दगुर्नेपानीमा तारकेश्वर नगरपालिकाकै पहिलो अपांगता मैत्री सार्वजनीक शौचालय निर्माण भएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर ४ को नगरस्तरीय योजनामा अन्र्तगत २० लाख रुपैयाको लागतमा निर्माण गरिएको अपांगता मैत्री शौचालयको आज नगरप्रमुख कृष्ण हरि महर्जनले समुदायलाई साँचो हस्तान्तरण गरे ।
शौचालय भवनमा अपांगतमैत्री शौचालय सहित महिला र पुरुष शौचालय समेत रहेको छ । अपांगतामैत्री शौचालन भित्र अपांगता भएका व्यक्तिहरुलाई नुहाउनको लागि धारा सहितको व्यवस्था गरीएको छ । तारकेश्वर नगरपालिका भित्र हाल सम्म अपांगता मैत्री सार्वजनीक शौचालनको अभावमा अपांगता भएका व्यक्तिहरुले शौचका लागि निकै समस्या झेल्दै आइरहेका थिए ।
नगरप्रमुख कृष्ण हरि महर्जनले अपांगता मैत्री शौचालयको निर्माणले अपांगता भएका व्यक्तिहरुलाई सौच गर्नका लागि सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । तारकेश्वर नगरपालिकाको १३ औं नगरसभाले सबै वडामा सार्वजनीक शौचालय निर्माण गर्न बजेट बिनियोजन गरेको उनको भनाई थियो ।
नयाँ बन्ने सबै सार्वजनीक शौचालयहरु अपांगता मैत्री बन्ने बताए । गरिब, बिपन्न र अपांगता भएका नगरवासीहरुलाई उत्थान गर्न सकेमा मात्र समग्र तारकेश्वरको बिकास हुने बताँउदै नगरप्रमुख महर्जनले आफुहरुले त्यस्ता बर्गहरुको हितका निम्ती लागि परेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले अपांगता भएका व्यक्तिहरुलाई सार्वजनीक स्थानमा नभई आफ्नै घरमा समेत अपांगता मैत्री संरचनाको खाँचो रहेको बताए । तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले अपांगता भएका व्यक्तिहरुप्रति समाजले हेर्ने दृष्टीकोणमा परिवर्तन जरुरी रहेको बताए ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठले अपांगता मैत्री शौचालयलाई सकेसम्म निशुल्क रुपमा सञ्चालन गरिने बताए ।