file photo

घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी छन्। आइतबार हलुवा, सोमबार चना, मङ्गलबार खीर, बुधबार चिउरा/पुलाउ, बिहीबार खिचडी/चिउरा शुक्रबार अण्डा खाने गरी विद्यालयले तालिका बनाएको छ । सोहीअनुसार दिवा खाजा खान पाउँदा उनी दङ्ग छन्।

सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत सम्झना नेपालीलाई खीर खाने दिनको तालिका आउँदा अरु दिनमा भन्दा अझ बढी खुसी लाग्छ । साथीहरुसँगै बसेर दिवा खाजा खान पाउँदा निकै खुसी हुन्छिन्। उनलाई खीर निकै मन पर्छ । “दिदी आज के नास्ता पाक्दै छ, आज हामीले के खाने हो? भन्दै बिहानैदेखि साना नानीबाबुहरु सोध्न आउछन्”, दिवा खाजा पकाउँदै आएकी सुन्तली चौधरीले भनिन्, “कतिपय बालबालिका दिउँसो नास्ता खान पाउने भएपछि पढ्न आउने गरेका छन् ।”

गाउँबाट विद्यालय आउने कतिपय बालबालिकाको घरको अवस्था नाजुक छ । जसका कारण दिवा खाजाको भरमा भोक मेट्नुपर्ने बाध्यता रहेको छ । दिवा खाजा कार्यक्रम लागू भएपछि धेरै बालबालिकाको विद्यालयमा नियमित उपस्थिति हुने गरेको विद्यालयको दाबी छ । कार्यक्रममले अभिभावकमा आर्थिक भार कम परेको छ भने विद्यार्थी नियमित विद्यालयमा उपस्थित हुने गरेका छन् ।

सो विद्यालयमा मन्टेश्वरी, अङ्ग्रेजी माध्यमको १ देखि ६ सम्मका तथा नेपाली माध्यमका १ देखि ६ कक्षासम्मका सातसय १५ बढी बालबालिकालाई दिवा खाजा खुवाउने गरिएको छ । कार्यक्रमले शैक्षिक गुणस्तर कायम गर्न निकै सघाउन पुगेको विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले बताए। “हामीले साना नानीबाबुलाई हात धुन, खाना खान, सरसफाइमा ध्यान दिने कुराको बारेमा सिकाएका छौँ ।”

सामुदायिक विद्यालयमा कार्यक्रम थप व्यवस्थित बनाउन भन्दै घोराही उपमहानगरपालिकाले शैक्षिक सत्रको सुरुआतबाटै कार्यक्रमको अनुगमन थालेको छ । उपमहानगर शिक्षा विकास समितिले विद्यमान अवस्थाको पहिचान गरी समस्या देखा परेको अवस्थामा सुधार गर्न अनुगमन सुरु गरेको हो ।

कतिपय सामुदायिक विद्यालयमा भर्ना भएका तर नियमित उपस्थित नहुने विद्यार्थीको नाममा पनि खाजा खुवाएको भन्नेलगायत विषयमा गुनासो आएको भन्दै पालिकाले स्थलगत अनुगमन गरेको शिक्षा समिति संयोजक तथा घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।

सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले कार्यक्रम बालबालिकाका लागि निकै प्रभावकारी र उपयोगी पाइएको बताए। खाजा खाँदा बालबालिकाले व्यावहारिक ज्ञान आर्जन गर्नुका साथै जीवन उपयोगी सीप पनि सिक्ने अवसर पाएको बताए।

कार्यक्रम थप व्यवस्थित र नियमित तालिकाअनुसार बालबालिकालाई विद्यालयले खाजा उपलब्ध गराए नगराएको बारेमा अनुगमनपश्चात् प्रतिवेदन तयार पारेर काम गर्ने उपमहानगर शिक्षा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलको भनाइ छ ।

घोराहीमा ९३ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू छ । घोराहीमा करिब १५ हजार बराबर विद्यार्थी छन् । वार्षिक एक सय ८० दिनको दिवा खाजा खुवाउने गरी कार्य तालिका बनाएर कार्यक्रम लागू गरिएको छ । गत आवमा करिब रु तीन करोड बराबरको दिवा खाजा कार्यक्रमका लागि बजेट आएको सामाजिक विकास महाशाखाका प्रमुख पौडेलले जानकारी दिए।

कार्यक्रमले विद्यार्थीको पढाइमा गुणस्तर वृद्धि भएको पालिका उपमेयर हुमा डिसीले बताइन्। “खाजा कार्यक्रम सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी नियमित भएका छन्, पहिलेको तुलनामा अहिले बजारका जङ्कफुड भित्रिएका छैनन्, खानपानमा प्रभावकारीता पर्दै आएको छ”, उनले भनिन्, “यो कार्यक्रम बालबालिकाको पोषण सुरक्षासँगै शैक्षिक लक्ष्य हासिल गर्ने माध्यम पनि हो ।”

यो आवका लागि पहिलो चौमासिकअन्तर्गत ५५, दोश्रो चौमासिकअन्तर्गत ८५ दिनको दिवा खाजा कार्यक्रमको रकम निकासा भईसकेको छ । अब असार मसान्तसम्मको एक सय ८० दिनको लक्ष्य भेट्ने गरी ४० दिन नियमितरुपमा दिवा खाजा खुवाउने कार्यक्रम छ ।

पालिकामा धार्मिक स्कुलका रुपमा रहेको वैदिक गुरुकुलका लागि अलग्गै अनुदान जाने हुँदा त्यहाँ दिवा खाजा कार्यक्रम लागू भएको छैन । स्थलगत रुपमा गरिएको अनुगमनबाट तयार पारिएको प्रतिवेदनका आधारमा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै विद्यार्थी सङ्ख्यालाई मध्यनजर गर्दै वृद्धि गर्न थप जोड दिइने पालिकाको योजना रहेको जनाएको छ ।

शनिबार, ३० बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !