Trending
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बेहडा बाबासँगै रहेको महादेवा तालमा मोटरबोटको व्यवस्था गरिएको छ । नेपाल सीप तथा बोट बिल्डिङ कम्पनीको नेपाल बोट एण्ड एम्युज्मेन्ट प्रालिले सो तालमा मोटरबोट सेवा दिन थालेको हो ।
तीन वर्षका लागि लिजमा ताल दिएको कम्पनीले तीन करोडको लगानीमा होटल तथा रेस्टुराँ सेवासमेत दिने गरी बोटिङ सेवा सञ्चालन गरिरहेको छ । कर नलिने सर्तमा ताल सफा गर्ने र संरक्षण गर्ने गरी लिजमा लिएको कम्पनीका अध्यक्ष लेखनाथ पौडेलले बताए । उनले तत्काल ६ वटा बोटबाट सेवा दिइने बताए । “तीनवटा बोट आइसकेको छ, तीनवटा केही दिनमा आउँछ,” उनले भने, “६ वटा बोटमा डेढदेखि दुई करोड रुपैयाँ खर्च भएको छ ।
५० लाख रुपैयाँ ताल सफा गर्नका लागि बजेट छुट्याएका छौं । रुम, कटेज र रेस्टुराँ बनाउँदासम्म तीन करोड रुपैयाँ खर्च हुने अनुमान छ । मोटरबोट सेवा आज (सोमबार) सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाबाट उद्घाटन गर्ने कार्यक्रम छ । मोटर बोटसँंगै चारसिटे पैदलबोट पनि सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए ।
उनले तालको बीचमा रहेको महादेवा ताल दर्शन गर्नेलाई मोटरबोटबाट ओहरदोहर गरेको ५० रुपैयाँ शुल्क निर्धारण गरिएको बताए । मोटरबोटमा एक जनाले एक ट्रिपको तीन सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने चारसिटे पैदल बोटमा चार जनाले एक घण्टा सयर गरेको पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।
कम्पनीले स्थानीय संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ताललाई सिंगार्ने र सरसफाइ गरी संरक्षण गर्ने कार्य गरिरहेको अध्यक्ष पौडेलले बताए । उनले १८ दिनदेखि दैनिक ४०/५० जना मानिस लगाएर ताल सफा गराइरहेको जनाएका छन् । तालमा जलकुम्भी झार रहेकाले त्यसलाई हटाउने कार्य भइरहेको छ । बेहडा बाबा मन्दिरमा हरेक वर्ष गंगा दशहरामा मेला लाग्ने गर्दछ ।
शिवगंगा दशहरामा बेहडा बाबाको दर्शन गर्न घुइँचो लाग्ने गरेको छ भने सो अवसरमा तीन दिन मेला चल्छ । मेलामा नेपाल र भारतका दर्शनार्थी आउने गरेका छन् । पछिल्लो समयमा बेहडा बाबाको सौन्दर्यकरण भए पनि दैनिक रूपमा दर्शनार्थी आउने गरेको बेहडा बाबा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष पदमराज जोशीले बेहडा बाबामा धार्मिक पर्यटन विकासका लागि कम्पनीलाई होटल र रेस्टुराँसहितको बोट सेवा सञ्चालन गर्न ताल लिजमा दिएको जनाएको छ । उनले ताल संरक्षण गर्ने, तीन वर्षपछि दुईवटा बोट मन्दिरलाई दिने र बनाएका संरचना पनि मन्दिरलाई दिने गरी कम्पनीलाई लिजमा लिएका बताए ।
उनले पहिलो तीन वर्षमा मन्दिरले कम्पनीसंँग कुनै पनि शुल्क नलिने शर्तमा जिम्मेवारी दिएको बताए । यसैगरी, बेहडा बाबानजिकै ती किलोमिटरको दूरीमा रहेको भादा होमस्टे गाउँको पर्यटनमा समेत बोटिङ सेवाले सघाउ पुग्ने भादा होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । उनले महादेवा तालमा बोटिङ गर्न आउने पर्यटकहरू बासका लागि होमस्टेमा आउने बताए ।