काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो ।
यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरुको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताए ।
अहिले जापानको कलरवाथ नामक संस्थाले काभ्रेपलाञ्चोकको बनेपामा रहेको विन्ससँग समन्वय गरी यहाँ सङ्कलन गरेको कफी प्रशोधन गरेर निर्यात गरिरहेको उनले जानकारी दिए । किसानले उत्पादन गरेको कफीलाई सुरुमा त्यही प्रशोधन गर्ने र पूर्ण रुपमा बनेपामा ल्याएर प्रशोधन गर्ने गरेको उनले बताए ।
“व्यावसायिक रुपमा उत्पादन कम भएकाले पनि उत्पादन गरेको कफी वार्षिक एक हजार पाँच सय केजी निर्यात गर्दै आएका छौँ”, लामाले भने, “हामीले पहिलादेखि विशेषगरी फोक्सिङटारको ठूलो पोखरामा उत्पादन गरेको कफी निर्यात गर्दै आएकामा पछिल्लो समयमा कोशीपारिको चौँरीदेउराली र खानीखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कफीलाई पनि निर्यात गर्दै आएका छौँ । जसबाट वार्षिक २५ लाख आम्दानी हुने गरेको छ ।”
उहाँका अनुसार यहाँ उत्पादन भएको कफी राम्रो भएकाले पनि जापनिजहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । “किसानले जति उत्पादन गरे पनि हामीले सबै खरिद गरेर उहाँहरुलाई पैसा दिन्छौँ”, उनले थपे, “त्यसका लागि कसरी टिप्नेदेखि प्रशोधन कसरी गर्ने, बजारसम्म कसरी सुरक्षित लाने भन्ने विषयमा समेत किसानलाई तालिम दिने गरेको छ ।”
डाँडापारिको ठूलो पोखरामा फल पाकेपछि टिपेर बोक्रा फाल्ने पल्पिङ सेन्टरसमेत स्थापना गरेको छ । जहाँबाट उत्पादन भएको कफी प्रशोधन गरी बनेपामा ल्याउने गरिएको छ ।
किसानको बारीबाट टिपेर ‘पल्पिङ’ गरेको कफीको प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म गुणस्तर हेरेर तिर्ने गरेको संस्थाले जनाएको छ ।
सुरुमा केही किसानलाई निःशुल्क बिरुवा वितरण गर्नाका साथै रोप्ने, गोडमेल गर्ने र त्यसको फललाई सुरक्षित रुपमा टिप्ने विधिसमेत सिकाइएको थियो । एक पटक रोपेको बिरुवाबाट पचास वर्षसम्म आम्दानी दिने गरेको छ ।
एक रोपनीमा २५ देखि ३० हजारसम्म कमाई हुने गरेको किसानहरुको भनाइ छ । जापानको बजारमा अरू देशको कफीको तुलनामा महँगोसमेत रहेको जनाएको छ ।
नेपालमा माइला दाइ भनेर परिचित जापानका यशुके कुशेहवाको नेतृत्वमा कफी निर्यात हुँदै आएको छ । त्यसका लागि उनले गाउँगाउँमा जाने कफी उत्पादन किसानलाई तालिम दिने, प्रशोधनको विधि, त्यसबाट गुणस्तर कफी बनाउन कसरी काम गर्ने भन्ने विधिसमेत सिकाउँदै आएका छन् ।
आफूले कामको सिलसिलमा नेपालको ग्रामीण भेगमा पनि जाने अवसर पाएको र त्यहाँ कफी उत्पादन राम्रो देखिपछि जापान लाने काम गरेको उनको भनाइ छ । अध्ययनका क्रममा कफीका लागि काभ्रेपलाञ्चोकपछि इलाम राम्रो पाएको उहाँको भनाइ छ ।
कफीले राम्रो भाउ पाएपछि महाभारत गाउँपालिकाका किसानहरु यस खेती गर्न अग्रसर भएका छन् । महाभारत गाउँपालिकाले पनि कफीबाट राम्रो आम्दानी हुने देखिएपछि किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गरेर आम्दानीको वैकल्पिक स्रातका रुपमा विकास गर्न लागेको छ ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउनका लागि किसानलाई अनुदान दिने गरेको बताए ।
आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन २०७९/८० मा एक लाखवटा कफीको बिरुवा निःशुल्क रुपमा वितरण गरेको उनले बताए ।
“महाभारतको आर्थिक समृद्धिको आधार कफीबाट हुने सम्भावना रहेको पाइएको कारण उत्पादनमा किसानलाई जोड्न यो वर्ष विरुवा वितरणसमेत गरेका छौँ”, उनले भने, “यसअघि पालिकाले कफी उत्पादनको विषयमा जानकारी, त्यसको बजारीकरण र गुणस्तरीय उत्पादनका लागि मेशिन वितरण लगायतका काम गरेको थियो ।” यस वर्षदेखि वडा नं ३, ५ र ८ वडामा नर्सरीसमेत स्थापना गरेको पालिकाले जनाएको छ ।
महाभारत गाउँपालिकाको किसानले कफीमा राम्रो आम्दानी गरेको पाइएपछि अहिले डाँडापारिकै खानीखोला गाउँपालिको पनि कफी उत्पादन किसानलाई अनुदान दिने व्यवस्था मिलाएको छ ।
पालिकाले गत आर्थिक वर्षदेखि कफी उत्पादन किसानलाई ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ नाराका साथ कफी खेती गर्ने किसानलाई प्रोत्साहन दिँदै आएको गाउँपालिकाले जनाएको छ ।
त्यसका लागि आम कफी उत्पादक कृषकहरूलाई सहकारी वा समूहमा आबद्ध गराई उत्पादन कार्यमा सामूहिकताको नीति लागू गरिने, खानीखोला गाउँपालिकालाई कफी पकेट क्षेत्रको रूपमा थप विकास र विस्तारमा लागेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।