समुद्री सतहबाट ७ हजार १३२ मिटर उचाइमा रहेको दार्चुला जिल्लामा अवस्थित अपि हिमाल वेस क्याम्प भ्रमण सप्ताह सम्पन्न भएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अपि हिमाल गाउँपालिकाले अपि हिमाल बेस क्याम्प भ्रमण सप्ताह आयोजना गरेको थियो । यही वैशाख १४ गतेदेखि २२ गतेसम्म आयोजना गरिएको भ्रमण सप्ताहमा देशभरि बाट १ सय ७५ जना आन्तरिक पर्यटकहरूले भ्रमण गरेका छन् ।

गाउँपालिकाको विभिन्न ठाउँमा रहेका होम स्टेहरुको प्रचार प्रसार गर्न र स्थानीय कला संस्कृतिको जर्गेनाका लागि भ्रमण सप्ताह आयोजना गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।

गाउँपालिकाले भ्रमणका सहभागीहरूलाई छलिया बाजा, नृत्य, डेउडा खेल लगायतका लोक संस्कृतिहरू देखाएर स्वागत गरेको थियो । नौपाटा र सिति गाउँमा रहेका दर्जनौँ होम स्टेहरुमा यात्रुहरूलाई खाना र बास बस्ने व्यवस्था गरिएको थियो । होम स्टेहरुमा पर्यटकले खान रुचाएका सबै स्थानीय खानामा परिकार खुवाउने व्यवस्था गरिएको थियो ।

भ्रमण सप्ताह ३ चरणमा आयोजना गरिएको हो । १४ गते नौपाटा पुग्ने व्यक्तिहरूलाई १८ गते बिदा गरिएकोमा १६ गतेदेखि दोस्रो भ्रमण सुरु गरिएको थियो । यसैगरी १८ गतेदेखि २२ गतेसम्म तेस्रो चरणको भ्रमण गरिएको हो । भ्रमणका सहभागीहरूको खान र बासको खर्च गाउँपालिकाले नै व्यवस्थापन गरेको थियो ।

गाउँपालिकाले निःशुल्क खान बस्नको व्यवस्थासहित गरिएको भ्रमणले पर्यटन विकासमा सहयोग गरेको बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए ।

उनले भने, “हामी छिमेकी गाउँपालिकाको नेतृत्व गरिरहेका छौँ । केही काम मिलेर गर्नुपर्ने भावना जागृत भएको छ । चौलानी नदीको मुहानमा पुग्यौँ, पर्यटकीय आकर्षणका रूपमा रहेका धार्मिक सांस्कृतिक गन्तव्यहरूको अध्ययन अवलोकन गर्‍यौँ, रमाइलो समेत भयो र हामीले सुरु गरेको चमेलिया नदी सभ्यता विकास अभियान छ, यसलाई सफल पार्न यो भ्रमण उपलब्धिमूलक भयो ।” आफूहरूले २०७४ सालमा सुरु गरेको चौलानी नदी सभ्यता विकास अभियानमा नदीको मुहानदेखि चिहानहरूसम्म सरसफाइ गर्ने योजना रहेको बताए ।

भ्रमणमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीसहित राजनीतिकर्मी, पेसाकर्मी, पत्रकार, कलाकार, विद्यार्थी लगायत सबै क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए । आन्तरिक पर्यटकहरूले अपि हिमालको बेस क्याम्प, करिब १ दर्जन जल विद्युत् आयोजना निर्माण गरिएको चमेलिया नदी मुहान, ५ हजार मिटर उचाइमा रहेको हिमताल आदी ठाउँहरूको भ्रमण गरेका छन् ।

यसैगरी, भ्रमणका सहभागीले यार्सागुम्बा सङ्कलन गरिने पाटनहरू, अपिनाम्पा संरक्षण क्षेत्रले निर्माण गरेका पदमार्ग तथा काठका सुन्दर घरहरू, भेडा च्याङ्ग्रा पाल्ने जङ्गलहरू आदि देख्न पाएका छन् ।

यस्तै, हिमाली क्षेत्रमा पाइने खानाका परिकारहरूले यात्रुहरूको मनै लोभ्याएको नेपाल पर्वतारोहण संघ प्रदेश सचिव अमर भट्टराईले बताउनुभयो । पर्वतीय पर्यटकहरूको असल गन्तव्यका रूपमा रहेको अपि हिमाल बेस क्याम्पस भ्रमण फलदायी हुने उनको भनाई छ ।

एक पटक गाउँपालिकाको लगानीमा भ्रमण आयोजना गरिएकाले अर्को पटक पर्यटकहरू आफ्नै खर्चमा घुम्न आउने र सो क्षेत्रका होम स्टेहरुको विकास हुने गाउँपालिकाको विश्वास छ । यसअघि, गाउँपालिकाले होम स्टे सञ्चालन गर्न खोज्ने स्थानीयबासीहरुलाई ७ दिने तालिम दिएको थियो । स्थानीयबासीलाई पर्यटकसँग गर्नुपर्ने व्यवहार, खानाका परिकार निर्माण, कला संस्कृति प्रदर्शनका विषयमा तालिम दिइएको थियो ।

भ्रमणबाट फर्केका कञ्चनपुरका सुरेश कुमार चौधरीले भने, “यो ठाउँ धार्मिक र सांस्कृतिक रूपले उत्कृष्ट लागेकाले पारिवारिक भ्रमण गर्न आउनेछु ।” भ्रमणका क्रममा स्थानीयवासीले तयार गरेको फापरको रोटी, सिस्नुको राइतो, मकैको ढिँडो, च्याउको परीकार आदी खान पाएको कैलालीका तिकल भट्टले बताए । उनले घाग्रो, चोलीसहित पुराना पहिरन र पुराना गहनासहितका महिलाहरूले देखाएको सगुन, फाग, डेउडा बर्षौपछि देख्न पाइएको बताए ।

पर्यटनको विकासका लागि भ्रमण सप्ताह आयोजना गरि करिब दुई सय व्यक्तिहरूलाई अपि हिमालमा पुर्‍याउन सक्नु उपलब्धिमूलक रहेको गाउँपालिकाले जनाएको छ ।

आइतवार, २४ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे