file photo

सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखेको फल लाग्ने चारवटा विरुवा घरमा ल्याए । सुरुमा लगाएका चारवटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उनमा थिएन । जब ती चारवटा बोटबाट उत्पादन राम्रो हुन थाल्यो तब उनले हाँगा काट्दै नर्सरी गरी बेर्ना उत्पादनमा जोड दिए ।

सुरुमा लगाइएका चारवटा बेर्नाले उनलाई व्यावसायिक बन्नमा महत्वपूर्ण भूमिका खेल्यो । “कस्तो हुनेरैछ भन्ने कौतुहलता जागेर बेर्ना लिएर आएँ, बेर्ना सारेको केही वर्षपछि फल दिन सुरु भयो”, उनले भने, “फल लाग्न थालेपछि छुट्टै ऊर्जा मिल्यो र त्यहीँबाट बेर्ना उत्पादन गर्दै व्यावसायिकरुपमा ड्रागन खेतीको विस्तार गरेँ ।”

दिउँसोको समयमा संस्थागत विद्यालयमा अध्यापनरत उनले विशेष गरी बिहान, साँझ वा बिदाका दिनमा ड्रागन खेतीको विस्तारमा ध्यान दिए । “अन्नबाली उब्जाउ हुँदै आएको जमिनमा सुरुका दिनमा धान, गहुँ, मकैलगायतका खाद्यान्न बाली नलगाई ड्रागन लगाउन चुनौती थियो”, उनले भने, “जब राम्रो हुँदै गयो तब ड्रागन खेती पनि विस्तार हुँदै गयो ।”

पन्ध्र वर्षअघि घरमा परीक्षण गर्न ल्याइएको बेर्नाबाट उत्पादन राम्रो हुँदै गएपछि बर्सेनि आफैँले बेर्ना उत्पादन गर्दै लगाउँदै गएको उनी बताउँछन् । सुन्तला उत्पादन हुन्छ कि भन्ने लागेर केही वर्ष सुन्तलाका बोट लगाइएको थियो । सुन्तलाका बोट मरेपछि माटो परीक्षण गर्दा ड्रागन उपयुक्त हुन्छ भन्ने कृषि विज्ञसँगको परामर्शपछि ड्रागन खेती थालिएको उनले बताए ।

“परीक्षणका लागि ल्याइएको चारवटा बेर्नाले व्यवसायी बनाउँछ भन्ने लागेको थिएन”, उनले भने, “धान, मकै, गहुँजस्ता खाद्यान्न बालीबाट भन्दा यसबाट आम्दानी धेरै हुने गरेकाले यसतर्फ आकर्षित भएको हुँ ।” चार रोपनी क्षेत्रफलमा ड्रागन खेती गरेर व्यावसायिक उत्पादन थालेका रानाले गत वर्ष रु ६० हजार आम्दानी गरेका थिए ।

गत वर्ष आफन्त, घरमा आएका पाहुनालगायत छर छिमेकमा बाँडेर रहेको बिक्री गर्दा उक्त आम्दानी भएको उनी बताउँछन् । आफैँले उत्पादन गरेका बेर्ना बर्सेनि थप गर्दै जाँदा अहिले उनीसँग १३ रोपनी क्षेत्रफलमा पाँच हजार बेर्ना रहेका छन् । आगामी वर्षमा पनि करिब दुई हजार पाँच सय बिरुवाले उत्पादन दिने उनको अनुमान छ । त्यसबाट राम्रै आम्दानी हुने अपेक्षा छ ।

करिब दुई वर्षपछि सबै बोटले फल दिन थाल्ने भएकाले उत्पादन तीन दोब्बरले वृद्धि हुने उनको अपेक्षा छ । “सबै बोटले फल दिँदा एक सिजनमा रु १२ देखि १५ लाख आम्दानी हुन्छ”, उनले भने, “अहिले प्रतिकेजी रु छ सयका दरले बिक्री हुँदै आएको छ ।” यहाँ उत्पादन भएको ड्रागन स्थानीय बजार तथा पोखराका बजारमा सहजरुपमा बिक्री भइरहेको छ ।

अहिले उत्पादनभन्दा बजारमा यसको माग धेरै रहेकाले मागअनुसार पुर्याउन नसकिएको उनले बताए । उनले ड्रागन खेतीसँगै मिश्रित बालीको रुपमा अकबरे खुर्सानी, कुरिलो, बन्दा, बदाम, गाँजरलगायत तरकारी बाली लगाएका छन् ।

उत्पादन राम्रो हुनुका साथै बजारमा माग बढ्दै गएकाले क्षेत्र विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ थियो । “परम्परागतरुपमा गरिँदै आएको खेती प्रणालीबाट फाइदा हुन्छजस्तो मलाई नलागेकाले धान, मकै, गहुँको साटो व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ”, उनले भने ।

शनिबार, ३० बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !