नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त छन् ।

पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले गत वर्षदेखि सुनकागती लगाउन सुरु गरे । “अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ”, लम्सालले भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उनले अनुदानमा सुनकागती–१ का बिरुवा लगाएका हुन् ।

लम्सालले भने, “बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै व्यावसायिकरुपमा कागती खेतीलाई अगाडि बढाउन सहयोग पुगेको छ ।” परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माणलगायतमा अनुदान प्राप्त भएको उनले बताए ।

लम्सालका अनुसार कागती खेती लगाउन तथा हेरचाह गर्ने विषयमा पनि परियोजनाले सहजीकरण गरिरहेको छ । “स्वदेशमा नै व्यवसाय गर्ने सोचलाई परियोजनाले साथ दियो”, उनले भने, “अहिले १७ गट्ठा जग्गामा तीन सय सुनकागतीका बोट हुर्किंदैछन् ।”

उक्त परियोजना सञ्चालन भएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान अहिले व्यावसायिकरुपमा कागतीखेतीमा आकर्षित भएका लम्सालको भनाइ थियो । एकपटक लगानी गरेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र उत्पादन पनि मनग्य हुने भएकाले अन्य बाली लगाउने किसान पनि कागतीखेतीतर्फ आकर्षित भएका उनले बताए ।

गोछडाटारकै ४८ वर्षीय प्रेमराज ढुङ्गानाले अहिले धान बाली लगाउन छाडेर कागतीखेती सुरु गरेका छन् । उनले परियोजनाको ५० प्रतिशत अनुदानमा एक सय ५० कागतीका बिरुवा रोपेर व्यावसायिकरुपा खेती सुरु गरेका हुन् ।

“सुनकागती–१ लगाएका कृषकको बारीमा अवलोकन जाँदा उत्पादन राम्रो भएको देखेर व्यावसायिकरुपमा कागतीखेती गर्ने सोच आयो”, ढुङ्गानाले भने, “धान, मकै, तोरी लगाएर जीविकोपार्जन मात्रै हुने आम्दानीमा वृद्धि नहुने समस्या छ । एकपटकको लगानीले कागतीबाट वर्षौंसम्म आम्दानी लिन सकिने हुँदा यसतर्फ आकर्षित भएको हुँ ।”

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालित सुन्तला र फलफूल कार्यक्रममा कृषक आकर्षित भएका छन् । यस परियोजना सञ्चालनमा आएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका परियोजनाले जनाएको छ ।

परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माका अनुसार जिल्लामा यस वर्ष ५० नयाँ किसानले कागतीखेती सुरु गरेका छन् । परियोजनाले दिएको अनुदानमा सञ्चालित नर्सरीबाट तयार भएका २५ हजार सुन्तला र कागतीका बिरुवा यस वर्ष किसानलाई बिक्री गरिएको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ देखि गाउँपालिकामा बुलिङटार, बौदिकाली र हुप्सेकोटको वडा नं ५ तथा नगरपालिकामा गैँडाकोट–१८, देवचुली–६, मध्यविन्दु–८ र १५ मा ‘सुन्तला र फलफूल जोन कार्यक्रम’ सुरु भएको कृषि अधिकृत शर्माले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममार्फत खेतीका लागि क्षेत्र विस्तार र नर्सरी निर्माण भइरहेको छ ।

“परियोजना सुरु हुनुपूर्व जिल्लामा तीन सय ३१ हेक्टरमा सुन्तला र कागतीको खेती हुँदै आएको थियो”, कृषि अधिकृत शर्माले भने, “अहिले आठ सय १८ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” यस वर्ष मात्रै जिल्लामा सुन्तला र कागतीको खेती ६० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।

तुलनात्मकरुपमा क्षेत्रफल सुन्तलाको बढी भए पनि किसान कागतीखेतीतर्फ पनि आकर्षित हुँदै गएका उनको भनाइ थियो । शर्माले भने, “यस वर्ष ६० हेक्टरमध्ये ३३ हेक्टर क्षेत्रफलमा सुन्तला र २७ हेक्टरमा कागतीखेती विस्तार भएको छ भने ५० जना नयाँ किसान व्यावसायिक खेतीमा जोडिएका छन् ।”

शर्माका अनुसार सुनकागतीका बिरुवा तापक्रम बढी भएका ठाउँमा छिटो बढ्ने भएकाले पछिल्लो समय तराईमा सुनकागती लगाउन किसान आकर्षित भएका हुन् । “यस वर्ष व्यक्तिगतरुपमा एक हजारसम्म बिरुवा लगाउने किसान छन्”, उनले भने, “गैँडाकोट–१८ मा किसानले चक्लाबन्दी गरेर एउटै ब्लकमा १० हजार तीन सय बिरुवा लगाएका छन् ।”

“पहिलो वालीले नै राम्रो उत्पादन दिन थालेपछि आयमूलक बालीका रुपमा किसानले कागती खेतीलाई लिएकाले साना किसान पनि यसतर्फ आकर्षित भएका हुन्”, शर्माले भने, “सुन्तला र फलफूल जोन कार्यक्रममार्फत क्षेत्र विस्तार गरी नर्सरी निर्माण भइरहेको छ ।”

नेवारवारी, राईकोट र रानीटारमा निर्माण गरिएका नर्सरीबाट प्रत्येक वर्ष ५० हजार बिरुवा तयार भइरहेको परियोजनाले जनाएको छ । यस वर्ष तयार भएका बिरुवामध्ये २५ हजार जिल्लाका कृषकलाई र पाँच हजार डिभिजन वन कार्यालयलाई बिक्री गरिएको छ ।

कृषि अधिकृत शर्माका अनुसार आगामी वर्षका लागि २० हजार ग्राफ्टेड र विजु बिरुवा जगेडा गरी राखिएका छन् । जिल्लामा ३३ कृषक समूह, पाँच कृषक सहकारी र ३० उद्यमी गरेर ६८ संस्था कागती खेतीमा आबद्ध छन् भने दुई हजार दुई सय ९७ धरधुरी यस खेतीमा संलग्न रहेका उनले जानकारी दिए।

परियोजनाले तरकारी खेतीका लागि क्षेत्र विस्तार गर्ने, सुन्तला र फलफूल बालीका लागि नर्सरी निर्माण, सिँचाइको व्यवस्था र मेसिनरी औचार वितरणलगायत सहयोग गर्दै आएको छ । “सिँचाइमा ८५, बीउ, बिरुवामा ५० र मेसिनरी औजारमा ८५ प्रतिशत अनुदान किसानलाई दिँदै आएका छौँ”, कृषि अधिकृत शर्माले भने, “परियोजनाअन्तर्गत जिल्लामा अहिलेसम्म तरकारी, फलफूल र कागती खेतीमा गरी एक सय २१ समूह, ११ कृषक सहकारी, ८० उद्यमी आबद्ध छन भने छ हजार १८ घरधुरी संलग्न रहेका छन् ।”

शुक्रबार, ५ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !