मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ ।

पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

विसं २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ । विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

यही कारणले तुलनात्मकरुपमा कम वर्षा भएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए । “अहिले मनसुन ब्रेकको अवस्था छ, वर्षाका क्रममा केही कमी आएको छ, वर्षा नै नहुने भन्ने त हैन तर, विगतका दिनको तुलनामा कम वर्षा हुने देखिन्छ”, उनले भने । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकोभन्दा दक्षिणतिर रहेकाले वर्षा कम भएको उनको भनाइ छ ।

महाशाखाकै अर्का मौसमविद् रोजन लामिछानेले पनि मनसुनी वर्षा पर्याप्त नहुँदा धान रोप्न किसानलाई समस्या भएको उल्लेख गरे । “मनसुन वर्षा सरदर भन्दा केही कमजोर देखिएको छ । हरेक वर्ष मनसुनको एउटै ‘प्याट्रन’ हुदैन । तर, यो वर्ष मनसुन केही कमजोर देखिएको छ, अझै दुई/तीन दिन वर्षा राम्ररी हुने अवस्था देखिँदैन”, उनले भने ।

मनसुन कमजोर रहे पनि खण्डितरुपमा मुलुकभर वर्षा भइरहेको मौसमविद् लामिछानेको भनाइ छ । कृषि विभागको विवरणमा कर्णाली प्रदेशमा विशेषगरि लम्पी स्कीन रोगका कारण गोरुको अभाव भई रोपाइँ थोरै प्रभावित भएको जानकारीमा आएको विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा रोपाइँ करिब सकिएको छ । विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँच्दा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने विभागको अपेक्षा छ । मध्यतराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेका सन्दर्भमा साउन मसान्तसम्ममा ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको विभागले उल्लेख गरेको छ ।

मनसुनी वर्षा ३७ प्रतिशत मात्रै
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार जारी मनसुनमा हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार जुन १ देखि जुलाई २१ तारिखसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । जुन सरदर वर्षाकै हाराहारीमा छ । पुरै मनसुन अवधिभर अर्थात् चार महिनामा नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुन्छ ।

यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपालमा प्रवेश गरेको थियो । नेपालमा सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्मको अवधिलाई मनसुन मानिन्छ । यसअघि विगतका वर्षभन्दा यो वर्ष मनसुनी वर्षामा हुने प्रक्षेपण गरिएको थियो ।

यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

आजराति पनि सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा धेरै दिपायलमा ५१ र पोखरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा मात्र चार मिलिमिटर वर्षा मापन गरिएको छ ।

शनिबार, ६ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा