ सय ५० मिटर रहेको छ ।
साञ्जेन भ्यालीको चौरबाट हिमालहरुलाई छर्लाङ्ग देख्न सकिन्छ । यो मनोरम दृष्यले मन फुरुंग हुन्छ । यो क्षेत्र जटिबुटीको लागि पनि प्रख्यात छ । यहाँ निरमसी, जटामसिलगायत अमुल्य जटिबुटीहरु पाइन्छ ।