पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत शुक्रबार चितवनको रत्ननगरमा आयोजित नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डी.एल.ए.) को ११औं केन्द्रीय महाधिवेशन उद्घाटन समारोहका सहभागीहरु । तस्बिर ः सनद अधिकारी÷रासस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ।

नेपाल डेमोक्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताउनुभएको हो।

आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ। त्यसका लागि सबै मिलेर अघि बढौँ।” नेकपा (एमाले) भित्र उमेर हद हटाइएको भन्दै उहाँले थप्नुभयो, “हामीकहाँ त्यस्तो छैन। तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन। मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन।” प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठुलो सहयोग पुग्ने उहाँको भनाइ थियो।

पूर्व प्रधानमन्त्री देउवाले कानुन व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “राजनीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानुन व्यवसायी हुन्।” प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, “यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ।” आफू पनि कानुनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताउनुभयो। कानुन व्यवसायी पेसा मर्यादित भएको उहाँको भनाइ थियो।

बीपी कोइराला पनि कानुन व्यवसायी भएको भन्दै उहाँले भन्नुभयो, “बिपी कोइराला पार्टीमा कानुन व्यवसायी (लयर) हुनुहुन्थ्यो। भारतीय नेता जवाहरलाल नेहरु पनि कानुन व्यवसायी हुनुहुन्थ्यो। लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ।” अमेरिकामा कानुन पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उहाँले कानुनको ज्ञान सबैलाई हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “नेताको आँगनमा देउसी, भैलो खेलेर न्यायाधीश बन्ने दिन गए।” क्षमता नभएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस नगर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, “न्यायालयमा भएको भ्रष्टाचार शून्य गर्न म मन्त्री भएको हुँ। त्यो सफा गर्ने क्रममा ब्रिफकेस बोकेर धाउने न्यायाधीश बन्न सक्दैन। निष्पक्षरूपमा क्षमताका आधारमा न्यायाधीश छानिन्छ।”

विगतमा शक्ति केन्द्रबाट कानुन सञ्चालन भएको उल्लेख गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले त्यस्ता शक्ति केन्द्र ढलेको र लोकतन्त्र प्राप्त भएको बताउनुभयो। पछिल्लो समयमा फेरि हामी ती शक्ति केन्द्रजस्तै बन्यौँ र दण्ड चलाउन थाल्यौँ भने कानुनी राज्यको परिकल्पना अधुरो हुने उहाँको भनाइ थियो। लोकतन्त्रलाई बलियो बनाउनका लागि सुशासन आवश्यक रहेको भन्दै उहाँ कानुनको आँखामा सबै बराबर हुने बताउनुभयो।

कांग्रेस महामन्त्री गगनकुमार थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठीक ठाउँमा उभिनु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “कांग्रेस ठीक ठाउँमा उभियो भने विधिको शासन र सर्वोच्चता रहन्छ नत्र रहँदैन।” अहिलेको समय पार्टीलाई पुनर्संरचना गर्ने समय भएको धारणा राख्दै उहाँले यसमा डिएलएको सहयोग आवश्यक रहेको बताउनुभयो।

पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि अहिलेको पद्धतिलाई भत्काउन आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, “क्रियाशील सदस्यता वितरण र उम्मेदवार छनोट गर्ने अहिलेको पद्धतिको अन्त्य नभएसम्म पार्टीभित्र सुधार हुन नसक्ने देखिन्छ।”

कार्यक्रममा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी कांग्रेसलाई कमजोर हुन दिँदैनौँ। सुधार गरेर अघि बढ्छौँ।” पार्टीलाई अझै सशक्त बनाएर अघि बढ्ने उहाँको भनाइ थियो।

केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको व्यवस्था र संविधानमाथि आक्रमण भइरहेको बताउनुभयो। लामो सङ्घर्षपछि ल्याएको व्यवस्था र संविधानमाथिको आक्रमण रोक्नका लागि कानुन व्यवसायीको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो। न्यायालयमा भएका विकृति र विसङ्गति रोक्नका लागि राजनीतिज्ञ र कानुन व्यवसायी एक ठाउँमा उभिन आवश्यक रहेको उहाँले बताउनुभयो।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्व महान्यायाधिवक्ता बाबुराम कुँवर, खम्बबहादुर खाती, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष माधव यादव, प्रेमबहादुर खड्का, हरिहर दाहाल, शेरबहादुर केसी, सर्वोच्च अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपेन्द्र केसरी न्यौपाने लगायतले बोल्नुभएको थियो।

पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभर ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय एक जना महाधिवेशन प्रतिनिधि सहभागी हुनुहुन्छ। नयाँ नेतृत्वमा सर्वसम्मत बनाउने प्रयास भइरहेको छ। रासस

शुक्रबार, २६ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !