Trending
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताएका छन्।
आइतवार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताए। उनले महिला हिंसासम्बन्धी विगतका घटनाको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने बताए।
अनुसन्धान गरी दोषी र अपराधीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारे। मन्त्री श्रेष्ठले हालसम्म प्राप्त उपलब्धि रक्षा गर्दै महिलाहरूलाई अझ अधिकारसम्पन्न बनाउन सरकारले प्रयत्न गर्ने पनि बताए। उनले भने‚ ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, नेपालमा महिलामाथि हुने हिंसा अन्त्य गर्न र हिंसामा संलग्न पीडकहरूलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी राख्नेछैन। विगतका हिंसाका घटनालाई पनि त्यत्तिकै छोडिनेछैन।’
मन्त्री श्रेष्ठले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघन र महिला हिंसाका घटनाको समस्या समाधान गर्न आवश्यक नीति, निर्णय र कार्ययोजना बनाउन सरकार गम्भीर रहेको बताए। उनले भने‚ ‘सशस्त्र द्वन्द्व या संक्रमणकालमा विभिन्न प्रकारको मानवअधिकार उल्लंघनका घटना, महिला हिंसा र उत्पीडनका घटना पनि भएका छन्। त्यसैले हामीले यसलाई समाधान गर्न राष्ट्रिय कार्ययोजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने दिशातिर अघि बढिरहेका छौँ। त्यसमा हामी गम्भीर छौँ।’
उनले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालका घटनाको समस्या समाधान हुने भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए।