मुग्लिनमा मर्स्याङ्दी मिसिएपछि तनहुँ र चितवनलाई दायाँ–बायाँ पारेर अघि बढेको त्रिशूली दासढुंगा आइपुगेपछि नागबेली भएर बग्छ।उचाइबाट हेर्दा निकै आकर्षक देखिने यो नागबेली नदीमा पहिले काठका सामान्य डुँडा चल्थे। पछि र्‍याफ्टिङ बोट चल्न थाले। केही समयदेखि दासढुंगाबाटै मोटरबोट चल्न थालेका छन्।

अब यहाँको आकर्षण जलबिहार मात्रै छैन। केही हप्तादेखि नदीको माथि आकासमा प्याराग्लाइडिङ पनि हुन थालेको छ। अचेल चौकीडाँडाबाट पर्यटक बोकर उडेका रंगिचंगी प्याराग्लाइडर त्रिशूली माथि चराझैं सयर गर्छन्।

चौकीडाँडा समुद्र सतहबाट १२ सय मिटर उचाइमा छ। यो भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने ग्रामीण पर्यटकीय गाउँ हो। नारायणगढ बजारबाट गाडी चढेर करिब एक घण्टामा चौकी डाँडा पुगिन्छ। त्यहाँबाट सुरू हुने प्याराग्लाइडिङ करिब आधा घण्टाको उडान भर्दै देवघाट गाउँपालिकास्थित त्रिशूली नदी नजिकै(कालिमाटी) आइपुगेर अवतरण हुन्छ।

‘माथि उडेको प्याराग्लाइडिङ र नदीमा हुइँकिरहेको मोटरबोटमा सयर गर्ने पर्यटक एक अर्कालाई हेरेर रमाउँछन्। यस्तो दृष्य विश्वमै यहीँमात्रै देख्न पाइन्छ,’ नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतको दाबी छ, ‘यति विशाल नदीमाथि प्याराग्लाइडिङ भएको विश्वमै यहीँमात्रै हो।’

उनले आकाश र नदीलाई जोडेर पर्यटनमा नयाँ आयाम ल्याउने प्रयास गरेको दाबी गरे। प्रायः ठाउँमा डाँडा, ताल, समुद्रमाथि प्याराग्लाइडिङ हुने गरेकोमा चितवनमा पहिलो पटक नदीमाथि सुरू भएको उनले बताए।

‘सुन्दर हिमश्रृंखला, पहाडी भूभाग, नदी, तराईका फाँट, जंगल, बस्तीको अवलोकन गर्दै आकाशमा उड्ने अवसर चितवन आउने पर्यटकले पाएका छन्,’ राउत भन्छन्, ‘छोटो अवधिमै यहाँ पर्यटकको चासो र आकर्षण पनि बढ्दै गएको छ।’
हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले गत वैशाख १ गतेदेखि भरतपुरमा प्याराग्लाइडिङ सुरू गरेको हो। यसको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गरेका थिए।

हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेले देशमा आर्थिक संकट चुलिँदै गए पनि जोखिम मोलेर पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको बताए। ‘लगानीको वातावरण नहुँदा नहुँदै पनि पर्यटन क्षेत्रका लागि केही योगदान दिउँ भन्ने सोच भएका व्यक्तिहरू मिलेर नयाँ काम सुरू गरेका छौं,’ घलेले भने।

यहाँ अहिले २० देखि ३० मिनेटसम्मको सामान्य उडान भइरहेको छ। ४० देखि ६० मिनेटसम्मको ‘क्रस कन्ट्री’ उडान पनि गर्ने तयारी छ। अध्यक्ष घलेले दासढुंगास्थित कार्यालय आइपुग्नेलाई चौकी डाँडा पुर्‍याएर प्याराग्लाइडिङ गरेबापत अहिले ६ हजार रूपैयाँ लिइने गरेको बताए। दासढुंगामा होटल अशोका नजिकै यसको कार्यालय छ। अन्य ठाउँबाट ल्याउनुपर्नेका लागि प्याकेज तयार भइरहेको उनले बताए।

‘हामी होटलहरूका लागि छुट्टै प्याकेज ल्याउँछौं। यसका लागि होटल व्यवसायीहरूसँग छलफल भइरहेको छ। सौराहाबाट ल्याउनुपर्नेका लागि ८ हजार रूपैयाँको प्याकेज बनाउने मौखिक सहमती भएको छ। अन्यत्रका लागि पनि प्याकेज बनाउँछौं,’ घलेले भने, ‘दुवै व्यवसाय एक अर्काका लागि सहयोगी बन्नेगरी सम्झौता गर्ने तयारीमा छौं।’

सञ्चालक निरज अधिकारीले भरतपुर महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष–२०२४ लाई सफल बनाउन प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका खेल्ने बताए। संघका महासचिव राउतले देशका १८ वटा जिल्लामा प्याराग्लाइडिङ भइरहे पनि व्यावसायिकरूपमा अहिलेसम्म पोखरामामात्रै सफल भएको बताए। यहाँबाट देखिने दृष्यका कारण पोखरामा जस्तै सफल हुने संभावना देखेको उनले बताए।

पोखरामा पहिले साराङकोटबाट प्याराग्लाइडिङ हुन्थ्यो। अहिले अन्तर्राष्ट्रिय विमानस्थलका कारण यहाँबाट सारेर मान्द्रेढुंगाबाट उडान गर्न थालिएको छ। पहिले फेवाताल माथि प्याराग्लाइडिङ गर्दा पर्यटकहरू मोहित हुने गरे पनि अचेल आकर्षण घट्न थालेको राउतले बताए। कुनै समय दैनिक ११ सय जनासम्म पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेकोमा अचेल दैनिक डेढ सय जतिलेमात्रै गर्ने गरेको उनले बताए।

अहिले पोखरामा ६० वटा कम्पनीले प्याराग्लाइडिङ गरिरहेका छन्। देशभरमा ८३ वटा प्याराग्लाइडिङ कम्पनी छन्। यसका लाइसेन्सवाला पाइलट ३७७ जना छन्। चितवनमा आहिले एउटामात्रै कम्पनीले उडानको अनुमती पाएको छ। यहाँ अहिले १० जना पाइलटले दैनिक प्याराग्लाइडिङ गर्ने गरेको हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिका सञ्चालक शालिक दवाडीले बताए।

चितवनमा दुई दशक अघि नै भएको थियो प्याराग्लाइडिङ

चौकीडाँडाबाट सन् २००४ मै प्याराग्लाइडिङ गरिएको थियो। राउतकाअनुसार त्यतिखेर नारायणगढ–मुग्लिन सडक पनि राम्रो बनिसकेको थिएन। यो सडकबाट माथि उक्लने बाटो त ट्रयाक पनि थिएन। त्यतिखेर एडम नामका विदेशी र केही पाइलटहरु आएर चौकीडाँडाबाट प्याराग्लाइडिङ गरेका थिए।

पछि सन् २०१५ मा चितवनका मुकुन्द भट्टराईले माइकल नामका युक्रेनी पाइलटलाई ल्याएर उहाँबाट प्याराग्लाइडिङ गराएका थिए। त्यसपछि यहाँबाट व्यावसायिक प्याराग्लाइडिङको पहल सुरू भएको थियो। पोखरामा भने सन् १९९९ बाटै बिरू बमजमले सनराइज प्याराग्लाइडिङ नामको कम्पनीमार्फत सुरू गरिसकेका थिए। त्यहाँ सुरुमा नेपाली जनशक्ति नहुँदा विदेशी पाइलट ल्याएर प्याराग्लाइडिङ गरिन्थ्यो।

‘चितवनमा सफल हुने संभावना देखेपछि पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण गएर अनुमती लिने प्रयास भएछ तर जहाजको रूट पर्ने भन्दै त्यसलाई पन्छाउँदै आएको थाहा भयो। कोरोना महामारी सुरू हुनुभन्दा अघि म आफैं आएर हेरें। यहाँ त प्यराग्लाइडिङका लागि निकै राम्रो ठाउँ रहेछ,’ राउतले भने, ‘त्यसपछि म पटक–पटक मन्त्रालय, प्राधिकरणमा गएर यो विषय राख्न थालें।’

उनले धेरै राम्रो संभावना रहेको बुझेपछि करिब डेढ वर्ष लगाएर यसको अध्ययन गरिएको बताए। ‘स्वीकृती पाएर अहिले यो अवस्थामा आइपुगेको छ,’ राउतले भने, ‘अब यो साहसिक पर्यटनको केन्द्र बन्न सक्छ भन्ने हाम्रो आशा छ।’ अहिले यहाँ दैनिक तीन पटक प्याराग्लाइडिङ हुन्छ। कम्पनीका अध्यक्ष घलेले बिहान ९ बजे, दिउँसो २ देखि ३ बजे र साँझ ५ बजे उडान हुने बताए।

जंगल सफारी, क्रुज र मौलाकालिका केवलकारसँग जोड्ने प्रयास

चितवनलाई देशकै तेस्रो पर्यटकीय गन्तव्य भन्ने गरिन्छ। यहाँ प्रायः पर्यटक चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने गरेका छन्।

वन र वन्यजन्तुमा चासो राख्ने धेरै विदेशी पर्यटकहरू सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रमा रहेका होटलहरूमा बस्ने गर्छन्। केही वर्षदेखि आन्तरिक पर्यटकको संख्या पनि उल्लेख्य हुने गरेका छ। जंगल सफारी पछि फर्कने गरेका पर्यटकको बसाई लम्बाउन अब प्याराग्लाइडिङले भूमिका खेल्ने पर्यटन विज्ञ डा.विश्वराज सुवेदीको दाबी छ।

उनले चौकीडाँडाको प्याराग्लाइडिङ, गैंडाकोटको मौलाकालिका केवलकार, ज्ञानेश्वरको क्रुज सिप, वन, देवघाट, बीसहजारी ताललगायतलाई जाडेर पर्यटनको नयाँ प्याकेज तयार पार्नुपर्ने बताए। ‘यसो गरेर पर्यटकको बसाई लम्बाउन सकिन्छ। भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षकारुपमा मनाउन लागिरहँदा सुरू भएका नयाँ पर्यटकीय गतिविधिले उत्साह थपेको छ,’ महानगरका पर्यटन विज्ञ सुवेदीले भने।

सुवेदीका अनुसार चितवनमा पर्यटन क्षेत्रमा अर्बौंको लगानी छ। १६ हजार भन्दा बढीले रोजगारी पाएका छन्। कोरोना महामारीको समयमा दैनिक ३ करोड रूपैयाँ घाटा भएको उनले बताए। हाल चितवन करिब २० प्रतिशत पर्यटक आउने गरेकोमा यो संख्यालाई बढाएर विगतको घाटा पूर्ति गर्नुपर्ने उनले बताए। पर्यटक बढाउन जिल्लामा पहिचान गरिएका भरतपुर महानगरपालिकाभित्रका ३० सहित ६५ पर्यटकीय गन्तव्यको विकास र प्रचारमा ध्यान दिनुपर्ने सुवेदीले बताए।

नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुके पर्यटकलाई आकर्षण गर्न होटल व्यवसायी र अन्य पर्यटन व्यवसायी मिलेर समयानुकूलको प्याकेज तयार पार्नुपर्ने बताउँछन्। ‘होटलहरुले गुणस्तरीय सेवा दिने, पाहुनाहरूका लागि सुविधा बढाउने, सबै क्षेत्रलाई समेटेर प्याकेज बनाउनुपर्छ,’ उनी भन्छन्, ‘बरू शुल्क कम लिने, तत्काल चल्ने वातावरण बनाउनेतर्फ लागौं। सबै व्यवसाय धरासयी बन्न थालिसक्यो। पर्यटन व्यवसायलाई जसरी पनि जोगाउनुपर्छ।’

उनकाअनुसार बन्दै गरेको नारायणगढ–बुटवल, मुग्लिन–पोखरा, मुग्लिन नागढुंगा, भरतपुरकै ६ लेन सडकलगायतका कारण पाहुना घटेका छन्। केही समयअघिसम्म ६५ प्रतिशत कोठाहरू भरिनेगरेकोमा अहिले निकै घटेको उनले बताए। उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले सरोकारवाला एकजुट भएर चितवन आउने पर्यटकको बसाई लम्बाउनेगरी प्याकेज तयार गर्नुपर्ने बताए।

‘अब नयाँ गतिविधिहरू सञ्चालन गरेर, प्रचार गरेर पर्यटकहरुको ध्यान तान्नुपर्ने छ। अहिले सुरू भएका गतिविधि सफल भए अरूलाई पनि उर्जा मिल्छ,’ उनले भने।

मङ्लबार, २ जेष्ठ, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !