आफ्नै उत्पादन गरेको अन्नले मुस्किलले ६ महिनामात्र खाना पुग्ने कर्णालीमा राज्यले कुपोषण दर खटाउन गरिएका प्रयास असफल हुँदै आएका छन् । कुपोषण घटाउने नाममा बैठकभत्ता तथा अन्य विविध रूपमा भारी खर्च हुने गरेको छ ।

स्थानीय अन्नको उत्पादन दर बढाएर आयतीत अन्नलाई घटाउनु पर्नेमा यहाँको रैथाने बाली उत्पादनमा वर्षेनी घट्दै जाँदा कुपोषण दरमा कमी आउन नसकेको हो । दिनभरि काम गरेर पनि पेटभरी खाना नपाउने अवस्थाबाट गुज्रिएको कर्णालीमा पोषण कार्यक्रमले छुन सकेको छैन । न्यून आय भएको कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि संघीय सरकारको भरपर्दै आएको छ ।

कर्णालीको डोल्पा, हुम्ला, मुगु, जुम्लालगायतका जिल्लामा वर्षेनी खाद्यान्न ढुवानी गरेर सर्वसाधारणले उपभोग गर्दै आएका छन् । वर्षेनी उत्पादनशील जमिन खाली राखेर सहर, बजारमा बसाइँसराइ गर्ने कार्य तीव्र बढेपछि खाद्यान्न संकट थप चुलिएको हो । बसाइँसराइलाई रोक्न सके र उत्पादनमा जोड दिए कर्णालीको कुपोषण घट्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहबताउँछन् ।

सरकारले सन् २०३० सम्म सबै खाले कुपोषणको अन्त्य गर्र्नेे लक्ष्यसहित दिगो विकासका १७ वटा सूचकहरु अघि सारेको छ । भोकमरीको अन्त्य, पौष्टिक र पर्याप्त खाद्यको पहुँच सुनिश्चित गरी सबै खाले कुपोषणको अन्त्य गर्दै अन्तर्राष्ट्रिय पोषण लक्ष्य हासिल गर्ने राष्ट्रिय नीति भए पनि कर्णाली प्रदेश सरकारले बहुक्षेत्रीय पोषणलाई अतिकम प्राथमिकतामा राखेको छ ।

कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि संघीय सरकारले ९४ प्रतिशत बजेट विनियोजन गर्दा प्रदेश सरकारको कुल ६ प्रतिशत बजेट छुट्याएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि २३ करोड ४७ लाख रुपैयाँ बजेट परिचालन भएको थियो । पोषणका क्षेत्रमा कर्णालीमा प्रवाह भएको कुल बजेटमा प्रदेश सरकारले ४३ लाख बजेट विनियोजन गरेको कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय अधिकृत बुद्धिबहादुर खत्री बताउँछन् ।

बाँकी २२ करोड ७७ लाख बजेट संघीय सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि कर्णालीमा पठाएको हो । यस अलवा कर्णाली प्रदेश सरकारले पोषण क्षेत्रमा सघाउ पुर्‍याउन केही कार्यक्रम भने सञ्चालन गरेको छ । सामाजिक विकास मन्त्रालयले बजेट कार्यान्वयन गर्नेगरी ‘बैंक खाता छोरीको, लगानी जीवनभरिको’, ‘पोषण कोशेली कार्यक्रम’, ‘कुपोषण रोकथाम, उपचार तथा एकीकृत व्यवस्थापन’ लगायतका कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरेको छ ।

कर्णालीमा पाँच वर्षमुनिका ३५ प्रतिशत बढी बालबालिकामा पोषणको कमीले पुड्कोपनको समस्या छ । यसैगरी यहाँका चार प्रतिशत बालबालिकामा ख्याउटेपनको समस्या देखिन्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकअनुसार कर्णालीले पोषणसम्बन्धीका सूचकमा केही सकारात्मक पक्ष देखाए पनि राष्ट्रिय दरको तुलनामा कर्णाली अझै पनि सबैभन्दा पछाडि छ ।

राष्ट्रिय रूपमा हेर्दा, पाँच वर्षमुनिका बालबालिकामा नेपालभर २४.८ प्रतिशतमा पुड्कोपनको समस्या छ । कर्णालीमा भने यो संख्या ३५.८ प्रतिशत छ । दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म यो संख्यालाई १५ प्रतिशतमा पु¥याउनु पर्छ । बागमती प्रदेशमा १७.६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिन्छ । प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेश दिगो विकासको लक्ष्यअनुसार अन्य प्रदेशभन्दा सबैभन्दा नजिक पुगेको छ ।

मधेस प्रदेशमा २९.३ प्रतिशत, गण्डकीमा १९.७ प्रतिशत, लुम्बिनीमा २५.१ र सुदूरपश्चिममा २८.४ प्रतिशत बालबालिका पोषण अभावका कारण पुड्कोपनको सिकार भएका छन् । उमेरअनुसारको हुनुपर्ने न्यूनतम उचाइ नहुनु नै पुड्कोपन हो । यो अवस्थालाई पोषण अभावपछिको दीर्घ कुपोषणको अवस्थाका रूपमा बुझिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार जन्मको समयमा बच्चाको उचाई कम्तीमा ४५ देखि ५० सेन्टिमिटरको हुनुपर्दछ ।

दोस्रो वर्षमा १२.५ सेन्टिमिटर थप भई ७० देखि ७५ सेन्टिमिटरसम्म पुग्नुपर्छ । यसैगरी तेस्रो, चौथो, पाँचौलगायतका वर्षमा ६ देखि सात सेन्टिमिटरका दरले थप हुँदै जानुपर्छ । कुपोषणले व्यक्तिको स्वास्थ्यमा मात्र होइन यसले बौद्धिक विकासमा समेत असर पार्छ । कुपोषण कर्णालीको विकासको बाधक भएकाले यहाँ प्रदेश सरकार तथा स्थानीय तहले पोषणमैत्री शासनमा ध्यान दिनुपर्ने कर्णाली प्रदेश योजना आयोगको भनाइ छ ।

आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले भने, “पोषण क्षेत्र स्वास्थ्यसँग मात्र सम्बन्धित छैन । कृषि, पशुपंक्षी, महिला तथा बालबालिका, स्थानीय शासन, शिक्षा, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रसँग यो जोडिएको छ । यस कारण पनि पोषणमैत्री शासन नै समृद्ध कर्णाली निर्माणका लागि आवश्यक छ ।”

आइतवार, ३१ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा